Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछेन्दुमा सहसचिवस्तरको दरबन्दी पठाइने

छेन्दुमा सहसचिवस्तरको दरबन्दी पठाइने


काठमाडौं ।
मन्त्रिपरिषद्ले चीनस्थित नेपाली महावाणिज्यदूतावास छेन्दुमा सहसचिवस्तरको दरबन्दी पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउदी अरबको जेद्दामा रहेका राजपत्राङ्कित प्रथम श्रेणी (प्रशासन समूह) सहसचिवस्तरको दरबन्दी चीनस्थित नेपाली महावाणिज्यदूतावास छेन्दुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । यसका साथै बैठकले अवैतनिक वाणिज्यदूतको कार्यकाल थप, सबै तहको परीक्षा, अस्थायी कर्मचारी पदपूर्तिलगायतको निर्णय
गरेको छ ।

गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला दुई देशबीच चीनको सिचुवान प्रान्तको छेन्दुमा नेपाली महावाणिज्यदूतावास खोल्ने सहमति भएको थियो भने सोहीअनुरुप सरकारले जेद्दामा रहेको सहसचिवस्तरको दरबन्दीलाई छेन्दु पठाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री प्रदीप कुमार ज्ञवालीले बैठकले सबै तहको परीक्षा सञ्चालन, इरान, मलेसिया, इन्डोनेसिया, इजरायल, अमेरिकालगायतका १३ वटा मुलुकमा रहेका अवैतनिक वाणिज्यदूतहरुको कार्यकाल थप तथा पदोन्नति गर्ने समेत निर्णय गरेको जानकारी दिए ।

सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवम् सुरक्षासम्बन्धी मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालन गर्न समेत बैठकले अनुमति दिएको छ । बैठकले जनस्वास्थ्य एवम् सुरक्षासम्बन्धी मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी लामो समयदेखि रोकिएको सबै तहको परीक्षा सञ्चालन गर्ने समेत निर्णय गरेको बताइएको छ ।

योसँगै सरकारले सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवम् सुरक्षासम्बन्धी मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड , परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने भएको छ ।

त्यसैगरी अवैतनिक वाणिज्यदूतसम्बन्धी (पाँचौँ संशोधन) नियमावली २०३९ मा भएको व्यवस्थाबमोजिम इरानको तेहरानमा कार्यरत अवैतनिक महावाणिज्यदूत शाहरम शान्तियाइ, मलेसियाको सेलंगार सहरमा कार्यरत अवैतनिक वाणिज्यदूत तेयो स्वी लेङ, इन्डोनेसियाको जाकार्तामा कार्यरत अवैतनिक वाणिज्यदूत बल्ली सपुत्र जनो सती, इजरायलको हाइफा सहरमा कार्यरत अवैतनिक वाणिज्यदूत निमरड बर्गर, इजरायलको बीरसेभा सहरमा कार्यरत अवैतनिक वाणिज्यदूत इयान नीर, अमेरिकाको इलिनोइस सहरमा अवैतनिक महावाणिज्यदूत पदमा कार्यरत मरभिन ए ब्रस्टिनलगायत सम्पूर्णको पदावधि आगामी चार वर्षको लागि थप गर्ने निर्णय गरेको हो ।

त्यसैगरी अमेरिकाको मेरिल्याण्ड सहरमा अवैतनिक महावाणिज्यदूत पदमा कार्यरत प्रेमराजा महत, अमेरिकाको हवाईमा अवैतनिक वाणिज्यदूत पदमा कार्यरत मेरी सी. क्यारोल, अमेरिकाको ओहियो सहरमा अवैतनिक महावाणिज्यदूत पदमा कार्यरत डा. विलियन सी. क्यासेल, अमेरिकाको सियाटल सहरमा अवैतनिक वाणिज्यदूत पदमा कार्यरत ए.सी. शेर्पा, लेबनानको बेरूत सहरमा अवैतनिक वाणिज्यदूत पदमा कार्यरत एल शेख, बेल्जियमको फ्ल्याण्डर्स क्षेत्रमा इन्ग्रिड सेस्टर्स–ल्यूटेनसहित ग्रिसको एथेन्स सहरमा अवैतनिक वाणिज्यदूत पदमा कार्यरत इम्मानोइल काराभेलाकिसलगायत सम्पूर्णको पदावधि आगामी चार वर्षको लागि थप गर्ने निर्णय गरेको छ ।

यसका साथै काराभेलाकिसलाई हाल कार्यरत अवैतनिक वाणिज्यदूतको पदबाट अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गर्ने तथा मोहमद बासम गोजायलले प्रशंसनीय कार्य गर्दै आइरहेकाले निजलाई अवैतनिक सहावाणिज्यद्रत पदोन्नति गर्ने भएको छ ।

यस्तै बैठकले २०७७ वैशाख १४ गतेको निर्णयबाट स्थगन भएको राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तिसम्बन्धी प्रक्रियालाई सुचारु गर्न स्वीकृति दिने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७७/०७८ मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, काठमाडौंका लागि सात जना र डिजाष्टर रिकभरी केन्द्र, हेटौंडाका लागि नौ जनासहित अधिकृतस्तरका जम्मा १६ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, विज्ञापन बोर्डको आव ०७७/०७८ को लागि अधिकृतस्तरका जम्मा पाँच जना कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७५ संशोधन गर्ने, शिक्षक सेवा आयोगको अध्यक्ष र एक जना महिलासहित अन्य दुई जना सदस्यहरुको नियुक्तिको लागि सिफारिस गर्न लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव सदस्यमा रहेको एक सिफारिस समिति गठन गर्ने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत नेपाल कृषि सेवा, कृषि प्रसार समूहका सहसचिव (प्राविधिक) डा.योगेन्द्र कुमार कार्कीलाई तोक्ने र कार्यकारी निर्देशक पदमा नेपाल कृषि सेवा, एगृ.इको.एढड मार्केटिङ समूहका वरिष्ठ कृषि अर्थविज्ञ (राजपत्रांकित द्वितीय श्रेणी) (प्राविधिक) विनोद कुमार भट्टराईलाई नियुक्ति दिने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया