Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगलौहपुरुष गणेशमान सिंहको योगदान र वर्तमान अवस्था

लौहपुरुष गणेशमान सिंहको योगदान र वर्तमान अवस्था


न्हुँछेनारायण श्रेष्ठ
नेपालको इतिहासमा विसं २०४६ चैत्र २६ गतेको दिनलाई अर्थपूर्ण र महत्वका साथ ऐतिहासिकरूपमा लिने गरिएको छ । नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्र स्थापना भएको दिनको सम्झना र ऐतिहासिक जनआन्दोलन–२ को सूत्रपात भएको शुभदिनको रूपमा चैत्र २६ गतेलाई लिइने गरिन्छ । आम नागरिकहरूले स्वतन्त्रता प्राप्त गरेको र निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य भएको दिनलाई वर्षेनी जनआन्दोलन दिवसको रूपमा मनाइँदै आइरहेको छ ।

विक्रम सम्बत् २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर कोइरालालाई अपधस्त गरी पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए । नेपालमा १०४ वर्ष राणा शासन अन्त्य गरी स्थापना भएको प्रजातन्त्रलाई समेत राजा महेन्द्रले अन्त्य गर्दै निरङ्कुश पञ्चायती व्यवस्था ल्याएका थिए । तर त्यो व्यवस्था पनि नेपालमा धेरै वर्षसम्म टिक्न सकेन र विसं २०४६ चैतपछि समाप्त नै भयो ।

त्यस्तैगरी विसं २०४५ सालमा सन् १९५० को व्यापार तथा पारवहन सन्धि नवीकरण नभएको विषयमा नेपालको दुईवटाबाहेक अन्यत्रका सबै नाका बन्द गरिदिएका कारण मुलुकमा खाद्यान्न, पेट्रोलियम पदार्थको अभाव भयो । नेपाली कांगे्रस र संयुक्त वाममोर्चाले सो विषयकोे खुलेरै विरोध गरे । नेपाली कांग्रेसले २०४६ माघ ५, ६ र ७ गते काठमाडौंको क्षेत्रपाटीमा गणेशमान सिंहको घरमा नेपाली कांगे्रसको सम्मेलनमार्फत जनआन्दोलनको घोषणा गरियो ।

विसं २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्वको जिम्मा सर्वोच्च कमान्डरको रूपमा गणेशमान सिंहलाई नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको तर्फबाट साथ दिएको थियो । नेपाली कांगे्रसले भारतका पूर्वप्रधानमन्त्री चन्द्रसेखरको उपस्थितिमा नेपाली कांगे्रसको अधिवेशन गणेशमान सिंहकै घरमा सम्पन्न ग¥यो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको तर्फबाट नैतिक समर्थन प्राप्त भयो । विस्तारै विस्तारै आन्दोलनले विकराल रूप लिँदै गयो ।

आन्दोलनकै क्रममा गणेशमान सिंहलाई घरमै नजरबन्द गरियो भने वाममोर्चाका नेताहरूलाई समेत धरपकडको कार्य सरकारले ग¥यो । विसं २०४६ फागुन ७ गतेदेखि शान्तिपूर्ण जनआन्दोलनको सुरु गरियो र काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा संयुक्त वाममोर्चा र नेपाली कांग्रेसले संयुक्तरूपमा पञ्चायती व्यवस्थाको विरोध गर्दै आन्दोलनको सुरुवात गरेको थियो । आन्दोलनले विस्तारै विस्तारै देशैभर सफलता प्राप्त गर्दै गएका कारण तत्कालीन सरकारले नेपाली कांगे्रस र वाममोर्चाका नेता कार्यकर्ताहरूमाथि धरपकड, दमन गर्न थाल्यो र कफ्र्युको समेत घोषणा गरियो तर जनताहरू सरकारको धरपकड, कफ्र्युको कुनै मतलब नराखी स्वस्फूर्तरूपमा सडकमा ओर्लीएका थिए ।

विसं २०४६ चैत्र २४ गते मरिचमान सिंहको मन्त्रीमण्डल बिघटन गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए तर पनि जनतामा कुनै उत्साह देखिएन, आन्दोलनले झन्झन् उग्ररूप लिँदै गयो अन्त्यमा राजाको पछिल्लो कदमले पनि काम नगरेपछि चैत्र २६ गते राती राजा वीरेन्द्र वीरविक्रम शाहले संविधानबाट निर्दलीय शब्द हटाएर जनतालाई शान्त रहन आग्रह सार्वजनिक सञ्चार माध्यमबाट सम्बोधन गरे र भोलिपल्ट आन्दोलनकारीका तर्फबाट चार जना प्रतिनिधिलाई भेटेर संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था र मौलिक हकाधिकारको प्रत्याभूतिमा सहमति जनाउँदै आन्दोलन स्थगित गरियो । जनआन्दोलनले सफलता पाएको दिन देशैभरि विजयोत्सव निकालियो र एकआपसमा खुशीयाली साटासाट गरियो ।

जनआन्दोलनको सफलतापछि अन्तरिम सरकारको प्रधानमन्त्री पदमा गणेशमान सिंहलाई प्रस्ताव गरिए पनि उनले त्यो पद लिन मानेनन् । चैत्र २७ गते टुँडिखेलमा भएको विशाल आमसभामा नेपाली कांग्रेसका गणेशमान सिंह, वाममोर्चाका मनमोहन अधिकारीलगायतका नेताहरूले ऐतिहासिक सम्बोधन गरेका थिए । सोही समारोहमा गणेशमान सिंहलाई फादर अफ डेमोक्रेसीको रूपमा सम्मान गरिएको थियो । विसं २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था अन्त्यका लागि नेपाली कांग्रेस र वाममोर्चाको अतुलनीय भूमिका निर्वाह गरेको कुरा इतिहासमा साक्षी रहेको छ ।

नेपाली इतिहासमा काँचुली फेरिएको दिन चैत्र २६ गतेको दिनलाई नेपाली इतिहासमा महत्वपूर्ण दिनको रूपमा लिइए पनि हालका पछिल्ला दिनहरूमा जनआन्दोलन दिवसको उक्त दिनलाई राजनीतिक दल र तीनका नेता कार्यकर्ताहरूले सजिलै भुल्दै गइरहेको र वीर योद्धाहरूलाई क्रमशः ओझेलमा पार्दै गइरहेको अनुमान गर्न सकिन्छ ।

जनआन्दोलनका नायक सर्वोच्च नेता एवं जनआन्दोलनका कमाण्डर गणेशमान सिंहलाई नेपाली कांग्रेसले पछिल्लो समय त्यति स्थान दिएको देखिँदैन । अहिले नेपाली कांगे्रस गुट, उपगुटको राजनीति गर्नमै अभ्यस्त भएको देखिन्छ । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको मूल मन्त्र लिएर हिँडेको नेपाली कांग्रेसलाई संस्थागत विकास गर्दै एक ढिक्का गर्ने महत्वपूर्ण कार्यका अलावा पञ्चायती निर्दलीय व्यवस्था अन्त्य गराउनका लागि कमाण्डरको जिम्मा लिने युगपुरुषको सम्मानमा कञ्जुस्याइँ गर्नु नेपाली कांगे्रसको गम्भीर भुल समेत रहेको छ ।

नेपाली कांग्रेसका पूर्वनेताहरू सुवर्ण सम्शेर, वीपी कोइराला, गणेमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई एमालेका पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीलगायतका नेताहरू देशका गहना हुन् । उनीहरूकै त्याग र वीर सहिदहरूको बलिदानीबाट हामीले गणतन्त्र पाएका छौँ । देश संघीयतामा कार्यान्वयनमा आएको छ । धर्मनिरपेक्ष राष्ट्र भएको छ । वहाँहरूकै योगदानका कारण नयाँ संविधान २०७२ पाएका छौँ । जनआन्दोलनकै प्रतिफलस्वरूप हामी स्वतन्त्र देश नेपालको सार्वभौम नागरिक हुन पाएका छौँ । ‘खोलो त–यो लौरो बिस्यो’ भन्ने उखानझैं हामीले हाम्रा गहनाहरूलाई भुल्ने दुस्साहस गर्नु मुर्खता सिवाय अरु केही हुनसक्दैन ।

वृद्धभत्ता वितरणको सुरुवात गरेर मेरो जीवन राष्ट्रलाई भन्ने मनमोहन अधिकारी र १२ बुँदे सहमतिपत्रमा तत्कालीन माओवादीलाई शान्ति सम्झौतामा हस्ताक्षर गर्न सफल गिरिजाप्रसाद कोइरालालाई हामीले कदापि विर्षन सक्दैनौँ । राष्ट्रकै गहनाका रूपमा रहेका युग परिवर्तनकारी नेताहरू सबैको हामीले समयमै सम्मान गर्न जानेनौँ भने इतिहासले हामीलाई श्राप नदेला भन्न सकिँदैन । राजनीतिक दलहरूको कार्यालयहरू र उनीहरूले गर्ने विभिन्न सभा, सम्मेलन र कार्यक्रममा माल्यार्पणमा मात्रै ती नेताहरूलाई कैद गरेर राख्नु उहाँहरूप्रतिको अपमान नै हो ।

राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रहरूबाट जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौहपुरुष, वरिष्ठ प्रजातन्त्रवादी नेता गणेशमान सिंहलाई नेपाल तथा विश्वमै मानवअधिकार र शान्ति स्थापनाका निम्ति महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेबापत अमेरिकाबाट पिसरन पुरस्कार, मानवअधिकार पुरस्कार १९९३ र ऊ थान्त शान्ति पुरस्कारबाट समेत सम्मानित गरिएको थियो ।

विसं १९७२ मा काठमाडौंमा जन्मेका वरिष्ठ राजनीतिज्ञ, जनआन्दोलन २०४६ का कमाण्डर गणेशमान सिंह प्रजापरिषद्को सदस्य भई राणाशासन अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिकामा थिए । उनले जेल, नेलसमेत भोगेका थिए । विसं २००३ सालमा स्थापना भएको नेपाली कांग्रेसका होनाहार नेता प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि लडाइँ लगेका सिंहको नेतृत्वमा भएको जनआन्दोलन विसं २०४६ ले सफलता प्राप्तपश्चात् नेपाली कांग्रेसलाई शिखरको चुचुरोमा पु-याउन सफल भए पनि आफ्नै पार्टीप्रति असन्तुष्टि जनाउँदै संसारबाट सदाका लागि विसं २०५४ असोज २ गते बिदा भएका थिए ।

सन् १९९७ सालदेखि अनवरतरूपमा राजनीतिमा सक्रियरूपमा लागेका नेता सिंहको कडा स्वभाव र जुझारु व्यक्तित्वका कारण नेवार भए पनि दृढ, कठोर र भनेको कुरा पु-याएरै छाड्ने भएकै कारण उनलाई सर्वमान्य नेताको रूपमा २०४६ सालमा मोर्चाको जिम्मेवारी दिइएको थियो । देश अहिले गणतन्त्रमा प्रवेश गरिसकेको छ ।देशकै लागि जीवन बिताउने नेताहरूलाई हामीले सधैँ सम्झनुपर्दछ । जनआन्दोलन दिवसका कमाण्डर गणेशमान सिंहलगायतका नेताहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय गराउँदै भाबी पुस्तासम्म जीवन्त राख्नु हामी सबैको साझा कर्तव्य पनि हो ।

चाहे जुनसुकै राजनीतिक दलका नेता किन नहुन् राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको लागि लड्नुहुने वीर सिपाहीलाई हामी सबैले सम्मान गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । विद्यमान अवस्थामा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता राजनितिक दलहरूले गर्नुपर्दछ । राजनीतिक दलहरू आफैँ रोगी बन्ने परम्परा र तेरो र मेरो भन्ने भावना हटाउनसक्नु पर्दछ । राजनीतिक दलहरू विशेषतः नेपाली कांग्रेस र नेकपाले युवा पुस्तालाई आगामी महाधिवेशनमा अवसर र नेतृत्व सुम्पन सक्नुपर्दछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया