Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमहामारीमा पनि अर्बपतिको सम्पत्ति आर्जनमा कीर्तिमान

महामारीमा पनि अर्बपतिको सम्पत्ति आर्जनमा कीर्तिमान


लन्डन ।
विश्वलाई महामारीले आक्रान्त पारिरहँदा प्रविधि र उद्योग क्षेत्रका धनाढ्यको सम्पत्ति कीर्तिमानी रुपमा बढेको छ । बीबीसीका अनुसार प्रविधि क्षेत्रका उच्च कार्यकारी पदमा रहेका अर्बपतिहरुको सम्पत्ति उच्च दरमा बढेको हो । विश्वकै सर्वाधिक धनी तथा अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति २७.५ प्रतिशतले बढेर १०२ खर्ब अमेरिकी डलर पुगेको छ । अप्रिलदेखि जुलाईसम्मको अवधिमा उक्त दरमा सम्पत्ति बढेको स्विस बैंक यूबीएसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसअघि बेजोसको सम्पत्ति सन् २०१७ को अन्त्यतिर ८९ खर्ब अमेरिकी डलर थियो । आफ्ना कम्पनीको सेयर मूल्य बढेपछि अर्बपतिहरुको सम्पत्ति वृद्धिदर पनि बढेको हो ।

उक्त क्षेत्रका अर्बपतिहरुलाई महामारीले समेत असर नगरेको यूबीएसले जनाएको छ । बैंकका अनुसार महामारीकै बेला अर्बपतिको संख्या समेत बढेको छ । सन् २०१७ मा विश्वमा २ हजार १ सय ५८ अर्बपति रहेकोमा २ हजार १ सय ८९ पुगेको छ । यो वर्ष बढी धन आर्जन गर्नेमा उद्योगीहरु अग्रपंक्तिमा छन् । उनीहरुको सम्पत्ति जुलाईसम्मको त्रैमासिकमा ४४ प्रतिशतले बढेको छ । ‘आर्थिक पुनरुत्थानसँगै बजार मूल्यवृद्धिका कारण उद्योगीहरुलाई फाइदा भएको छ’, बैंकले भनेको छ । महामारीकै दौडान प्रविधि क्षेत्रका अर्बपतिहरु पनि मालामाल भएका छन् ।

उनीहरुको पनि ४१ प्रतिशतले सम्पत्ति बढेको छ । कोरोनाका कारण यो क्षेत्रका सामान र सेवाको माग ह्वात्तै बढ्दा उनीहरुलाई फाइदा पुगेको हो । त्यस्तै स्वास्थ्य क्षेत्रका अर्बपतिलाई पनि कोरोना महामारी धन कमाउने अवसर सिद्ध भएको छ । खासगरी औषधि उत्पादनतर्फ र मेडिकल डिभाइस उत्पादनतर्फका अर्बपतिको सम्पत्ति बढेको छ । यही कारण मार्चयता विश्व सेयरबजार बलियो स्थितिमा रहेको बैंकको अनुमान छ । अमेजनका मालिक जेफ र टेस्लाका मालिक एलन मस्क दुवै अर्बपतिको सम्पत्तिले नयाँ कीर्तिमान कायम गरेको हो । यसको कारण भने उनीहरुको कम्पनीको सेयर मूल्य बढ्नु भएको बताइएको छ ।

विगत ११ वर्षयता चीनका अर्बपतिहरुले पनि उल्लेख्य रुपमा सम्पत्ति थपेका छन् । उनीहरुले सन् २००९ देखि २०२० सम्म ११४६ प्रतिशतले सम्पत्ति बढाएका छन् । तुलनात्मक रुपमा सोही अवधिमा बेलायती अर्बपतिको सम्पत्ति १६८ प्रतिशतले वृद्धि भएको छ । तर कुल सम्पत्तिको हिसाबकिताब भने अमेरिकामै बढी छ । अमेरिकी अर्बपतिको सम्पत्ति ३५ खर्ब अमेरिकी डलर छ भने चिनियाँ अर्बपतिको कुल सम्पत्ति १७ खर्ब मात्रै छ । त्यसपछि बेलायती धनाढ्यको २ खर्ब ५ अर्ब डलर छ भने जर्मनका अर्बपतिको ५ खर्ब ९छ अर्ब डलर र फ्रान्सका अर्बपतिको ४ खर्ब ४३ अर्ब अमेरिकी डलर रहेको छ ।

महामारीकै बेला यूबीएसले जनाएअनुसार अर्बपतिहरुले उल्लेख्य रकम कोभिड १९ विरुद्ध लड्न दान गरेका छन् । यो प्रतिकूल अवस्थामा २ सय ९ अर्बपतिले सार्वजनिक रुपमा ७ अर्ब २० करोड अमेरिकी डलर मार्चदेखि जुनसम्म दान गर्ने प्रतिबद्धता जनाएका छन् । अरु देशको तुलनामा बेलायती अर्बपतिले थोरै रकम दान गरेको बैंकले जनाएको छ । बैंकले जनाएअनुसार अमेरिकामा ९८ अर्बपतिले साढे चार अर्ब डलर दान गर्दा चीनमा १२ अर्बपतिले ६७ करोड ९० लाख डलर र अस्ट्रेलियाका दुई अर्बपति ३२ करोड ४० लाख डलर सम्पत्ति दान गरेका छन् । बेलायतमा भने ९ अर्बपतिले २९ करोड ८० लाख डलर दान गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया