Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदैजी–जोगबुढा सडक निर्माणको काम तीव्र

दैजी–जोगबुढा सडक निर्माणको काम तीव्र


कञ्चनपुर ।
धनबहादुर जप्रेल

कञ्चनपुरको दैजी–जोगबुढा सडक खण्डमा कालोपत्रेको तयारी तीव्ररूपमा भैरहेको स्थानीय प्रशासनले दाबी गरेको छ । विगत लामो समयदेखि अलपत्र रहेको सडक संघ र प्रदेश कसले निर्माण गर्ने विवादका बीच प्रदेश सरकारले सडक निर्माण गर्न लागेको हो । उक्त सडक निर्माणसँगै कालोपत्रेको समेत तयारी भैरहेको बताइएको छ । सडक कालोपत्रे भएपछि महेन्द्रनगरदेखि डोटीको बुडरको दूरी पनि घट्ने बताएको छ । यो सडकलाई सुदूरपश्चि प्रदेशको गौरवको योजनाका रूपमा लिइन्छ ।

कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका र डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकालाई जोड्ने उक्त सडकको कालोपत्रेको तयारी भइरहेको वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले बताए । ‘लामो समयदेखि कसले बनाउने भन्ने अलझन्काबीच अहिले प्रदेश सरकारको लगानीमा सडक निर्माण तथा कालोपत्रेको काम धमाधम अगाडि बढेको छ’, नगरप्रमुख चन्दले भने, ‘बीचमा कोरोना कहरले केही निर्माण कार्यमा ढिलाइ भए पनि हाल भने निर्माण कम्पनीले कामलाई गति दिएको छ ।’ निर्माण कम्पनीले असोज महिनाको अन्तिम साताभित्रमा झण्डै चार किलोमिटर क्षेत्रमा सडक कालोपत्रे गरिसक्ने उनले बताए । नगरप्रमुख चन्दका अनुसार वेदकोट तालको तल चोरपानीदेखि सडकमा बेस बिछ्याउने काम भइरहेको छ ।

यस्तै बेस बिछ्याए पनि प्राइम हाल्ने र प्राइम हालेको तीन÷चार दिनभित्रमा कालोपत्रे गर्ने योजना निर्माण कम्पनीको रहेको नगरप्रमुख चन्दको भनाइ छ । दैजी–जोगवुढा सडकको दैजीदेखि लिप्नासम्म झण्डै १७ किलोमिटर सडक निर्माणका लागि नागार्जुन कन्ट्रक्सनसँग १६ करोेड ३८ लाख २५ हजार आठ सय ७० रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार उक्त सडक निर्माण २०७६ असारसम्ममा सम्पन्न गरिसक्नुपर्नेमा पूरा हुन नसक्दा योजना निर्माणको समयसीमा एक वर्ष थप गरिएको छ ।

‘दैजी–जोगवुढा सडकखण्डको केही भाग तिहारअघि नै कालोपत्रे गर्ने योजनाका साथ निर्माण कम्पनी काम गरिरहेको अवस्था छ’ प्रमुख चन्दले भने, ‘नगरपालिकास्थित वेतकोट तालको तीन किलोमिटरमाथिसम्म झण्डै नौ किलोमिटर कालोपत्रे तिहारअगावै सम्पन्न हुन्छ, तिहारपछि चिसोको मौसममा काम कालोपत्रेको काम गुणस्तरीय नहुने भएकोले पनि निर्माण कम्पनीलाई जतिसक्दो चाँडो निर्माण गर्न भनिएको छ ।’ कालोपत्रे गर्ने सडकको बाँकी रहेको काम भने फागुन चैतमा गरिने उनको भनाइ छ । यस्तै दैजी जोगवुढा सडकखण्ड कालोपत्रे भैसकेपछि कञ्चनपुरबाट पहाडी जिल्लामा आवत जावत गर्न सहज हुनेछ । तत्कालीन समयमा दैजी–जोगबुढा सडक योजनाको रूपमा सुरू भएको यो सडक दुई भागमा विभाजन गरी काम भइरहेको छ । कञ्चनपुरतर्फ दैजी–लिप्ना सडक र डडेलधुरातर्फ लिप्ना–जोगबुढा खण्डमा काम भइरहेको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया