Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैतेश्वर गाउँपालिकाको जग्गा अपचलन नभएको छानबिन समितिको निष्कर्ष

वैतेश्वर गाउँपालिकाको जग्गा अपचलन नभएको छानबिन समितिको निष्कर्ष


दोलखा ।
सुबास बस्नेत

दोलखाको वैतेश्वर गाउँपालिकाको जग्गा अपचलन नभएको छानबिन समितिले निष्कर्ष निकालेको छ । पालिकाको स्थायी केन्द्र कायम गर्नको लागि दान प्राप्त भएको जग्गा अपचलन भएको आरोप लागेपछि गाउँपालिकाले गत भदौ २३ गते छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले लामो अध्ययनपछि बुधबार प्रतिवेदन सार्वजनिक गरेको छ ।

गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ६ का वडा अध्यक्ष समशेर घिसिङको संयोजकत्वमा गठित छानबिन समितिले तयार गरिएको प्रतिवेदनमा गाउँपालिकाको स्थायी केन्द्र निर्माणका लागि २८ जना जग्गादाताहरूबाट १३ हजार दुई सय ५१ वर्गमिटर जग्गा प्राप्त भएको उल्लेख छ । त्यसमध्ये ११ हजार तीन सय ९३ वर्गमिटर जग्गा कार्यालय निर्माण हुने क्षेत्रमा ठूलो परिमाणमा जग्गा दिने दाताहरूलाई सोधभर्ना गरिएको उल्लेख छ । बाँकी रहेको एक हजार नौ वर्गमिटर जग्गा भने रजिष्ट्रेसन र नामसारीजस्ता शीर्षकमा गाउँपालिकाको बजेट खर्च गर्न नमिल्ने भएपछि बिक्री गरी खर्च गरिएको उल्लेख गरिएको छ । समितिका अनुसार जग्गादाताबाट प्राप्त भएको जग्गा गाउँपालिकाको नाममा ल्याउन र बाँकी सोधभर्ना गरी पुनः जग्गादाताकै नाममा रजिष्ट्रेसन पास गर्न झण्डै १० लाख रकम खर्च भएको छ । समितिका संयोजक घिसिङले उल्लिखित सबै निर्णयहरू गाउँकार्यपालिकाद्वारा गठित जग्गा व्यवस्थापन समितिले प्रचलित नियमअनुसार नै गरेको जानकारी दिए ।

उनका अनुसार त्यसरी बिक्री गरिएको एक हजार नौ वर्गमिटर जग्गा स्थानीय सिता आचार्य र निर्मला घिसिङलाई छ सय वर्गमिटर र मनमायाँ दाहाल, लालकुमारी तामाङ र कमला तमाङलाई चार सय नौ वर्गमिटर बिक्री गरी प्राप्त रकमले जग्गासम्बन्धी भएका खर्चहरू व्यवस्थापन गरिएको छ । जग्गा किन्ने व्यक्तिहरू वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरूका आफन्त रहेकोले जग्गा अपचलन भएको हुनसक्ने स्थानीयको आरोप थियो । छानबिन समितिले जग्गा व्यवस्थापन समितिका सदस्यहरू बालकुमार दाहाल र पदमबहादुर दाहालको नाममा नपुग जग्गादाताहरूलाई उपलब्ध गराउन आठ सय ४९ वर्गमिटर जग्गा बाँकी रहेको जनाएको छ । उक्त जग्गा पहिलो घेरामा ठूलो परिमाणमा दान दिने दाताहरूलाई सोधभर्ना गर्न राखिएको भए पनि दाताहरूबीच सहमति भइनसकेकाले बाँकी रहेको जनाइएको छ ।

जग्गादाताहरूले भने तत्कालीन समयमा जग्गा व्यवस्थापन गर्न गठन गरिएको सदस्यले स्वार्थअनुसार जग्गा सोधभर्नामा आफूनिकटका व्यक्तिलाई जग्गा दिएको आरोप लगाएका छन् । जग्गादाता स्थानीय हरिबहादुर दाहालले स्रोतभर्ना गरिनुपर्ने जग्गामा समितिका सदस्य बालकुमार दाहालले स्वार्थ राखेर जग्गा वितरण गरेको बताए । त्यस्तै अर्का जग्गादाता पदमबहादुर दाहालले पनि समितिका सदस्य बालकुमारले बाहिरी घेरादेखि करिब पाँच सय मिटर टाढाको जग्गामा दिन खोजेको हुँदा आफूहरूलाई चित्त नबुझेको बताए । गाउँपालिका अध्यक्ष छवि लामाले केन्द्र राख्न त्यो समय आफ्नो महत्वपूर्ण जग्गा दान गर्ने जग्गाधनीलाई सोधभर्ना गरिएको र बाँकी रहेको जग्गा सम्मान ढंगले सबैलाई सोधभर्ना गरिने बताए ।

धेरै दाताहरूले जग्गा पाउन बाँकी रहेको र भिरपाखाको जग्गा दिएर राम्रो ठाउँको जग्गामा मनोमानी नगर्न अध्यक्ष लामाले जग्गा व्यवस्थापन समितिका सदस्य बालकुमार दाहाललाई आग्रह गरे । लामाले विकासका काम अघि बढिरहेको वैतश्वर गाउँपालिकालाई जग्गाको विषय बनाएर पछि धकेल्न खोजिएको समेत दाबी गरे । यता जग्गा व्यवस्थापन समितिका सदस्य बालकुमार दाहालले भने गाउँपालिकामा प्राप्त भएको जग्गा समानुपातिकरूपमै वितरण गरिएको दाबी गरे । त्यसैगरी गाउँपालिकाको जग्गा प्रकरणको सम्बन्ध नेकपा वैतश्वर गाउँपालिकाले पनि छानबिन समिति गठन गरेको छ । केही दिनमा प्रतिवेदन सार्वजनिक हुने नेकपा वैतश्वरले जनाएको छ । सरकारी प्रतिवेदनले जग्गा अपचलनका बारेमा उठाइएका सवालहरू जग्गा व्यवस्थापन समितिको कार्यविधि समयसीमाले तोकेको अभिलेखबाट पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया