Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभीमदत्तमा ७२ करोड लगानीमा व्यापारिक भवन ‘कञ्चन मल’ निर्माणको तयारी

भीमदत्तमा ७२ करोड लगानीमा व्यापारिक भवन ‘कञ्चन मल’ निर्माणको तयारी


धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी क्षेत्रसहितको लगानीमा व्यापारिक मल निर्माण योजना अघि सारेको छ । नगरपालिकाले महेन्द्रनगर बजारमा रहेको सब्जीमण्डी विस्थापित गरी सोही स्थानमा मल बनाउने तयारी गरेको हो । नगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा उक्त मल निर्माणका लागि केही दिनअघि स्थानीय व्यवसायीसँग छलफलसमेत गरेको छ ।

दीर्घकालीन आम्दानी र निजी क्षेत्रसँगको सहकार्यका लागि उक्त योजना अघि सारिएको नगरपालिकाका इन्जिनियर हिमालय ऐरले बताए । ७१ करोड ७५ लाख अनुमानित लागत रहेको उक्त मल निर्माणका लागि निजी क्षेत्रबाट ५० प्रतिशत लगानी आह्वान गरिएको उनले बताए । नगरपालिकाले नगर विकास कोषको ऋण लगानीमा मल निर्माण योजना अघि सारेको हो । करीब १ बिगाहा क्षेत्रफलमा निर्माण गरिने मलको डीपीआर तयार भइसकेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले यस क्षेत्रको आवश्यकतालाई बुझेर दीर्घकालीन सोचका साथ मलको परिकल्पना गरिएको बताए ।

नगरपालिकाले महेन्द्रनगरलाई आधुनिक शहरको रूपमा विकसित गर्न चाहेको उनको भनाइ छ । ‘हाम्रो शहरमा जनसंख्या बढ्दो छ, बजारीकरणको क्षेत्रफल सीमित छ,’ नगर प्रमुख विष्टले भने, ‘हामीले उपभोक्तालाई एउटै छानामुनिबाट अत्यधिक सेवा दिन खोजिरहेका छौं । यसले एकातिर उपभोक्तालाई सहज हुन्छ भने अर्कोतिर नगरपालिकाका र अन्य निजी लगानीकर्तालाई आर्थिक लाभ हुन्छ ।’ मलमा व्यापारिक प्रतिष्ठान, स्थानीय उत्पादन, फिल्म हल, रेस्टुराँलगायत रहनेछन् भने अन्य मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन हुनेछ ।

पाँच तलाको रहने उक्त मल निर्माण शुरू गरिएको २ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । सब्जीमण्डीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने नगरपालिकाको योजना छ । त्यस्तै ऋण लगानीका लागि नगर विकाससँग प्रक्रिया शुरू गरी निजी क्षेत्रका स्थानीय लगानीकर्तासँग पुनः छलफल गरिने नगर प्रमुख विष्टले बताए । नगरपालिकाको उक्त योजनाले कञ्चनपुरका व्यवसायी उत्साहित भएका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका वारिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले नगरपालिकाले ल्याएको योजना व्यावहारिक एवं समय सान्दर्भिक रहेको बताए । ‘यहाँको बजारलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘बजारमा उपभोक्ताको चाप बढिरहेकाले यस्तो व्यापारिक मलको अवधारणा ल्याउनु राम्रो हो ।’ तर यसमा सरकारी र निजी लगानी प्रस्ताव गरिएकाले स्पष्ट नीति तथा कार्यविधि ल्याउनुपर्नेमा उनले जोड दिए ।

साथै नगरपालिकाले लगानीको सुनिश्चितता गर्न सके मल निर्माणका लागि निजी क्षेत्र आकर्षित हुने धारणा उनले राखे । कञ्चनपुरका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेशदत्त जोशीले मल निर्माणका व्यवसायी लगानी गर्न तयार रहेको बताए । उनले लगानीकर्ता नाफा केन्द्रित हुने भएकाले मलबाट हुने लाभ वितरणबारे स्पष्ट गरिनुपर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया