हाम्रो पहल : दिगो कृषि, पोषिलो आहार
विश्वनाथ खरेल
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर १६ का दिन विश्वका करिब १ सय ५० देशमा विश्व खाद्य दिवस मनाइन्छ । यस सालको ४०औँ विश्व खाद्य दिवसको मूलनारा अंग्रेजीमा ‘आवर एक्सन्स आर आवर फ्युचरः ग्रो, नाउरिस, सस्टेन टुगेदर’ तय गरेको छ । सदस्य राष्ट्रहरुले उक्त नारालाई आधार बनाएर आ–आफ्नो देशको नारा बनाउँछन् । त्यस्तै गरी नेपालले उक्त नारालाई नेपालीकरणमा परिमार्जित तथा परिष्कृत गरी गहकिलो रुपमा प्रस्तुत गरेको छ– ‘हाम्रो पहल : दिगो कृषि, पोषिलो आहार’ भन्ने रहेको छ । दिगो कृषि भनेको लामो प्रहरसम्म प्राणी र जमिनको स्वास्थ्यको लागि गरिने एक कृषि पद्धति हो ।
दिगो कृषि प्रणाली प्रयोगबाट कृषकहरूले पौष्टिक खानादेखि लिएर परिवार र समुदायको जरूरत पूरा गर्नुका साथै पानी, माटो र भविष्यको लागि बीउ संरक्षण पनि गर्छन् । र राम्रो बालीको लागि स्वास्थ्य माटो आवश्यक हुन्छ । धेरै किसानहरूले माटोलाई प्राकृतिक मलहरु जस्तै : जनावरको मल, हरियो मल, र कम्पोष्ट मल राखी राम्रो बनाउँछन् । प्राकृतिक मल रासायनिक मलभन्दा एकदमै स्वास्थ्यकर रहेको हुन्छ । यसले बिरुवालाई चाहिने सबै पोषण थोरै रकम वा निःशुल्क रूपमा उपलब्ध गराउन मद्दत पनि गर्छ । वास्तवमा खाद्य सुरक्षा भनेको खाद्यान्नले मानवलाई गर्ने सुरक्षा हो, मानवलाई उसको शारीरिक आवश्यकताअनुसार पोषण तत्वको पहुँच, भोकमरीको एन्टिबायोटिक हो अनि खाद्यसंकटबाट निम्तिने रोगहरुको वैद्य हो ।
दिगो कृषि अनि अर्गानिक आधुनिक खेतीको विस्तार, उत्पादित खाद्यान्नमा सर्वसाधारणको पहुँच, आयातनिर्यात, बजारीकरणको व्यवस्था, अनि घरघर दिगो कृषिको परियोजनाको विस्तार नै खाद्य सुरक्षाका मूल उपायहरु हुन् जसबाट पोषिलो आहार, स्वस्थ मानव सिद्धान्तको विकास हुन्छ । अनि भावी पेट सुरक्षित हुन्छ । त्यसरी नै जात कृषक, भाषा कृषि र धर्मको महान् ग्रन्थ, जननी माटो, अपन्याएर दिगो कृषि विकासका कदमहरु, तपाईं, म, हामी सबै मिलेर चाल्ने हो भने, खाद्य संकटका काला मडारिएका बादलहरु सदा सदाका लागि हटेर जान्छन् ।
स्वस्थ देश, निरोगी जनताको मूल मन्त्र ऊर्जाको स्रोत बन्दछ । जसले घर परिवार, समाज, राष्ट्र र सिंगो विश्व ब्रह्माण्डलाई नै स्वस्फूर्त बनाउँछ । त्यसैले अर्काको मुख ताक्नुभन्दा पनि आफ्नै पौरखमा विश्वास गर्नु, रासायनिकीकरणलाई प्रांगारिक हतियारले प्रतिस्थापन गर्नु नै आजको मूल आवश्यकता हो, मूल सिद्धान्त हो, दिगो कृषिको आधार हो, खाद्यान्न संकटको निराकरण हो, खाद्यान्न सुरक्षाको आधार हो, मेरो अवतरणको अभिप्राय हो ।
विश्वव्यापी कोरोनाको कहरले गर्दा स्वास्थ्य क्षेत्र ज्यादै नै जटिल बन्दै गएको सन्दर्भमा हामीले वास्तवमै कदर गर्ने कुरा र हाम्रो सबैभन्दा आधारभूत आवश्यकताहरूको चिन्तन गर्ने समय आएको छ । यस अनिश्चित समयले हामीमध्ये धेरैलाई केही चिजको लागि हाम्रो कृतज्ञता पुनः जगाउँछ जुन केहीले मानिहाल्छन् भने धेरैले नमान्न पनि सक्छन् । खाना जीवनको सार र हाम्रो संस्कृति र समुदायहरूको आधार पनि हो । सुरक्षित र पौष्टिक खानामा पहुँचको संरक्षण गर्नु कोभिड–१९ महामारीको प्रतिक्रियाको लागि आवश्यक हिस्सा पनि हो ।
यसले अहिले सारा विश्वलाई नै पिरोलिदिएको छ । विशेष गरी विकासोन्मुख देशहरुका गरिब र कमजोर समुदायहरूको लागि, जुन महामारी र परिणामस्वरूप आर्थिक आघातले सबैभन्दा धेरै प्रभावित पारिरहेको छ । यो समय खाद्यान्नलाई संरक्षण र संकलन गर्ने बेला पनि हो । यसको आवश्यकतालाई पहिलेभन्दा अहिले पहिचान गर्नु महत्वपूर्ण छ । यसै समयमा किसानहरूले आफ्नो खेतबारीबाट भौतिक दूरी कायम गरी खन, जोत गरी खाद्यान्न उत्पादन गर्ने कार्यलाई तदारुकता साथ अगाडि बढाउँदै लगेका छन् ।
जसले गर्दा यस्तो संकट परिस्थितिलाई पनि मध्यनजर गरी मानववर्गको लागि आवश्यक पर्ने खाद्यान्नको जोहोमा खटिनै रहनुपर्ने बाध्यता आइपरेको छ । हालका दशकहरूमा विश्वले कृषि उत्पादकत्व सुधार गर्न महत्वपूर्ण प्रगति गरेको छ । जे होस् अब हामी सबैलाई खुवाउन पर्याप्त खाना उत्पादन गर्छौँ, हाम्रो खाना प्रणाली सन्तुलनबाहिर छ । भोक, रोग, वातावरणीय असन्तुलन, कृषि जैविक विविधताको नोक्सान, खाद्यान्न आपूर्ति र फोहोर र खाद्य शृंखला श्रमिकहरूको सुरक्षाको अभाव यस असन्तुलनलाई रेखांकित गर्ने केही मुद्दाहरू आज टड्कारो रुपमा देखा परेका छन् ।
यी महामारीको चपेटाबाट बच्नको लागि तथा निराकरण गर्न विकसित तथा विकासशील राष्ट्रहरु एकजुट हुनुपर्ने अवस्था आएको छ । यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको राय/सल्लाह लिएर विभिन्न योजनाहरूको विकास र कार्यान्वयन गर्न थाल्नुपर्छ । यो कार्य गर्न ढिला भइसकेको छ । यो बेला भनेको वैज्ञानिक अवसरका आधारमा नवीन समाधानहरू अपनाउने अवसर हो ता कि उनीहरूले अझ राम्रोसँग निर्माण गर्न सक्नेछन् र खाद्य प्रणालीहरूलाई अझ बढी सुधार गर्न सक्नेछन् ।
विश्व खाद्य दिवसले सबै जनसंख्या र खासगरी सबैभन्दा कमजोर जोसुकैलाई सक्दो रुपमा खाद्यान्नको उत्पादन गरी उकास्न, खाद्य प्रणालीलाई अझ बढी लचिलो र बलियो बनाउन मद्दत गर्न विश्वव्यापी एकताको लागि आह्वान गरिरहेको छ ताकि उनीहरूले बढ्दो अस्थिरता र वातावरणीय आघातहरूको सामना गर्न, सस्तो र दिगो स्वस्थ आहार प्रदान गर्न सकून् सबैका लागि खाद्यान्न र खाद्य प्रणाली विकास हुन सकोस् ।
अतः आजको एक्काईसौं शताब्दीमा सभ्य समाजको लागि आधारभूत आवश्यकता भनेको खाना, नाना, छाना, शिक्षा र स्वास्थ्य रहेको छ । यसको लागि सुधारिएको सामाजिक सुरक्षा योजनाहरू र डिजिटलीकरण र इ–वाणिज्यमार्फत प्रस्ताव गरिएका नयाँ अवसरहरू आवश्यक पर्दछ तर पृथ्वीको प्राकृतिक स्रोतहरू, हाम्रो स्वास्थ्य र मौसम संरक्षण गर्ने थप दिगो कृषि अभ्यासहरू पनि यसभित्र पर्ने हुन्छ ।
विभिन्न देशहरू, निजी क्षेत्र र नागरिक समाजले यो सुनिश्चित गर्नु आवश्यक छ कि हाम्रो खाद्य प्रणालीहरूले बढ्दो जनसंख्यालाई पोषण दिन र यस ग्रहलाई निरन्तर राख्न विभिन्न खाद्यान्न उत्पादन गर्दछन् । हामी सबैले यसमा भूमिका खेल्नुपर्ने हुन्छ । मूलतः स्वास्थ्य छनौट गरेर पौष्टिक खानाको समग्र माग बढाउनदेखि लिएर, यी अनिश्चित समयहरूको बाबजुद दिगो बानी व्यहोराहरूलाई बाधक बनाउन नदिनु हो ।
मानवको शारीरिक विकास र तन्दुरुस्तीका लागि आवश्यक पर्ने पौष्टिक तत्वहरुको कमी भएमा शारीरिक दुर्बलताको शिकार भइन्छ । जसलाई कुपोषण अर्थात् पोषणको कमी भनिन्छ । नेपालमा पाँच वर्षमुनिका करिब ५० प्रतिशत वा सोभन्दा बढी बालबालिका पोषणको अभाव रहेको बताइन्छ । जसका कारण उनीहरुको अकालमा मृत्यु समेत हुने गरेको छ ।
संसारमा बढ्दो रुपमा जनसंख्या वृद्धि भइरहेको एकातिर छ भने अर्कोतिर त्यसको लागि खाद्यान्नको आवश्यक पर्छ । त्यसको भरणपोषणको लागि खाद्यान्न नै आवश्यक पर्छ । त्यसैले होला संयुक्त राष्ट्रसंघीय खाद्य निकायले यस्तो किसिमको नाराको तय गरेको हो । त्यसैगरी विभिन्न सहयोग समूहले बढ्दो खाद्य मूल्यले भोकविरुद्धको युद्धमाथि नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् । विश्वमा जलवायु परिवर्तनसँगै कृषि र खाद्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोतर्फ विश्वका मुलुकहरूलाई सचेत बनाएको हो । संसारको झण्डै ८ अर्ब जनसंख्यामध्ये २५ प्रतिशत अर्थात् करिब १ अर्ब मानिसले पेटभर खान पाउँदैनन् ।
अझै पनि विश्वमा हरेक आठमध्ये एक जना मानिस भोकै छन् । पछिल्ला केही महिनामा कोरोना कहरका कारण संसारमा खाद्यान्नको मूल्य विस्तारै बढिरहेको छ । नेपालमा पनि २५ प्रतिशतमा भोकमरी छ । संयुक्त राष्ट्रसंघको पहलमा शून्य भोकमरी लक्ष्य र दिगो विकास लक्ष्यजस्ता कार्यक्रम नेपालमा पनि लागू छन् । तर, आकाशेपानीको भरमा गरिने खेती, प्रविधि विकास र प्रसारमा कमजोरी, बीउ मलको आवश्यक व्यवस्थापनमा समस्याले नेपालमा जलवायु परिवर्तनको चुनौती थप बढाएको छ ।
नेपालका बहुसंख्यक साना किसान छन्, यससम्बन्धी जनचेतना पनि नभएकाले किसान थप मर्कामा परेका छन् । साना किसान लक्षित सचेतनामूलक कार्यक्रम, भूगोलअनुरूपका प्रविधि तथा बीउ–बीजनको उपलब्ध गराउने कार्यक्रम प्राथमिकताका साथ लागू गर्नुपर्ने बेला आएको छ । विश्वमा बढिरहेको जनसंख्याको अनुपातमा खाद्य सुरक्षा खस्किँदै गएको विभिन्न सरोकारवाला निकायले जनाएका छन् । खाद्य सुरक्षा क्षेत्रमा काम गर्ने विभिन्न निकायले खाद्य अभावका कारण विश्वमा हजारौँ व्यक्तिको ज्यान गइरहेको र यो संख्या अझै बढ्नसक्ने चेतावनी समेत दिएका छन् ।
विश्व खाद्य दिवस मनाउने क्रममा विश्वमा यो क्षेत्रमा कार्यरत विभिन्न संस्थाले प्रतिवेदन सार्वजनिक गरेका छन् । दिवसको अवसरमा नेपालमा पनि सरकारी र गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गर्ने तय गरेका छन् । खाद्य तथा कृषि संगठनले विगतको वर्षको तुलनामा विश्वमा भोका मानिसहरुको संख्या बढ्दै गएको र यो संख्या झण्डै एक अर्बको हुनसक्ने जनाएको हो । देशको कुरा गर्ने हो भने भोकमरी ग्रस्त देशको ५६औँ स्थानमा रहेको छ । नेपालको कृषि क्षेत्र धेरै भए पनि यहाँको जनशक्ति पलायनलगायतको कारण यो क्षेत्रमा आश्रित हुनेहरुको संख्या घट्दै गएको जनाइएको छ । यसले उत्पादनमा कमी आउने तथा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउने आशंका बढेको सम्बन्धित क्षेत्रले बताएको छ ।
कृषि क्षेत्रमा आधुनिकीकरण हुन नसक्नु, सिँचाइको उचित व्यवस्था नहुनु, युवापुस्तामा कृषि पेसाप्रति रुचि नदेखिनु, राज्यले कृषि क्षेत्रको विकासमा ध्यान नदिनु, खेती गर्ने किसानसँग जमिन नहुनु र खाद्यान्नको वैज्ञानिक भण्डारण गर्ने स्थानको कमी लगायतका कारणबाट नेपालमा खाद्य उत्पादनमा कमी आउनथालेको बताइएको छ । त्यसैगरी कृषि विकासको लागि खाद्यान्न उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा विज्ञहरुको भनाइ छ । विशेषगरी नेपालको तराई क्षेत्र खाद्यान्न उत्पादन हुने क्षेत्र हो । तर तराईमा पनि सहरीकरण बढेको कारण खाद्यान्न उत्पादनमा कमी आइरहेको बताइएको छ ।
समग्रमा पोषणको अभावमा वा बालबालिको स्वास्थ्यमा समस्या आउने तथा भविष्यमा उनीहरुको कार्यक्षमतामा प्रतिकूल असर पार्ने कुरा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले समेत प्रष्ट पारिसकेको छ । गरिबीका कारण, पौष्टिक तत्व तथा सन्तुलित भोजनबारे अनभिज्ञता, भौगोलिक बनावटका कारण एक ठाउँबाट अर्को ठाउँमा खाद्यान्न पु-याउन नसक्नु, आफ्नो घरको करेसाबारीमा भएका सागसब्जी, फलफूल, गेडागुडी एवं अन्य परिकारहरु अनुपात मिलाएर खान नजान्नु आदि कुपोषणका केही कारण हुन् । त्यस्तै भौगोलिक बनावट, हावापानी, आर्थिक स्तर आदिलाई ध्यान नदिई विदेशबाट आयात गरिएको महँगो खाद्य पदार्थबाट मात्र सन्तुलित भोजन प्राप्त हुन्छ भन्ने गलत धारणा रहेको पाइन्छ ।
सजिलोका लागि बालबालिकालाई अभिभावकले नै जंक फुड दिनाले पनि पोषणको कमी भएको पाइएको छ । यसबाट भविष्यमा कस्तो किसिमको व्यक्ति तथा समाज निर्माण होला यसै भन्न सकिन्न । त्यसैले बालबालिकालाई कुपोषणबाट जोगाउन, उनीहरुको भविष्य राम्रो बनाउन व्यक्ति, समाज र अर्थतन्त्रलाई रुपान्तरण गर्न पोषणयुक्त खानामा लगानी जरुरी छ । यद्यपि, मकै, कोदो, ढिँडोजस्ता पोषिलो आहार आधुनिक युगले खिल्ली उडाएजस्तो देखिन्छ । जसले गर्दा अहिलेका युवा त किशोर अवस्थाबाटै क्यान्सर, मधुमेह, उच्च रक्तचाप, दम आदिको शिकार हुनपुगेका छन् र यसको प्रमुख कारण पोषिलो आहार नभएरै हो र यसको समाधान दिगो कृषिबाटै सम्भव छ ।
खाद्यान्नको स्तरलाई मूल्यांकन गर्ने हेतु प्रथम पोषण सम्मेलन सन् १९९२ मा भएको थियो भने दोस्रो सम्मेलन सन् २०१४ को नोभेम्बर १९ देखि २१ सम्म इटालीको रोममा भएको थियो । सो अन्तर्राष्ट्रिय पोषण सम्मेलन दोस्रोमा पहिलो सम्मेलनको प्रगतिको समीक्षा गर्ने आउँदो दिनको चुनौतीलाई कसरी समाधान गर्दै सुधारको बाटोमा कसरी अगाडि बढ्नेमा व्यापार छलफल गरिने भएको छ । हालको दशकमा केही राष्ट्रहरुले कुपोषणमा महत्वपूर्ण कटौती हासिल गरेका छन् । तर प्रगति असमान किसिमको छ र राम्रो पोषणको लागि राम्रो भोजन व्यवस्थापनको उपभोग गर्नुपर्ने जरुरी छ । यसको साथसाथै कुपोषण र यसको मूल कारणहरु जटिल छन् ।
इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युडले विभित्र सहयोगी संस्थासँगको सहकार्यमा गरेको अध्ययनपछि जारी भएको ग्लोबल हंगर इन्डेक्स प्रतिवेदनमा नेपाल विश्वका एक सय १९ देशमा ७२औँ स्थानमा छ । दक्षिण एसियाली देशमा नेपालको अवस्था सबैभन्दा राम्रो छ । त्यो प्रतिवेदनअनुसार नेपालका ७.८ प्रतिशत मानिस कुपोषणको अवस्थामा छन् । यस्तै पाँच वर्षमुनिका ३७.४ प्रतिशत बालबालिकाको विकासमा समस्या छ ।
फेरिएको मौसमी चक्रअनुसार कृषि प्रणाली र बालीलाई समायोजन गर्न नसकेमा यो अवस्था अझै बढ्दै जाने पक्का छ । बढ्दै गएको तापक्रमका कारण गरिब किसान, माझी समुदाय तथा कृषिमा आधारित समुदाय बढी प्रभावमा छन् । विश्वमा बढ्दै गएको जनसंख्या र घट्दै गएको खेतीयोग्य जमिनको आकारले खाद्य संकट चुलिँदै गएको छ । त्यसकारण प्रभावकारी नियोजन, सहयोग, समन्वयको साथमा सही तथ्यांक, आम दृष्टि, कुशल प्रशासन र सबैभन्दा महत्वपूर्ण राजनीतिक नेतृत्व हुनु अति आवश्यक छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया