Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिल गरिएको अन्तर्राष्ट्रिय सीमाबाट खुलेआम आवतजावत

सिल गरिएको अन्तर्राष्ट्रिय सीमाबाट खुलेआम आवतजावत


शंकर लुइँटेल

विराटनगर
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण संघीय सरकारले प्रदेश १ को अन्तर्राष्ट्रिय नाका जोगवनी बन्द गरे पनि दशैँको किनमेल गर्न भारततर्फ जानेहरूको संख्या ह्वात्तै बढेको छ । आफूखुसी भारत जाने क्रम बढेसँगै अहिले प्रदेश १ को राजधानी नै संक्रमणको उच्च जोखिममा परेको छ ।

विराटनगरबाट भारतीय बजार जोगवनी नाकाको मुख्य बाटो नभई चोरबाटोबाटै पारि गएर सामान किन्न उपभोक्ताको लर्काे लाग्न थालेपछि संक्रमणको उच्च जोखिम भएको हो । मुख्य नाका जोगवनी र विराटनगर भन्सारको आईसीपीबाट मानिसको आउजाउ नभए पनि छेउछाउको चोरबाटोबाट आवतजावत बाक्लो बनेको छ । नेपाल–भारतको बीचमा खुला सीमा भएका कारण दक्षिण र उत्तरबाट सुरक्षाकर्मीको आँखा छलेरै पारिबाट दशैँका लागि आवश्यक उपभोग्य वस्तु किनेर नेपाल आउनेको भीड थामी नसक्नु हुने गरेको छ । भन्सार आईसीपी र रानीको बीचमा रहेको इस्लामपुर क्षेत्रबाट चोरबाटो हुँदै दैनिक तीन हजार बढी नेपाली जोगबनी बजार पुग्ने गरेका छन् । नाका सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । तर, प्रहरीकै सेटिङमा आउजाउ बढ्दै गएको आरोप स्थानीयले लगाएका छन् ।

चोरबाटोबाट हुने खुला आउजाउले प्रदेश १ को राजधानी विराटनगरमा संक्रमणको जोखिम झन् उच्च बनाएको छ । काम विशेषले जानेभन्दा पनि जोगवनीमा सामान किन्न जानेहरूको लर्को लाग्ने गरेको छ । ठूलो संख्याका मानिस नेपालबाट इस्लामपुर नाका हुँदै जोगवनी सामान किन्न जाने गरेको दाबी स्थानीयको रहेको छ । स्थानीयका अनुसार अहिले दैनिक चार हजारसम्म मानिस नेपालबाट जोगवनीमा सामान किन्न जाने गरेका छन् ।

महामारीको समय सीमापारि सामान किन्न जान दिनु सरकारको कमजोरी भएको गुनासो स्थानीयको छ । दैनिक उपभोग्य वस्तु खरिद गर्न जानेहरू बढ्दै गएपछि कुनै कुनै बेला प्रहरी र जोगवनी जानेको भागाभाग समेत हुने गरेको छ । इस्लामपुर नाकामा जोगवनी जाने मानिसलाई खेदाउँदाखेदाउँदै प्रहरी पनि कुनै बेला मूकदर्शक भएर बस्ने गरेको गुनासो स्थानीयले गरेका छन् । कोभिड– १९ को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा विराटनगरको इस्लामपुरमा भारत जाने र आउनेको घुइँचो लाग्ने गरेको छ ।

इस्लामपुरमा प्रहरीले रकम लिएर मानिसलाई आउजाउ गर्न दिने गरेको स्थानीयको आरोप छ । दिनमा कडाइ गर्ने प्रहरीले रातको समयमा भने रकम लिएर सामान ल्याउन दिने गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार एक व्यक्तिको सामान बराबर पाँच सयदेखि दुई हजारसम्म प्रहरीले लिने गरेको दाबी रहेको छ । नाका पूर्णरूपमा बन्द नगराएर संक्रमण गाउँमा फैलाउन पछिल्लो समय प्रशासन आफैँ लागिपरेको गुनासो स्थानीयको छ ।विराटनगरकै दरैया नाकाबाट पनि नेपालीहरु सामान किन्न भारतीय बजार जोगवनी जाने गरेका छन् । दरैया नाकाको दसगजामा भएको पोखरी छेउबाट नेपालीहरू सामान ओसार्न जोगवनी पुग्ने गरेका हुन् । पोखरी क्रस गर्नेबित्तिकै उनीहरू हलुका सवारी सिटी, अटोमा चढेर आफ्नो गन्तव्यतिर लाग्ने गरेका छन् । सीमा क्षेत्रमा तस्करी नियन्त्रण र आउजाउमा कडाइ गर्ने मुख्य जिम्मा सशस्त्र प्रहरीको हो । कोरोना महामारीसँगै सीमा क्षेत्रमा प्रहरीको जनशक्ति पनि थप भएको छ ।

यसले पनि तस्करी र अवैध कारोबार नरोकिएको सीमा क्षेत्र पुगेर हेर्दा देख्न सकिन्छ । भारतीय बजारमा किनमेल गर्न जानेहरू कसैले पनि न त मास्कको नै प्रयोग गरेका छन्, न त कुनै सुरक्षाका मापदण्ड नै प्रयोग गर्ने गरेका छन् । भारतीय बजार जोगबनी किनमेल गर्न जानेहरू धेरैजसो महिला छन् । नाका सिल भए पनि किनमेल गर्न जाउआउ गर्नेहरूलाई सुरक्षाकर्मीले समेत अवरोध गर्दैन । सिल भएको नाकाबाट आउजाउ गर्ने जोकोहीलाई ठेगाना पुष्टि गराई आवश्यक चेकजाँच गरेर मात्र आफ्नो देशतर्फ आउन दिनुपर्नेमा प्रहरी समेत बेखबर रहेको दाबी स्थानीयले गरेका छन् ।

असोज २५ गते आइतबार मात्र सीमापारि भारतको जोगवनीबाट कपडा तस्करी हुने गरेको पाएपछि प्रहरीले केही व्यापारीहरुलाई पक्राउ गरेको छ । कपडा र ओसारपसारमा प्रयोग हुने गाडीसहित १० लाख रुपैयाँको वस्तु प्रहरीले आइतबार पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ । विराटनगर–१४ जतुवाबाट प्रहरीले तस्करीको सामान बोक्ने एक मारुती भ्यानसहित ७ लाख रुपैयाँबराबरको सामान बरामद गरेको थियो ।

भारतबाट मध्यरातमा मोटरसाइकलमा ओसारेको कपडाका बोरा बिहानीपख धरमबाँध रोड हुँदै मारुती भ्यानबाट विराटनगर बजारका कपडा व्यापारीलाई दिने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ । सीमावर्ती रानी क्षेत्रमा वर्षौदेखि भन्सार छलीको कारोबार गर्दै आएकाहरुले नै पछिल्लो समय सेटिङ्ग गरी जतुवाको बाटोबाट ओसारपसार गर्र्दै गरेको सामानसहित कपडा पक्राउ गरिएको दाबी स्रोतले गरेको छ । कपडा पक्राउका सम्बन्धमा अनुसन्धान भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक मानबहादुर राईले सम्पूर्ण जानकारी आएपछि सार्वजनिक गरिने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया