Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय उड्डयन क्षेत्रमा अझै टरिसकेको छैन संकट

भारतीय उड्डयन क्षेत्रमा अझै टरिसकेको छैन संकट


नयाँ दिल्ली, असोज २८
घरेलु हवाइ यात्रुहरुको संख्या सेप्टेम्बरमा ३९ लाख ४३ हजार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्षको तुलनामा यो ६६ प्रतिशतले कम हो । नियामक निकाय डीजीसीएले बुधबार उक्त जानकारी दिएको नवभारत टाइम्सले जनाएको छ । यो वर्ष जुलाईमा २१ लाख तथा अगस्टमा २८ लाख मानिसले भारतभित्र हवाइ यात्रा गरेका थिए ।

उक्त अवधिमा इन्डिगो एयरलाइन्सबाट मात्रै करिब २२ लाख ६६ हजार यात्रुले यात्रा गरेका छन् भने कम्पनीको बजार हिस्सा ५७.५ प्रतिशत रहेको छ । सोही अवधिमा स्पाइसजेटबाट ५ लाख ३० हजार यात्रुले यात्रा गरेका छन् । स्पाइस जेटको बजार हिस्सा १३.४ प्रतिशत रहेको छ । डीजीसीएको तथ्यांकअनुसार सेप्टेम्बरमा एयर इन्डिया, एयर एसिया इन्डिया, विस्तारा र गोएयरबाट क्रमशः ३ लाख ७२ हजार, २ लाख ३५ हजार, २ लाख ५८ हजार र २ लाख ६४ हजार यात्रुले यात्रा गरेका थिए । माग बढ्दै

भारतको छ प्रमुख विमान कम्पनीहरुको कुल उपलब्ध सिटहरुको तुलनामा यात्रु दर ५७ देखि ७३ प्रतिशतको बीचमा रहेको छ । डीजीसीएका अनुसार लकडाउनपछि उडान सेवा पुनः सुचारु हुनथालेपछि माग भने बढिरहेको बताएको छ । सेप्टेम्बर महिनामा कम्पनीहरुको सिट भरिँदै गएको छ । यो अवधिमा स्पाइसजेटले ७३ प्रतिशत सिट भर्न सफल भएको छ भने विस्तारा, इन्डिगो, एयरएसिया इन्डिया, एयर इन्डिया र गोएयरको सिट भरिने दर क्रमशः ६६.७, ६५.४, ५८.४, ५७.९ र ५७.६ प्रतिशत रहेको छ ।

डीजीसीएका अनुसार बेंगलोर, दिल्ली, हैदरावाद र मुम्बई जस्ता चार प्रमुख हवाइ अड्डामा एयरएसिया इन्डियाको सबैभन्दा धेरै उडान भएको छ । भारतमा कोरोना भाइरस संक्रमण रोक्नका लागि मार्च २४ देखि लकडाउन लगाइएको थियो । सो क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा रोक लगाइएको थियो । करिब दुई महिनाको अन्तरालमा २५ मेदेखि आन्तरिक उडानलाई अनुमति दिइएको थियो । त्यस्तै लकडाउनकै दौडान प्रवासी भारतीय मजदुरलाई स्वदेश ल्याउन वन्दे भारत मिसनअन्तर्गत अन्तर्राष्ट्रिय उडानको परिचालन गरिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया