Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड प्रभाव : रोजगारी सिर्जना नहुँदा ६ लाख युवा बेरोजगार

कोभिड प्रभाव : रोजगारी सिर्जना नहुँदा ६ लाख युवा बेरोजगार


काठमाडौं ।
कोभिड १९ महामारीका कारण चलिरहेका उद्योग, कलकारखानाहरु सञ्चालन हुन नसक्दा र नयाँ रोजगारी सिर्जना नहुँदा युवाहरु बेरोजगार हुँदै गएका छन् । सोही क्रममा चालू आर्थिक वर्ष (२०७७/०७८) तीन महिना (साउनदेखि असोजसम्म)को अवधिमा छ लाख नौ हजार तीन सय जना युवाहरु बेरोजगार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार असोज महिनाको अन्तिम साता मात्रै ३९ हजार सात सय जना तथा असोज २२ गतेसम्म पाँच लाख ६९ हजार छ सय जना युवा बेरोजगार भएका छन् ।

युवाहरु बेरोजगार भएसँगै उनीहरुले मन्त्रालय तथा सम्बद्ध निकायलाई जानकारी गराएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतमणि पाण्डेले बताए । उनले कल सेन्टर तथा सम्बद्ध निकायमा गएर युवाहरुले आफू बेरोजगार भएको जानकारी गराएको बताए । युवाहरुले बेरोजगार भए पनि उनीहरुलाई दिने रोजगारीको सुनिश्चितता गर्ने विषयमा भने मन्त्रालय तथा सरकारले कुनै निर्णय नलिएको मन्त्रालय स्रोतले बताएको छ ।

यसैबीच तीन महिनाको अवधिमा श्रमसम्बन्धी अर्थात् रोजगारी गुमेको, सेवा सुविधा प्राप्त नगरेको लगायतको विषयमा साढे तीन सयवटा विवाद/गुनासो प्राप्त भएको तथा एक सय १४ वटा विवाद समाधान भएको र दुई सय ३६ वटा विवाद तथा गुनासो समाधानको प्रक्रियामा रहेको बताइएको छ ।

यसैबीच युवाहरु बेरोजगार भएसँगै मन्त्रालयअन्तर्गतका निकायहरुले विभिन्न प्रतिष्ठान समेत निरीक्षण गरेका छन् । कोभिडको समयमा तलब नपाएको तथा काम गरिरहेको संस्थाहरुबाट विना कारण रोजगारीबाट मुक्त गराएको हुँदा मन्त्रालयले उक्त समस्याको समाधानको लागि चासो दिएको थियो । सो क्रममा असोज २२ गतेसम्म सरोकारवाला निकायबाट दुई सय ३१ वटा र असोज अन्तिम सातामा मात्र ४७ वटा प्रतिष्ठानको अनुगमन गरिएको प्रवक्ता पाण्डेले बताए ।

यसरी अनुगमनपछि उनीहरुको समस्या समाधानतर्फ समेत मन्त्रालय लागेको बताइएको छ । यसैगरी उक्त अवधिमा अर्थात् असोज २२ सम्म दुई सय २० वटा र असोज अन्तिम सातामा मात्र ४२ वटा प्रतिष्ठानमा बालश्रमिक रहे/नरहेको अनुगमन गरिएको थियो । सरकारले सामान्य अवस्था तथा अहिलको परिस्थितिमा रोजगारी सिर्जनातर्फ ध्यान नदिँदा बेरोजगारीको समस्या दिन प्रतिदिन बढ्दै गएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया