Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभीमदत्तद्वारा मझगाउँ विमानस्थल सञ्चालनमा १५ प्रतिशत खर्च व्यहोर्ने निर्णय

भीमदत्तद्वारा मझगाउँ विमानस्थल सञ्चालनमा १५ प्रतिशत खर्च व्यहोर्ने निर्णय


धन बहादुर जप्रेल
कञ्चनपुर ।
विगत दुई दशकभन्दा लामो समयदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनका लागि चाहिने खर्चमा भीमदत्त नगरपालिकाले साझेदारी गर्ने भएको छ । भीमदत्तको नगर कार्यपालिकाको बैठकबाट मझगाउँ विमानस्थल सञ्चालनमा लाग्ने खर्चमा साझेदारी गर्ने निर्णय गरेको भीमदत्त नगरपालिकाले बताएको छ ।

भीमदत्तको ५१औँ नगर कार्यपालिका बैठकबाट विमानस्थल सञ्चालनमा लाग्ने खर्चको १५ प्रतिशत रकम भीमदत्त नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको छ । यस अघि विमानस्थल संरक्षणका लागि पनि तारबारमा नगरपालिकाले साझेदारी गरिएको थियो । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले विमानस्थल सञ्चालन सबैको सामूहिक एजेण्डा भएको भन्दै विमानस्थल सञ्चालन कार्यलाई तीव्रता दिन साझेदारी गरिएको बताए । ‘बन्द विमानस्थल सञ्चालनमा ल्याउने सबैको माग हो, एजेण्डा हो, यो सबैको सहयोग र सहकार्यबाट मात्रै सञ्चालनमा आउन सक्छ’, नगरप्रमुख विष्टले भने, ‘त्यसका लागि भीमदत्त नगरपालिका भीमदत्त नगरपालिका सदा प्रतिबद्ध छ, यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्ने नै लक्ष्य हो ।’

केही दिन अघि मझगाउँ आएको नागरिक उड्डयन प्राधिकरणको टोलीले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारको साझेदारीको अनौपचारिक प्रस्ताव राखेको थियो । त्यसमा नगरप्रमुख विष्टले सञ्चालन मोडालिटीअनुसार छलफल गरी स्थानीय सरकार सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । ‘अहिले कस्तो मोडालिटीमा विमानस्थल सञ्चालन गर्ने हो, त्यसमा पनि छलफल गरौ, खर्चका लागि सबै स्थानीय तह बसेर अघि बढौँला’ उनले भनेका थिए । प्राधिकरणले आगामी फागुनदेखि विमानस्थलमा रनवे, टर्मिनल भवनलगायतका संरचना बनाउने तयारी अघि सारेको छ । त्यसका लागि प्राधिकरणलाई ३४ करोड चाहिने भएको छ  ।

बजेट जुटाउन प्राधिकरणले स्थानीय सरकारको साझेदारी खोजेको हो । प्राधिकरणको प्रस्तावअनुसार भीमदत्त नगरपालिका र माहाकाली नगरपालिकाले शुक्रबार साझेदारीको निर्णय गरेका हुन् । महाकाली नगरपालिकाले १० प्रतिशत खर्च साझेदारी गर्ने निर्णय गरेको छ । भीमदत्त नगरपालिका १६ स्थित विमानस्थल २०५४ देखि बन्द छ । तीन वर्षअघि निर्वाचनमा सत्तारुढ नेकपाका तीन तहका जनप्रतिनिधिले विमानस्थल सञ्चालन चुनावी एजेण्डा बनाएका थिए । चुनावी एजेण्डाअनुसार कञ्चनपुर क्षेत्र नं. ३ का सांसद दिपकप्रकाश भट्टले गत वर्ष विमानस्थल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गराएका थिए । त्यसका आधारमा यस वर्ष विमानस्थल सञ्चालनका लागि पूर्वाधार निर्माण कार्य अघि बढ्न लागेको हो ।

संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्भावयता अध्ययन गराएपछि गत वर्ष नै विमानस्थलमा तारबार गरी संरक्षण गरिएको थियो । कञ्चनपुर क्षेत्र नं. ३ का सांसद भट्टसहित सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनार र भीमदत्त नगरपालिकाका नगरप्रमुख विष्टले तारबारमा साझेदारी गरेका थिए । प्राधिकरणले गराएको सम्भाव्यता अध्ययनअनुसार विमानस्थल सञ्चालनका लागि ६४ करोड बजेट अनुमान गरिएको छ । भीमदत्त नगरपालिकाले विमानस्थलको पश्चिमतिरको सडक समेत कालोपत्रे गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया