Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहामारीमा पनि उद्योग क्षेत्रमा लगानीकर्ताको आकर्षण

महामारीमा पनि उद्योग क्षेत्रमा लगानीकर्ताको आकर्षण


काठमाडौं ।
कोभिडको समयमा पनि स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालको उद्योग क्षेत्रमा आकर्षित भएका छन् । उद्योग विभागका अनुसार स्वदेशी लगानीकर्ताहरु सहजै तथा विदेशी लगानीकर्ताहरुले भिजिट तथा व्यावसायिक भिसामा नेपाल आएर वा प्रतिनिधि पठाएर लगानी प्रतिबद्धता जनाएका हुन् ।

विभागका प्रवक्ता विनोद कुमार खड्काले स्वदेशी उद्योगी तथा विदेशी उद्योगीहरु आएकै कारण समीक्षा अवधिमा लगानी रकममा वृद्धि भएको बताए । समीक्षा अवधिमा लगानी प्रतिबद्धता बढ्नुमा अप्ठ्यारो परिस्थितिका बाबजुद पनि स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालको उद्योग क्षेत्रमा लगानी गर्न चाहन्छन् भन्ने बुझ्न सकिने विभागले बताएको छ ।

विभागका अनुसार समीक्षा अवधि अर्थात् चालू आर्थिक वर्ष (२०७७/०७८) को पछिल्लो तीन महिना (साउनदेखि असोज)को अवधिमा गत आव (२०७६/०७७)को सोही अवधिको तुलनामा नेपालको उद्योग क्षेत्रमा गरिने लगानी स्वीकृतमा १० अर्ब १२ करोड ९७ लाख रुपैयाँले लगानी बढी आएको हो ।

चालू आवको तीन महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत मुलुकको उद्योग क्षेत्रमा ६२ अर्ब ३७ करोड १८ लाख लगानी प्रतिबद्धता आएको छ । सो लगानी प्रतिबद्धता कुल ५९ वटा उद्योग स्थापना गर्नको लागि आएको हो । गत आवको सोही समयमा स्वदेशी र विदेशी लगानीकर्तामार्फत उद्योग क्षेत्रमा ५२ अर्ब २४ करोड २१ लाख लगानी प्रतिबद्धता आएको थियो । कुल ८३ वटा उद्योग स्थापना गर्नको लागि सो लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

लगानीकर्ताहरुले चालू आवको तीन महिनाको अवधिमा सबैभन्दा बढी ऊर्जाजन्य र सबैभन्दा कम सूचना तथा सञ्चार प्रविधिजन्य लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऊर्जा उद्योगमा ५१ अर्ब २४ करोड ६५ लाख लगानी प्रतिबद्धता जनाउँदा सबैभन्दा कम कृषि तथा वन पैदावरजन्यमा ५५ करोड लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऊर्जामा ११ वटा तथा सूचना तथा सञ्चार प्रविधिमा तीन वटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी प्रतिबद्धता जनाएका हुन् ।

त्यसैगरी लगानीकर्ताहरुले उत्पादनमा तीन अर्ब नौ करोड ४५ लाख, पर्यटनमा दुई अर्ब ९० करोड ३२ लाख, सेवामा दुई अर्ब ५३ करोड, कृषि तथा वन पैदावरजन्यमा दुई अर्ब चार करोड ७५ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले उत्पादनजन्य ११ वटा, पर्यटनजन्य १३ वटा, सेवाजन्य १५ वटा र कृषि तथा वनपैदावारजन्य छ वटा उद्योग स्थापना गर्ने बताएका हुन् ।

उद्योग स्थापना गर्ने प्रतिबद्धतासँगै लगानीकर्ताहरुले कृषिमा सात सय ३६ जना, ऊर्जामा पाँच सय तीन जना, सूचना प्रविधिमा एक सय २८ जना, उत्पादनमा आठ सय ५१ जना्, सेवामा आठ सय ५० जना र पर्यटनमा पाँच सय ३२ जना गरी कुल तीन हजार छ सय जनालाई रोजगारी दिने समेत विभागलाई जानकारी गराएका छन् ।

त्यसैगरी विभागका अनुसार गत आवको सोही समय अर्थात् तीन महिनाको अवधिमा सबैभन्दा बढी ऊर्जामा र सबैभन्दा कम सूचना तथा सञ्चार प्रविधिजन्य उद्योगमा लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले ऊर्जामा ३५ अर्ब २६ करोड ४५ लाख तथा सूचना तथा सञ्चार प्रविधिमा २५ करोड ५० लाख लगानी प्रतिबद्धता जनाएका थिए । यस्तै लगानीकर्ताहरुले कृषि तथा वनजन्यमा ३३ करोड १४ लाख, उत्पादनमा नौ अर्ब दुई करोड ८९ लाख, सेवामा एक अर्ब ८१ करोड ५० लाख र पर्यटनमा पाँच अर्ब ५४ करोड ७२ लाख लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले ८३ वटा उद्योेग स्थापना तथा पाँच हजार एक सय १३ जनालाई रोजगारी दिने प्रतिबद्धतासहित लगानीकर्ताहरुले सो लगानी प्रतिबद्धता जनाएका थिए ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतमा राखेका छन् । ऊर्जा क्षेत्रमा दिनप्रतिदिन लगानी वृद्धि हुँदै गएको विभागले जानकारी दिएको छ । नेपालमा ऊर्जा क्षेत्रको विकासका आधारहरु प्रशस्त रहेको हुँदा उनीहरु आकर्षित हुनपुगेका हुन् । स्वदेशीका साथै नेपालको उद्योग क्षेत्रमा लगानी गर्न ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरु आउने गरेको पाइन्छ ।

नेपाली व्यवसायीसहित उद्योगमा लगानी गर्ने भन्दै रकम स्वीकृत गराउने मुलुकहरुमा भने छिमेकी मुलुक भारत र चीन रहेका छन् भने त्यसपछि क्रमशः अमेरिका, दक्षिण कोरिया, ब्रिटिश भर्जिन आइसल्याण्ड, सिंगापुरलगायतका मुलुक रहेका छन् । विशेषगरी नेपालको ऊर्जा, सिमेन्ट, सेवालगायतका उद्योगमा विदेशी लगानीकर्ताहरुले लगानीको लागि चासो दिएको पाइन्छ भने स्वदेशी लगानीकर्ताहरुले ऊर्जा, सिमेन्टका साथै पर्यटन, कृषि, सूचना प्रविधि, हस्तकलालगायतका उद्योगीहरुमा लगानी गरेको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया