Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछठपछि प्रदेश प्रहरी भर्ना गरिने

छठपछि प्रदेश प्रहरी भर्ना गरिने


जनकपुरधाम ।
प्रदेश नं. २ सरकारले छठपछि आफ्नै प्रहरी भर्ना गर्ने भएको छ । प्रदेश नं. २ मा आफ्नो प्रहरी नभएको कारणले अपराध अनुसन्धानमा प्रदेश सरकारको पहुँच नपुगेको भन्दै प्रदेश सरकारले आफ्नै प्रहरी निर्माणको लागि गृहकार्य थालेको हो । प्रदेश नम्बर दुई सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले छठपछि प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । प्रदेश प्रहरी ऐन पारित भएको झण्डै डेढ वर्षपछि प्रदेश सरकारले प्रहरी भर्ना लिने तयारी सुरु गरेको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रक्रिया चाँडै नै सुरु गर्ने बताए । मन्त्रिपरिषद् बैठकमा आफूले प्रहरी भर्नासम्बन्धी ठाडो प्रस्ताव लगेको र छठपछि प्रहरी भर्ना लिने प्रक्रिया सुरु हुने मन्त्री यादवले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्नेछ । उनले भने, ‘मन्त्रालयको सैद्धान्तिक सहमतिपछि मन्त्रिपरिषद् बैठकमा प्रहरी भर्नाका लागि ठाडो प्रस्ताव लगेको थिएँ, छठपछि प्रक्रिया सुरु हुनेछ ।’

यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने निर्णय पनि गरेको छ । यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरूको सरुवा तथा काजसम्बन्धी कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको हो । त्यस्तै प्रदेश विपत् व्यवस्थापनसम्बन्धी प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया