आतंकवाद पीडितलाई साढे ३३ करोड डलर दिए सुडानलाई अमेरिकाले आतंकवाद सूचीबाट हटाउने
कायरो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद पीडितहरू र उनीहरूका परिवारलाई ३३ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरेमा सुडानलाई आतंकवाद प्रायोजक राष्ट्रहरूको सूचीबाट हटाइने बताएका छन् । तर सुडानी आक्रमणमा घाइते भएकाहरुमध्ये केहीले राष्ट्रपति ट्रम्पको शर्त स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन् ।
यो कदमले अफ्रिकी मुलुक सुडानका लागि अन्तर्राष्ट्रिय ऋण र सहायता लिन बाटो खुल्नेछ जसबाट पहिल्यै संकटग्रस्त सुडानी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन र देशको लोकतन्त्रलाई सही मार्गमा ल्याउन ढोका खोल्नेछ । अमेरिकी राष्ट्रपति पदको चुनाव हुनु दुई हप्ता अगाडि उक्त घोषणा गरिएको छ । ट्रम्प प्रशासनले सुडान समेत अन्य अरब देशहरूलाई इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्न सहजीकरण समेत गरिरहेको छ ।
सुडान र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्न सुडानलाई आतंकवाद प्रायोजकको कालोसूचीबाट हटाउने अमेरिकी प्रस्ताव सुडानका लागि महत्वपूर्ण अवसर पनि हुनेछ । अमेरिकी अर्थ मन्त्री स्टिफेन मुन्चिनले बहराइनको भ्रमण गरेलगत्तै राष्ट्रपति ट्रम्पले सुडानका बारेमा नयाँ प्रस्ताव घोषणा गरेका हुन् । ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘खुशीको समाचार । सुडानको नयाँ सरकारले आतंकवाद पीडित र उनीहरुका परिवारलाई ३३ करोड ५० लाख डलर तिर्न सुडान राजी भएको छ । यो रकम अमेरिकी खातामा आएसँगै हामी सुडानलाई आतंकवाद राज्य प्रायोजकको सूचीबाट हटाउने छु ।’
सुडानले केन्या र तान्जानीयास्थित अमेरिकी दूतावासहरुमा सन् १९९८ मा भएका बम आक्रमणबाट पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाइसकेको छ । ओसामा बिन लादेन सुडानमा रहेकै बेला अल–कायदा नेटवर्कले यी दुई दूतावासमा आक्रमण गरेको थियो । सुडानका सत्तारूढ सार्वभौम काउन्सिलका प्रमुख जनरल अब्देल–फर्राह बुरहानले ट्रम्पको घोषणालाई ‘रचनात्मक कदम’ को रूपमा स्वागत गरेका छन् ।
गत वर्ष भएको जनविद्रोह पछि सेनाले अप्रिल २०१२ मा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरेको थियो । र अहिले सुडान प्रजातन्त्रको नाजूक मोडबाट अघि बढिरहेको छ । एक सैन्य–नागरिक सरकारले सन् २०२२ को अन्तमा चुनाव गराउने गरी जिम्मेवारी लिएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकले सूचीबाट बाहिर निस्कँदा वैदेशिक ऋण मोचनबाट फाइदा लिन र वैदेशिक ऋण एवं लगानी सुडानमा भित्रिने विश्वास व्यक्त गरे । उनले भने, ‘सुडान सरकार समक्ष ६० अर्ब डलरभन्दा बढी वैदेशिक ऋण छ ।’
आतंकवादीको कालोसूचीमा रहेका राष्ट्रहरुमा सुडान बाहेक इरान, उत्तर कोरिया र सिरिया रहेका छन् । सन् १९९८ को बम हमलाका ७०० पीडितमध्ये ५०० जना भन्दा बढीले प्रस्तावित क्षतिपूर्तिको कार्यपद्धतिमाथि असन्तोष प्रकट गरेका छन् । उनीहरुले क्षतिपूर्ति बापतको रकम दिँदा बढी मात्रामा अमेरिकी नागरिकलाई दिइने व्यवस्था न्यायोचित नभएको उनीहरुको भनाइ छ । बम हमलामा अमेरिकी दूतावासमा कार्यरत अफ्रिकी मूलका नागरिक पनि पीडित भएका थिए । (रासस–एपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया