Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामान्यबाट कर्मचारी ल्याई वाणिज्यले चाडबाडमा बजार अनुगमन तीव्र पार्ने

सामान्यबाट कर्मचारी ल्याई वाणिज्यले चाडबाडमा बजार अनुगमन तीव्र पार्ने


काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आसन्न चाडबाडको समयमा खाद्य पदार्थमा हुनसक्ने मिसावट, मूल्यवृद्धि र कृत्रिम अभावजस्ता क्रियाकलापलाई निरुत्साहित गर्न बजार अनुगमनलाई तीव्र पार्ने बताएको छ । मन्त्रालयले चाडबाडमा हुनसक्ने कालोबजारी रोक्नको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कार्यरत कर्मचारी अपुग हुने भन्दै आवश्यक कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ल्याउने जानकारी दिएको हो ।

मन्त्रालयकी प्रवक्ता उर्मिला केसीले बजार अनुगमनका लागि विभागमा कार्यरत कर्मचारी पर्याप्त नभएको हुँदा सामान्यबाट आवश्यक कर्मचारी काजमा ल्याई अनुगमनमा खटाइएको बताइन् । मन्त्रालयले कोभिडको संक्रमणबाट उद्योग मन्त्रालय र विभागका कर्मचारीहरू गरी २७ जना प्रभावित हुन पुग्दा अनुगमनका लागि कर्मचारी अभाव हुन पुग्दा सामान्यबाट आवश्यक जनशक्ति ल्याएको हो । अनुगमनका लागि आवश्यक सुरक्षाकर्मीका लागि गृह मन्त्रालय र अन्तर्गतका निकायहरूबाट सहयोग हुनुपर्ने मन्त्रालय अधिकारीहरुले बताउँदै केही महिनाअघि विभागमा रहने गरेको प्रहरीको डेडिकेटेड टिम हटाइएको र अर्को टिम नपठाइएकाले बजार अनुगमनमा समस्या भएको बताइएको छ ।

यस्तै काठमाडौंमा मात्र नभई बजार अनुगमन प्रदेश र स्थानीय तहमा समेत गरिने भएको छ । ‘प्रदेश र स्थानीय तहमा अनुगमनलाई प्रभावकारी बनाउन समन्वय गरिएको छ’, प्रवक्ता केसीले भनिन्, ‘सबै स्थानीय प्रशासनमा तोकिएका निरीक्षण अधिकृतले उपभोक्ता संरक्षण ऐन र नियमबमोजिम अनुगमन र कारबाहीको अधिकार प्रयोग गरेका छन् ।’ काठमाडौं उपत्यकाबाहिरको हकमा भने वाणिज्य कार्यालय भएका जिल्लाहरूमा सो कार्यालय एवं स्थानीय प्रशासनबाट र अन्य स्थानमा स्थानीय प्रशासनबाट नियमित अनुगमन हुने गरेको छ ।

यस्तै मन्त्रालयले यस्तो अनुगमनलाई चाडबाडको समयमा मात्र सीमित नगरी वर्षैभरि निरन्तरता दिइएको बताउँदै विभागले हालै केही म्याद नाघेका केही खाद्यवस्तुको रि–लेबलिड गरी पुनः बजारमा बिक्रीवितरणका लागि पठाउने गरेका केही व्यापारिक फर्महरुलाई कारबाहीको दायरामा ल्याइएको तथा यस्तो कार्यको प्रभावकारी अनुगमन गरिएको जनाएको छ ।

मन्त्रालयले अनुगमनका साथै सम्बद्ध निकायलाई अर्थात् खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास सहुलियत मूल्य पसल सञ्चालनको लागि समेत निर्देशन दिएको छ । बजार मूल्यलाई निश्चित सीमाभित्र राख्न र आम जनतालाई आसन्न चाडपर्वहरूमा सहुलियत मूल्यमा खाद्यान्न, नुन, चिनी एवं दुग्ध पदार्थहरू उपलब्ध गराउन असोज १५ गतेदेखि आगामी मंसीर ६ गतेसम्मका लागि खाद्य, साल्ट र दुग्ध विकास संस्थानको सहभागितामा ७७ स्थानमा सहुलियत पसल सञ्चालन गरिएको छ । यसले एकातिर चाडबाडका समयमा ती वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढ्न नदिन सन्दर्भ मूल्य प्रदान गर्दछ भने अर्काेतिर आम उपभोक्ताले सहुलियत दरमा खाद्यान्नलगायतका वस्तुहरू प्राप्त गर्नसक्ने अवसर प्रदान गरेको छ ।

उक्त पसलहरूमा चिनी प्रतिकिलोग्राम ७० रुपैयाँमा बिक्री भइरहेको छ । विगतमा खाद्य, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका उत्पादन र वस्तुहरू आ–आफ्नो बिक्री कक्षबाट मात्र बिक्रीवितरण हुँदै आएकोमा हाल एक अर्काका उत्पादन (दुग्ध विकास संस्थानको हकमा घ्यू) सबै बिक्री कक्षबाट समेत बिक्री हुने व्यवस्था मिलाइएको छ ।

यस्तै मन्त्रालयका अनुसार चाडबाडमा नुन र चिनीको समस्या हुनेछैन । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक लाख ४५ हजार मेट्रिक टन नुन मौज्दात छ, जुन नौदेखि १० महिनाको माग धान्न पर्याप्त हुने बताइएको छ भने आर्थिक वर्ष २०७६/०७७ मा चिनीको उत्पादन कम भएको र आयात पनि नभएकाले केही महिनाअगाडि चिनीको उपलब्धतामा केही समस्या आउने देखिएकोमा हाल सो समस्याको समाधान भएको तथा सरकारको निर्णयअनुसार साल्ट ट्रेडिङले २० हजार मेट्रिक टन र खाद्यले १० हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रिया सुरु गरेका छन्, जसमध्ये असोज अन्तिम सातादेखि साल्ट ट्रेडिङले आयात गरेको चिनी उपलब्ध हुन थाल्नेछ । यसैगरी निजी क्षेत्रले समेत केही परिमाणमा चिनी आयात गरी बिक्री वितरण गर्न थालेकाले हाल बजारमा चिनीको अभाव नहुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले खाद्यान्न आपूर्तिको स्थिति सामान्य रहेको बताएको छ । मन्त्रालयका अनुसार हाल मुलुकमा एक लाख १६ मेट्रिक टन चामल मौज्दात रहेकोमा खाद्यसँग १४ हजार मेट्रिक टन र निजी क्षेत्रसँग एक लाख दुई हजार मेट्रिक टन चामल रहेको बताएको छ । धान काट्ने समय सुरु भएको र केही खाद्यान्न आयात पनि भइरहेकोले खाद्यान्नमा समस्या नहुने बताएको छ । यस्तै असोज महिनमा प्रतिदिन औसत पाँच हजार सात सय मेट्रिक टन खाद्यान्न आयात गरिएको छ भने खाद्यान्नको अलावा सोही समयमा दाल तथा गेडागुडी प्रतिदिन सात सय मेट्रिक टन आयात गरिएको छ ।

इन्धनको समस्या नहुने : मन्त्रालयले चाडबाडमा इन्धनको समस्या नहुने बताएको छ । मन्त्रालयका अनुसार हाल पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुँदा आयातले निरन्तरता पाएको बताइएको छ । नेपाली बाजरमा भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म निर्माण गरी सञ्चालनमा ल्याइएको पेट्रोलियम पाइपलाइनबाट डिजेलको निर्बाध आपूर्ति भइरहेकाले डिजेलको आपूर्ति र मूल्य दुवैमा सकारात्मक प्रभाव परेको बताइएको छ । गत वर्ष एक सय रुपैयाँ प्रतिलिटरको हाराहारीमा रहेको डिजेलको मूल्य हाल प्रतिलिटर ९० रुपैयाँको हाराहारीमा छ । गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

यस्तै मन्त्रालयका अनुसार नेपालले भारतको इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने र उसले प्रत्येक १५ दिनमा मूल्यसूची अद्यावधिक गर्ने भएकाले आगामी १५ दिनसम्म मूल्यमा वृद्धि हुने अवस्था नरहेको बताएको छ । गत वर्ष ९० रुपैयाँ रहेको आन्तरिक हवाइ इन्धनको मूल्य हाल ६५ रुपैयाँ छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य गत वर्ष प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार ५० रहेकोमा हाल अमेरिकी डलर आठ सय ६८ रहेको छ । कोभिडका कारण चैत/वैशाख महिनामा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा भारी गिरावट आई प्रतिब्यारेल १५ अमेरिकी डलर (करिब साढे १७ सय रुपैयाँ)सम्म पुगेको कच्चा तेलको मूल्य हाल ४५ अमेरिकी डलर (करिब ५२ सय) को हाराहारीमा पुगेको छ ।

यस्तै खाना पकाउने ग्यासको मूल्य र आपूर्ति स्थिर रहेको छ । नेपालमा मासिक ४० हजार मेट्रिक टन ग्यासको खपत हुने गरेकोमा हाल ४० हजार मेट्रिक टनभन्दा केही बढी नै आयात भइरहेको मन्त्रालयले जानकारी दिएको छ । चाडबाडको समय र जाडोयाममा ग्यासको खपत बढ्ने भए पनि इण्डियन आयल कर्पोरेसनसँग मासिक ४५ हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन अनुरोध गरिएकाले समस्या पर्ने देखिँदैन । यसका साथै विद्युत् आपूर्तिमा सुधार भएका कारण पनि खाना पकाउने ग्यासको अभाव हुने स्थिति नभएको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया