Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वदेशी उद्योगीद्वारा ऊर्जामा ५१ अर्ब लगानी, एफडीआई शून्य

स्वदेशी उद्योगीद्वारा ऊर्जामा ५१ अर्ब लगानी, एफडीआई शून्य


काठमाडौं ।
पछिल्ला वर्षहरुमा स्वदेशी उद्योगीहरु ऊर्जाजन्य उद्योगमा लगानी गर्न आकर्षित भएका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको शनिबार (साउनदेखि) सम्ममा स्वदेशी उद्योगीहरुले मुलुकको ऊर्जाजन्य (हाइड्रो) उद्योगमा ५१ अर्ब २४ करोड ६५ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

विभागका प्रवक्ता विनोद कुमार खड्काले उनीहरुले उक्त लगानी प्रतिबद्धता १० वटा हाइड्रो तथा एउटा सौर्य ऊर्जा गरी ११ वटा ऊर्जाजन्य उद्योगको लागि गरेको बताए । मुलुकका म्याग्दी, लमजुङ, दोलखालगायत आठवटा जिल्लामा स्थापना गरिने ती उद्योगमार्फत पाँच सय तीन जनालाई रोजगारी दिइनेछ । यस्तै उद्योगीहरुले म्याग्दी, दोलखा सोलुखुम्बुमा क्रमशः दुई/दुईवटा र लमजुुङ, कपिलवस्तु, मकवानपुर, कास्कीमा क्रमशः एक/एक वटा हाइड्रो तथा सौर्य ऊर्जा स्थापना गर्ने भएका छन् ।

जसअनुरुप म्याग्दीको धवलागिरि ४ मा उद्योगीहरुले अर्थात् सुश्मित इनर्जी प्रालिले तीन अर्ब ८३ करोड चार लाख लगानीमा २० मेगावाट क्षमताको हाइड्रो स्थापना गर्ने भएको छ भने हाइड्रो भिलेज प्रालिले पनि म्याग्दी धवलागिरी ४ मै १० अर्ब ३१ करोड ७४ लाख लगानीमा ५७ दशमलव ३० मेगावाट क्षमता, हब पावर प्रालिले लमजुुङ, मस्र्याङ्दी ६ र ७ मा दुई अर्ब ५२ करोड लगानीमा १२ दशमलव ६ मेगावाट क्षमताको हाइड्रो स्थापना गर्ने बताएका छन् ।

त्यसैगरी दिपज्योति हाइड्रोपावर प्रालिले दोलखा, बैतेश्वर २ मा ११ करोड ७५ लाख लगानीमा ५५० किलोवटा क्षमता, केबीएनआर इस्वा पावर लिमिटेडले संखुवासभा, मकालु १ मा १३ अर्ब ५७ करोड ११ लाख लगानीमा ९७ दशमलव २ मेगावाट क्षमता, सुपर वाग्मती हाइड्रोपावर प्रालिले मकवानपुर वाग्मती ७ र ९ मा पाँच अर्ब ८७ करोड ९१ लाख लगानीमा ४१ दशमलव ८६ मेगावाट क्षमता, पाथीभर हाइड्रोपावर प्रालिले दोलखा, जिरी १ मा २८ करोड ४६ लाख लगानीमा १ दशमलव १ मेगावाट क्षमताको हाइड्रो स्थापना गर्ने बताएका छन् भने एपेक्स मकालु हाइड्रोपावर प्रालिले सोलुखुम्बु महाकुलुुङमा चार अर्ब सात करोड ९६ लाख लगानीमा २२ मेगावाट क्षमताको हाइड्रो, गौरीशंकर पावर डेभलपमेन्ट प्रालिले सोलुखुम्ब सोताुङ र महाकुलुुङमा चार अर्ब ६९ करोड ५९ लाख लगानीमा २२ दशमलव ९ मेगावाट क्षमताको हाइड्रो, सतिखोला हाइड्रोपावर प्रालिले कास्की पोखरा महानगरपालिका र तनहुँ शुक्लागण्डकीमा पाँच अर्ब ५६ लाख लगानीमा २२ मेगावाट क्षमतको हाइड्रो स्थापना गर्ने बताएका छन् ।

यस्तै पोजेटिभ इनर्जी प्रालिले कपिलवस्तु शिवराज ८ मा ९४ करोड ५० लाख लगानीमा १० मेगावाट क्षमताको सौर्य ऊर्जा स्थापना गर्ने बताएको छ । यसरी उद्योगीहरुले विभिन्न जिल्लामा हाइड्रो स्थापना गर्दा त्यहाँका नागरिकहरु लाभान्वित हुनुको साथै मुलुकमा रोजगारी सिर्जना तथा आर्थिक क्रियाकलापमा समेत वृद्धि हुनेछ ।

विभागका अधिकारीहरुका अनुसार चालू आवको हालसम्म ऊर्जाजन्य उद्योगमा लगानी गर्नका लागि स्वदेशी उद्योगीहरु अग्रसर भए पनि विदेशी उद्योगी तथा लगानीकर्ता अर्थात् प्रत्यक्ष विदेशी लगानी (एफडिआई) चालू आवको शनिबारसम्म नआएको बताए । कोभिडका कारण परिस्थिति सामान्य नहुँदा हाइड्रोमा लगानी गर्ने विदेशी लगानीकर्ताहरु हालसम्म नदेखिए पनि परिस्थिति सामान्य भएपछि भने उनीहरु आउनसक्ने अधिकारीहरु बताउँछन् ।

अघिल्ला वर्षहरुमा भने मुलुकको हाइड्रो क्षेत्रमा स्वदेशीका साथै विदेशी समेत आउने गरेका छन् । गत आर्थिक वर्ष (२०७६/०७७) मा ऊर्जाजन्य उद्योगमा ९९ अर्ब १२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा उक्त लगानी प्रतिबद्धता व्यक्त गर्नेमा स्वदेशी उद्योगीहरुको संख्या बढी थियो । यस्तै हाइड्रोमा मात्र नभई पर्यटनजन्य, उत्पादनजन्य, सूचना तथा प्रविधि, सेवा, कृषि तथा वन पैदावरजन्य उद्योगमा समेत एफडीआई उत्साहजनक रुपमा आउनसकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया