सुस्वास्थ्यको लागि शाकाहारी भोजनको आवश्यकता
डा. माधव अधिकारी
साधारणतया हाम्रो देशमा प्रत्येक असोज शुक्ल प्रतिपदादेखि दशमीसम्मको अवधि दशैँ पर्वको रुपमा मनाउने गर्दछौँ तर यस वर्ष मलमासको कारणले कात्तिक महिनामा परेको छ । दशैँ पर्वको नौ दिनसम्म शक्तिस्वरुपिणी माता दुर्गा भगवतीको पूजा गरिन्छ, विजयादशमीको दिन मान्यजनहरुको हातबाट प्रसाद, टीका र जमरा लगाई परिवारमा सुख, शान्ति र सद्भाव वृद्वि भई व्यक्ति, परिवार, समुदाय, राष्ट्रमा गुणस्तरीय जीवन कायम रहने पूर्ण विश्वास लिएको पाइन्छ ।
यसै अवधिमा दुःखको कुरा पशुपक्षी बलीको जघन्य अपराध प्रचुर मात्रामा देखिन्छ । साथै, अन्य धर्मावलम्बीहरुले पनि पशुबली तथा मांसाहारीको लागि पशुवध गर्ने गर्दछन् । स्वार्थवश विभिन्न बहानामा पशुपक्षी बली दिएको पाइन्छ । मानिस सृष्टिको सर्वश्रेष्ठ प्राणी हो, सो नाताले आफ्नो विवेकद्वारा सबैलाई नियन्त्रणमा राख्न सक्षम छ तर ऊ पशुबलीजस्तो अशोभनीय कार्य गरी पशुपक्षीको जीवन नै मिनेट भरमा लिइरहेको छ । यसो गर्नु महापाप हो ।
हिन्दू धर्ममा पशुपक्षीलाई दैवीशक्ति मानिन्छ । जस्तै ः गाईलाई लक्ष्मीको प्रतीक, लाटोकोसेरो एवं कछुवा लक्ष्मीको वाहन, साँढे शिवजीको, कुकर भैरवको, सिंह दुर्गा भवानीको, राँगो यमराजको र हाँस सरस्वतीको वाहन मानिन्छ । त्यस्तै विष्णुको वराहमत्स्य, कुर्मअवतार, भगवान शिवको मृगरुपधारण, इन्द्रको ऐरावत हात्ती जस्ता प्रसङ्ग उल्लेख भएको पाइन्छ । हामीले पशुलाई आध्यात्मिकरुपमा पनि महत्वपूर्ण ठानेका छौँ ।
उदाहरणको रुपमा किसानको धानखेतको परिपोषक भ्यागुतालाई दूधभात खुवाउँछौँ । पानीको स्रोतको रुपमा नागपूजा, स्वच्छ वातावरण राख्न कागपूजा, कर्तव्य, निष्ठा, स्वाभिमान, इमानदारीका लागि कुकुरपूजा, दूध, गहुँत, गोबर एवं अन्न उत्पादनमा हरतरिकाबाट सहयोग पु-याउने गाईलाई माताकोरुपमा पूजा गरिन्छ भने अन्न बालीको उत्पादनमा सहयोग पु-याउने गोरुलाई गोरुपूजा गरिन्छ ।
शाकाहारी खानामा स्थायी प्रोटिन भई गुणस्तरीय जीवनयापन गर्न मद्दत पु-याउँछ भने मांसाहारी खाना त्यस्तो नभई सो खानालाई रोगको वाहकको रुपमा लिइन्छ । मांसाहारी खानाबाट सामान्यदेखि प्राणघातक रोगहरु लाग्न सक्छ । अतः यस्तो प्रकारको मांसाहारी खाना प्रयोग नगरी पूर्ण सन्तुष्टि एवं शाकाहारी खाना सुस्वास्थ्यको लागि प्रयोग गरी अहिंस्रक रही मुस्कानसहितको गुणस्तरीय जीवन बिताउनुपर्दछ ।
मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै खाना हो । स्वास्थ्य बनाउनको लागि तागत वा शक्ति दिने खानेकुराको त्यतिकै महत्व हुन्छ । सो को लागि शाकाहारी खानाको भूमिका महत्वपूर्ण हुन्छ । जस्तै : सुख्खा रोटी, उसिनेको, हलुवा, ताइचिन र मंसुरी चामललाई स्वस्थ्य खानाको रुपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, सखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ भोजनको रुपमा लिन सकिन्छ ।
शरीरको तामक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलीयो बनाउन, शरीरको मुख्य अंगहरु (मिर्गौला, मुटु, फोक्सो, मस्तिष्क) लाई निरोगी राख्न एवं विभिन्न समस्याहरु निराकरण गर्न यी शाकाहारी खाना नै हुन् । स्वास्थ्य समस्याहरु निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनको लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’, रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्दछ ।
तरकारीको रुपमा प्रयोग गरिने आलुबाट भिटामीन सी प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलीयो बनाउन सहयोग पु-याउँछ । खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्दछ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु-याएको कुरा विभिन्न अध्ययनले जनाएका छन् ।
यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलीयो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांशपेशी कमजोर हुन गई जाँगरसमेत निम्न हुन्छ । थकाई छिटो लाग्छ, जाडो भएको महसुस भई जीउ काँप्छ ।
शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ । अतः शरीरको विकास र दीर्घ जीवनका लागि माथि उल्लिखित प्रोटिनयुक्त शाकाहारी खाना खानुपर्दछ ।
प्रोटिन कपाल, हाड, मांसपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मिर्गौला र कलेजो कोषहरुलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्दछ । छाला, हाड र मांसपेशीका कोषहरु ६–७ महिनासम्म जीवित राख्दछ । प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पु-याउँछ ।
केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्दछ । प्रोटिन र भिटामिन खाएनौँ भने खानामा भएको तत्वहरु सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्वहरु दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ ।
प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरुसित खायौं भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्दछ । त्यसैले विभिन्न किसिमका खानेकुराहरु मिलाएर खानु फाइदाजनक हुन्छ । जस्तै : दालभात, साग, गेडागुडी, दूध, मोही, घिउ फरक–फरक खायौँ भने खानामा भएका पौष्टिक तत्वहरुको सही उपयोग हुँदैन ।
शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन, केटाकेटीहरु ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरुको छाला पनि बुढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो र जिंग्रिङ्ग परेको हुन्छ । कहिलेकाहीँ छालामा दाग पनि देखिन्छ । घाउ भयो वा खटिरा आयो भने निको हुँदैन । घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ ।
अतः प्रोटिनयुक्त खानेकुरामा सबैभन्दा असल स्रोतहरु भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तै : भटमास, मह, सागसब्जी राम्रो स्रोतको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दूध बच्चाको लागि अमृतसरह हुन्छ । यदि आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दोमात्रामा खान्छिन भने त्यस आमाको दूध खाने बच्चा पुष्ट र स्वास्थ्य हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा आमाको दूध प्रशस्त मात्रमा आउँछ ।
हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरु गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन् । जसले रोगका किटाणु र सरुवारोग र कमजोरी हुनबाट बचाउँछ । फर्सी, लौका, घिरौँला, गाजर, बकुला र उमारेको गेडागुडीहरुमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तत्वहरु हुन्छन् साथै सामान्यतया भिटामिन ए शरीरको निम्ति अति आवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ्य छाला, बलीयो दाँत र हाडहरु बनाई राख्नको लागि भिटामिन ए आवश्यक हुन्छ । भिटामिन बिले नशासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन सी ले शरीरका कोषहरु बलीयो बनाउँछ ।
विशेषगरी जोर्नीहरु, मुख र गिजालाई फाइदा पु¥याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मद्दत गर्दछ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्दछ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलीयो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ । हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयष्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन् अतः गाढा हरियो सागपात नखाएर भिटामिन एको कमी हुन्छ । भिटामिन ए आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो रोग हुन्छ ।
यस किसिमको समस्या विशेषगरी केटाकेटीमा पाइन्छ । त्यस्तै आँखा ज्यादै दुख्ने समस्या हुनसक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ ।
भिटामिन ए कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ए भएका फलफूल जस्तै गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि ख्वाउनुपर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर उसले निको नभएसम्म सधैं हरियो सागपात खानुपर्दछ र जीवनभरी हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्तो खानेकुराहरु खानु आवश्यक छ ।
नेपालमा धेरै जसो सुत्केरी आमामा रगतको कमीको रोग हुन्छ । यसकारण उनीहरुले प्रशस्त हरियो सागपातको तरकारी खानु पर्दछ । आमा कमजोर हुनु नै बच्चा कमजोर हुनु हो । बालकहरु र बढ्ने केटाकेटीहरुलाई पनि गाढा हरियो सागपात राम्रो रक्तचापको निम्ति चाहिन्छ । सागपातलाई सफा पानीले राम्रोसँग पखालेर हातले चुन्ने र त्यसलाई पकाउँदा कम मात्रामा चिल्लो पदार्थ र नून, पिरो हाल्नु पर्दछ ।
सागलाई धेरैबेर पकाएमा भिटामिन नष्ट हुन्छ । सागपात काट्दा पनि भिटामिन नष्ट हुन्छ । त्यसैले सकेसम्म होशियारी साथ सागपात खानयोग्य बनाउनु्पर्दछ । हाम्रो शरीर रक्षा गर्ने शाकाहारी खानेकुरा आँप, हलुवावेद, खुर्सानी, सुन्तला, मेवा, गोलभेंडा, सागपातहरुमा कर्कलो, लट्टे साग, खोसे साग, फर्सीको मुन्टा आदि पर्दछन् । यी फलफूल तथा सागसब्जीमा पनि भिटामिन ए प्रशस्त पाइन्छ । यस्तै अम्बा, मेवा, भूईकटहर, अमिलो जातका फलफूलहरु पर्दछन् । काँक्रो र आलुमा पनि भिटामीन सी पाइन्छ । गुणस्तरीय जीवनका लागि शाकाहारी खानाको आवश्यक हुन्छ भने मांसाहारी खाना अति हानिकारक हुन्छ ।
अझ गुर्जाे, तुलसी, आदि अमूल्य जडिबुटी हाम्रो घर आँगनमा भेटिने हुनाले सो को प्रयोगबाट विभिन्न ठूलासाना रोगहरु हटाई स्वस्थ रहन सकिन्छ । आजभोलि यदाकदा पशुबलीलाई प्रशय दिएर मांसाहारी खानामा जोड दिई गुणस्तरीय जीवन अस्वस्थकर बनाई सुस्वास्थ्यको वातावरण विनाश गरेको पाइन्छ । यस सन्दर्भमा मान्छेले आफ्नै अस्तित्वलाई संकटमा पारिरहेको छ । मानिसले बुद्धि र विवेक सन्तुलनमा नराखी हिंसात्मक पशुबली गरेको देखिन्छ । जतिजति पशुबलीलाई प्रशय दिने मान्छेका सम्बन्धमा उसका अविवेकी क्रियाकलाप सोच्दै गयो भने उतिउति यस अनौठो प्राणीको चरित्रले रन्थनाउँछ ।
सृष्टिको सबैभन्दा महत्वपूर्ण प्राणी भएर पनि निहित स्वार्थको पशुबलीमा लागि मानवले आफुले आफुलाई चिन्न सकेन । आफ्नो सहयोगीको महत्व बुझ्न सकेन । कहिले आउला मानिसले पशुबली पूर्ण रोक गरी पशुपक्षी पूजा, सबैको समान बाँच्ने अधिकारको अवस्था अनि स्वच्छ वातावरण र पूर्ण शाकाहारी खाना गुणस्तर जीवन । आशा छ विजयादशमी र शुभ दीपावली साथै अन्य धर्मावलम्बीहरुले पनि पशुबली र मांसाहारी खाना त्यागी शाकाहारी खाना प्रयोग गरी अहिंस्रक रही मुस्कानसहितको सुस्वास्थ्य तथा गुणस्तरीय जीवन बनाई नैतिकवान् बन्ने प्रेरणा प्रदान गरोस् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया