Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई सातामा ५७ अर्बको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

दुई सातामा ५७ अर्बको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार पुुनः एक अर्ब ६६ करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही कात्तिक ६ गते पनि राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
जारी मिति यही कात्तिक १८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ माघ १० गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ कात्तिक १६ गते तोकिएको छ ।

यसअघि यही कात्तिक ६ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि सरकारको लागि दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोमध्ये चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधि अर्थात् यही कात्तिक मसान्तसम्ममा ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ ।

‘चालू आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिकाअनुसार चालू आवको दोस्रो चौमासिक अवधिमा ५६ अर्ब र तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण निष्काशन गरिन्छ’, प्रवक्ता डा. भट्टले भने, ‘चालू आवको प्रथम चौमासिकको लागि छु्ट्याइएको कुुल आन्तरिक ऋण तालिकाअन्तर्गत भने सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र रहेको छ ।

यसैगरी दोस्रो त्रैमासिकको लागि छुुट्याइएको आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।

चालू आवको तेस्रो चौमासिक अवधिमा निष्काशन गरिने कुुल आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने ४९ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया