Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुम्ला विमानस्थल पुनः कालोपत्र

हुम्ला विमानस्थल पुनः कालोपत्र


हुम्ला ।
हुम्लाको सिमीकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी छ । छ सय ५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको सिमीकोट विमानस्थलमा झण्डै एक महिनादेखि काम जारी छ ।

एप्रोन तथा पार्किङ १०० मिटर, हेलिप्याड ४० मिटर रहेको छ भने यी सबै क्षेत्रको कालोपत्र गरिने भएको हो । विमानस्थलको रनवे, एप्रोन अर्थात् जहाज पार्किङ, हेलिप्याडलगायतका सबै क्षेत्रमा कालोपत्र गरिने भएको छ । रनवेको करिब ४ सय मिटर भागमा कालोपत्र कार्य सकिएको र बाँकी रहेको भाग १५ दिनभित्र गरिसक्ने विमानस्थलका इञ्जिनियर अजयकुमार गुप्ताले जानकारी दिए । इञ्जिनियर गुप्ताले भने, ‘विमानस्थलको रनवे क्षेत्रको भागमा कालोपत्र गर्ने कार्य सकिएपछि हेलिप्याड, एप्रोन तथा पार्किङ भागमा पनि गरिने भएको छ ।’ विमानस्थललाई यसभन्दा पहिला नै कालोपत्र गरेको भए पनि रनवे केही भागमा कालोपत्र उप्किएका कारण पुनः दुई इञ्चको कालोपत्र गरिएको हो ।

प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म हवाइजहाज उडान भर्ने भएका कारण १० देखि बेलुका ६ बजेसम्म कामदारले कालोपत्र गर्ने काम धमाधम गरिरहेको उनले बताए । निर्धारित समयमा विमानस्थलको पिचिङ कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आवश्यक सामग्री तयारी अवस्थामा पारेपछि कामले गति लिएको हो । अलकत्राको काम गर्नका लागि तराईबाट कामदार ल्याएर विमानस्थलको पिचिङ गर्ने कार्य धमाधम भइरहेको निर्माण कम्पनी क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि विजय लामाले बताए । कामले दशैँ अवधिमा पनि निरन्तरता पाएको थियो ।

यसअघि नेपालगञ्जबाट हवाइजहाजमा अलकत्राका लागि आवश्यक सामग्री ढुवानी गरेर ल्याइएको र अन्य सामान स्थानीयरूपमै तयार गरिएको थियो । विमानस्थलकै एक छेउमा अलकत्रा बनाउने कार्य पनि बिहानैबाट हुने गरेको छ । विमानस्थल कालोपत्रका लागि नौ करोड ९७ लाख रुपैयाँबराबरको लगानीमा निर्माण भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया