Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा सबैभन्दा बढी चिनियाँ र बेलायती कामदार

नेपालमा सबैभन्दा बढी चिनियाँ र बेलायती कामदार


काठमाडौं ।
नेपालमा काम गर्न आउने विदेशी कामदारहरुमध्ये सबैभन्दा बढी चिनियाँ र बेलायती कामदार रहेका छन् । नेपालमा हालसम्म काम गर्न आउने चिनियाँ कामदारको संख्या चार हजार पाँच सय ५६ जना तथा बेलायतको एक सय २१ जना नागरिक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार तीन वर्ष (२०७४ देखि २०७७) को अवधिमा नयाँ अर्थात् नयाँ श्रम स्वीकृति लिएका र पुराना अर्थात् श्रम स्वीकृति नवीकरण गरी सो संख्यामा चिनियाँ र बेलायती कामदारहरु नेपालमा कार्यरत छन् ।

एक हजार तीन सय ४४ जना पुरुष र एक सय आठ जना महिला गरी कुल एक हजार चार सय ५२ जनाले श्रम स्वीकृति नवीकरण गरेका छन् भने दुई हजार नौ सय २६ जना पुरुष र एक सय ७८ जना महिला गरी कुल तीन हजार एक सय चार जना चिनियाँ नागरिकले नयाँ श्रम स्वीकृति लिँदा उक्त संख्यामा चिनियाँ कामदारहरु कामका लागि नेपालमा रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ ।

त्यसैगरी ९९ जना पुरुष र एक सय आठ जना महिला गरी कुल दुई सय सात जना बेलायती नागरिकले श्रम स्वीकृति नवीकरण गरेका छन् भने ६८ जना पुरुष र ५३ जना महिला गरी कुल एक सय २१ जना बेलायती कामदारले नयाँ श्रम स्वीकृति लिँदा उक्त संख्यामा बेलायती कामदारहरु कामका लागि नेपालमा रहेका हुन् ।

विभागका प्रवक्ता मणिनाथ गोपले चिनियाँ लगानीको अयोजनाहरुको समेत वृद्धि हुँदा उनीहरुको संख्या धेरै हुनपुगेको बताए । ‘नेपालमा काम गर्नका लागि दक्ष विदेशी कामदारहरु मात्र आउन पाउने सरकारी व्यवस्थाअनुरुप चीन, बेलायत, अमेरिका, जर्मनी, जापान जुनसुकै मुलुकबाट विदेशी नागरिक काम गर्न यहाँ आए पनि दक्ष हुनु अनिवार्य छ’, प्रवक्ता गोपले भने, ‘त्यसैले गर्दा यहाँ काम गर्न आउने विदेशी दक्ष प्राविधिक, चिकित्सक, इन्जिनियरलगायतका व्यक्ति छन् ।’

चीन, पाकिस्तान, बेलायत, जापान मात्र नभई करिब ८० भन्दा बढी मुलुकका विदेशी कामदारहरु नेपालमा रहेको बताउँदै उनले सोही अवधिमा नयाँ र पुराना गरी अमेरिकन कामदार मात्र एक सय ११ जना यहाँ कार्यरत रहेको जानकारी दिए । ४८ जना पुरुष र ४४ जना महिला गरी कुल ९२ जना अमेरिकन नागरिकले श्रम स्वीकृति नवीकरण गरेका छन् भने ७४ जना पुरुष र ३७ जना महिला गरी कुल एक सय ११ जना अमेरिकन नागरिकले यहाँ काम गर्नका लागि नयाँ श्रम स्वीकृति लिएका छन् ।

सोहि क्रममा दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकहरुका नागरिक समेत नेपालमा काम गर्न आउने गरेको विभागले जनाएको छ । सार्क मुलुकहरुमध्ये नयाँ तथा पुराना गरी भारतका ८३ जना, पकिस्तानका ११ जना, श्रीलकांका २२ जना, म्यान्मारका सात जना नागरिकहरु नेपालमा काम गर्न आएका छन् ।

विदेशी नागरिकलाई नेपालमा काम गर्न आउँदा श्रम स्वीकृति अनिवार्य गरिएको छ भने श्रम स्वीकृतिकै आधारमा उनीहरुलाई भिसा समेत दिने गरेको पाइन्छ । सामान्यतया एक पटक नेपाल प्रवेश गरेपछि उनीहरु सात वर्षको अवधिसम्म नेपालमा काम गरेर बस्न पाउँछन् । विभागका अनुसार पटक–पटक गरी पाँच वर्षको अवधिसम्म श्रम स्वीकृति प्राप्त गरे पनि थप दुई वर्षको लागि भने उनीहरुले कूटनीतिक पहल गर्नुपर्ने हुन्छ भने विदेशी कामदारहरुलाई नेपालमा आवश्यकताअनुरुप सरोकारवाला संघ÷संस्थाले कामका लागि यहाँ ल्याउने गरेको पाइन्छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया