Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपब्लिक कम्पनीमा महिला सञ्चालक कार्यान्वयन गर्दै कम्पनी रजिष्ट्रार

पब्लिक कम्पनीमा महिला सञ्चालक कार्यान्वयन गर्दै कम्पनी रजिष्ट्रार


काठमाडौं ।
कम्पनी रजिष्ट्रारको कार्यालयले पब्लिक कम्पनीमा महिला सञ्चालक कार्यान्वयनलाई तीव्रता दिएको छ । सरकारले प्रत्येक पब्लिक कम्पनीमा कम्तीमा एक जना महिला सञ्चालक (बोर्ड सदस्य तथा निर्देशक) हुनुपर्ने बताए पनि त्यसलाई उनीहरुले बेवास्ता गर्दै आएकोमा कार्यालयले अनिवार्य गर्दै अघि बढेको छ । कार्यालयका अनुसार हाल मुुलुकमा १६ सय २१ वटा पब्लिक कम्पनी रहेका छन् । तिनीहरुमा कम्तीमा एक जना महिला सञ्चालक रहेमा १६ सय २१ जना महिला कम्पनीमा सहभागिता देखिनेछ । यसरी कम्पनीमा महिलाको सहभागिता देखिनु खुसीको विषय हुने कार्यालयका रजिष्ट्रार प्रदिपराज अधिकारीले बताए ।

यस्तै उनले पब्लिक कम्पनी जति पनि छन्, तिनीहरुलाई महिला सञ्चालक (निर्देशक) राख्न निर्देशन दिएको बताए । ‘नयाँ तथा पुराना जति पनि कार्यालयमा दर्ता भएका पब्लिक कम्पनीहरुलाई कानुनमा व्यवस्था भएबमोजिम निर्देशन दिएका हौँ’, उनले भने, ‘जसले गर्दा अहिले उक्त कम्पनीहरुमा महिला निर्देशक नियुक्तिको संख्या वृद्धि भइरहेको छ । नियुक्ति प्रक्रिया ढिलो भएको छैन, बरु कार्यान्वयनलाई तीव्रता दिएका छौँ ।’

कम्पनी ऐन, २०६३ ले पब्लिक, प्राइभेट कम्पनीहरुमा रहने सञ्चालक समितिको बारेमा स्पष्ट व्याख्या गरेको पाइन्छ, जसअनुसार पब्लिक कम्पनीको हकमा भने प्रत्येक पब्लिक कम्पनीमा कम्तीमा तीन जना र बढीमा ११ जनासम्म सञ्चालक भएको सञ्चालक समिति रहनेछ । महिला सेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक हुनुपर्ने व्यवस्था गरेको छ ।

पब्लिक कम्पनीमा महिला सञ्चालक हुनको लागि भने सेयरधनीको रुपमा एक जना भए पनि महिला हुनु आवश्यक छ । सेयरधनीको रुपमा एक जना महिला हुनुपर्ने व्यवस्थाले भने कुनै अप्ठ्यारो नहुने कार्यालयका अधिकारीहरुको भनाइ छ । उनीहरुले सेयरधनीको रुपमा एक जना मात्र नभएर ठूलो संख्यामा महिलाहरु हुने हुँदा उक्त व्यवस्थाले अप्ठ्यारो नपर्ने बताए ।

यस्तै रजिष्ट्रार अधिकारीले नयाँ दर्ता गर्न आउने पब्लिक कम्पनीलाई भने सञ्चालक समितिमा महिला भए/नभएको हेर्ने गरेको बताए । ‘सञ्चालक समितिमा महिला भएमा पब्लिक कम्पनी दर्ता गर्ने गरेका छौँ’, उनले भने, ‘यदि सञ्चालक समितिमा महिला नभएको खण्डमा भने नियुक्त गर्न भनी निर्देशन दिएका छौँ । यसरी प्रक्रिया पूरा गरी आउनेको हकमा मात्र पब्लिक कम्पनी दर्ता गर्ने गरेको छ ।’

त्यसैगरी पुरानो पब्लिक कम्पनीमा समेत सञ्चालक समितिमा महिला भए/नभएको विषयमा अनुगमन गर्ने गरेको कार्यालयले जनाएको छ । ‘पुरानो पब्लिक कम्पनीमा उनीहरुको नियुक्तिको लागि समेत निर्देशन दिएका छौँ’, उनले भने, ‘नियुक्त प्रक्रियामा धेरै कम्पनीहरु गएका छन् भने कारबाही प्रक्रिया अघि भने बढाएका छैनौँ ।’

कम्पनीको प्रबन्धपत्र तथा कम्पनी ऐनअनुरुप पब्लिक कम्पनीले उनीहरुको नियुक्त संख्या समेत तोक्ने गरेको पाइन्छ । ऐनले कम्तीमा एक जना भने पनि कम्पनीहरुले आवश्यकताअनुरुप सोभन्दा बढी संख्यामा समेत राख्ने गरेको पाइन्छ । यसरी कम्पनी ऐनअनुरुप महिला सञ्चालक नियुक्त गर्दा कम्पनीलाई वार्षिक साधारणसभा समेत गर्न सहजता समेत हुने कार्यालयले जनाएको छ । कार्यालयका अधिकारीहरुले महिला सञ्चालकको अभावमा वार्षिक साधारणसभा समेत रोकिने हुँदा नियुक्तमा तीव्रता आएको बताए । यसरी महिला नियुक्तको विषयलाई लिएर कार्यालयले धितोपत्र बोर्डसँग समेत समन्वय अघि बढेको बताइएको छ ।

यस्तै पब्लिक कम्पनीमा सञ्चालक समिति गठन हुँदा कम्पनीको नियमावलीमा तोकिएको योग्यता भएको र सम्बन्धित कम्पनीको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको व्यक्तिहरुमध्ये सात जनासम्म सञ्चालक भए कम्तीमा एक जना र सात जनाभन्दा बढी सञ्चालक भएमा कम्तीमा दुई जना व्यक्तिलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गर्नु पाउने व्यवस्था ऐनमा गरिएको छ भने सञ्चालकहरुले आफूमध्ये छानेको कुनै एक जना सञ्चालक सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया