गोपालप्रसाद बराल
महोत्तरी
महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आँगनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन् । तिहारअघि फूल खोज्दै बस्ती–बस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ । ‘यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइनँ, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै जिल्लाको बर्दिबास नगरपालिका–२ की गृहिणी बृन्दा अधिकारीले भनिन्, ‘फूल खोज्न आउनेले त बैना भनेर एक हजार पो दिएर गयो ।’
बृन्दाको आँगन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीन हजार मोल दिने भनेर बैना समातेको उहाँको भनाइ छ । यसरी घरवरिपरि सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यावसायिक रूपमै फूल खेती गर्ने टुंगोमा पुगेका छन् । यो वर्ष तिहार सुरु हुनपूर्व नै आफ्नो घर करेसामा फूलेको फूल किन्न ग्राहक र व्यापारीको घुइँचो लागेपछि अबचाहिँ फूल खेती व्यावसायिक रूपमै गर्ने गृहिणीको रहर जागेको हो ।
तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका व्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दंग छन् । ‘तिहारमा फूल्नेगरी जति खेती गरे पनि हुने रैछ’, बर्दिबास–५ की गृहिणी फूलमाया ब्लोनले भनिन्, ‘यो आँगनको डिलमा ४०/५० बोट सयपत्रीका होलान्, मलाई त एकजना व्यापारीले चार हजार दिन्छु भनेर बैना दिएर गा’छन् ।’ आयआर्जनका लागि नभई शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब तिहारलक्षित फूल खेती गर्ने टुंगोमा पुगेको फूलमायाको भनाइ छ ।
घर करेसावरिपरि शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई/चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणी महिलाले बताएका छन् । तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०/३५ जति बोटका सयपत्री फूलको तीन हजार दिन्छु भनेका जिल्लाकै भंगाहा–४ की गृहिणी दीपमाया श्रेष्ठले बताइन् ।
करेसाकै फूलका बोटबाट दीपमायाले तीन हजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यावसायिक रूपमै फूल खेती गर्ने निर्णय गरेका छन् । अहिले फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ/नगर बस्तीमा लर्को नै लागेको छ । तिहारले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिनेगरि फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भंगाहा–६ हतिसर्वाकी राजवती थारुले बताइन् ।
जिल्लामा फूलको व्यावसायिक खेती निकै विस्तार नभए पनि अब यसको सम्भावना बढेको कृषिविज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एंव पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती सुरु गरिए जिल्लामा आयआर्जनको थप बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताए । किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे उपलब्ध गराइने केन्द्रले जनाएको छ ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये बलवा नगरपालिकाको पडौल र बनोटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा भए पनि विगत केही वर्षयता व्यावसायिकरूपमै फूल खेती गर्दै आएका छन् । बनौटा र पडौलका किसानले आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बताएका छन् ।
यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीको रोजाइमा पर्ने गरेको किसानको भनाइ छ । यहाँ उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न सहरमा पुग्ने गरेको किसान र कृषिविज्ञले बताएका छन् । तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन फूलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ । जिल्लाकै फूल व्यापारीहरू भन्छन्, ‘विवाहका लगन बाक्लिएसँगै फूलको माग बढ्छ, त्यस्तो बेला वरिपरि नै फूल पु-याउन धौ–धौ पर्छ, अरु बेला राजधानीतिर पठाइन्छ ।’
विशेषगरी तिहारलगायतका पर्वमा फूल खोज्नेहरूले मोलमोलाइ नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्ती/टोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएको भंगाहा–६ हतिसर्वाकी राजवती थारुको भनाइ छ । पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ संकलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको संख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको संख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया