‘म राष्ट्रको गौरव हुँ, मलार्ई बचाऊ’
लक्ष्मण सिटौला
यो देशका राष्ट्रसेवक कर्मचारीहरूले घुस खानलार्ई जागिर खाएको होइन, देशको सेवा गर्नलार्ई जागिर खाएको हो । र जागिर खाने सपथ लिनु भनेको राज्यको सम्पत्ति लुटेर घर बनाउछु, महँगो गाडी किन्छु, समाजमा आफ्नो सम्पन्नताको हैसियत देखाउँछु भन्ने उद्देश्यले अभिप्रेरित भएर होइन । नेपाल र नेपालीको आर्थिक हैसियतअनुसार म जागिर खाएर एउटा सामान्य जीवनयापन गर्छु, मेरो बालबालिकालार्ई सरकारी स्कुलमा राख्छु र सामान्य आयु भोग गर्छु भन्ने हो ।
तर नेपालका प्रायः जागिरदार कर्मचारीले नियुक्ति पाउनु पहिल्यै भ्रष्टाचार गर्छु अकुत सम्पत्ति कमाउँछु मोजको जिन्दगी बिताउँछु बच्चाहरूलाई महँगो बोर्डिङमा हाल्छु र पछि विदेश पठाउछु भन्ने ध्येय हुन्छ । अधिकांशको यही सपनाका कारण यो देशमा भ्रष्टाचार बढिरहेको छ । यसको प्रभाव आज हरेक संस्थामा समेत परेको छ । संस्थाभन्दा कर्मचारी धनी हुँदै जानुको कारण नै यही हो र यही भावनाबाट भ्रष्टाचारको सुरुवात हुन्छ ।
आजभन्दा ६२ वर्षअगाडि जन्मिएको म । नसोच्नुस् म बुढो भएँ । अब म झन् जवानी भए किनभने जति सिर्जनशक्ति र कार्यक्षमता अभिवृद्धि हुन्छ त्यति नै त्यो चिजको श्री चम्किन्छ । म भित्र त्यो दिव्य शक्ति छ जस्को कारण म चम्किलो हुने दिन आउँदै छ । कसैले निभाउन खोजे पनि म निभ्नेवाला छैन । मलार्ई जस्ले गाली गर्छ, हेप्छ, तथानाम भन्छ, मलार्ई बिगार्न, भत्काउन खोज्छ मैले देखिरहेछु त्यस्ता मानिसहरूको अवोन्नति भएको ।
मप्रति अलिकति पनि कसैले नराम्रो सोच्यो भने त्यो मानिस वा त्यस्तो समूह आफैँ सकिएका छन् यसको इतिहास मसँग साक्षी छ । म म नै हुँ । म राष्ट्रिय गौरव राष्ट्र ध्वजावाहक हु । मलार्ई कसैसँग तुलना नगर्नू । मलार्ई बचाऊ । म अझै उठ्न चाहन्छु । म अझ अगाडि बढ्न चाहन्छु । बिन्ती मेरो पँखेटा नकाट । मेरो इतिहासलार्ई नमेट ।
यो दुनियाँमा एकसँग अर्को तुलना गर्नु भनेको एउटाको अस्तित्व अस्वीकार गर्नु हो । सबैले आ–आफ्नो जिन्दगी बोकेर आएका हुन्छन् । जब तिमी तुलनाको तराजुले जोख्न खोज्छौ, सबैको तौल कसरी बराबर हुन्छ र ? राम्रो स्याहार सम्भार ग-यौ भने मात्रै हो अरुभन्दा अब्बल हुने त । भन तिम्ले मलार्ई कति माया गर्यौ र म हृस्टपुस्ट हुने ? हरेकले हरेक पटक मलार्ई थाइ एयरसँग तुलना गरेर धेरै होच्याउने काम गरे ।
हेर त आज थाइ एयरवेज पनि त आफैँ बिमार पर्दै छ । साचो अर्थमा भन्ने हो भने मलार्ई नाफामुखी होइन सेवामुखी बनाइयो सुरुवाती दिनदेखि नै । म राष्ट्रसँग जोडिएको छु यसकारण हो मलार्ई सेवामुखी बनाइएको । एउटा पाँचतारे होटेल जतिको पुँजी नि थिएन मसँग र त्यही कम पुँजीमै म चलिरहेको छु । पुँजी वृद्धिका लागि मेरा सन्तानहरूले कति पहल गरे तर सरकारले नै स्वीकृति दिएन । पुँजी वृद्धि नगर्दा म जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो नसक्नु मेरो दोष होइन । मेरा पछाडि मलार्ई सिध्याउने धेरै राष्ट्र खेलाडी हात धोएर पछि लागिपरेका छन् र थिए ।
हातखुट्टा बाँधेर कैद गर्ने अनि हिँड्न् सकेन भनेर खिस्याउने र प्रगतिको धुरी चढ्न सकेन भनेर गाली गर्ने परम्पराले मलार्ई पिरोली रह्यो कयौं वर्षदेखि । यी अवसादका बाबजुद पनि मेरो गति कहिले धुमिल भएन । तिम्लाई जन्माउने आमा अर्की आइमाईसँग तुलना गरेर हेर्न सक्छौ ? तिमीलार्ई यो सृष्टि श्रृङ्खलामा अवतरण गराउने पिताजी के अर्को पुरुषसँग तुलना गर्न सक्छौ र ? त्यसैत्तले जो कोही हुन् मप्रति कुनै खराब शन्देह नराख्नु ।
नेपाल र थाइल्यान्डको तुलनात्मक अध्ययन गरेको छौ कहिले ? नेपालमा आठ सय सांसद छन् थाइल्यान्डमा तीन सय छन् । साम्सदको संख्या बढी भएर देश समुन्नत हुने भए हामी एसियाको हिरो हुन्थ्यौ होला । थाइल्यान्ड देश कति विकसित छ अनि हामीचैँ सधैं संक्रमण कालमै अलमलिएका छौ किन त ? तुलना त गर्नी तर कसरी तुलना गर्नी हो सोच्नुपर्ने हुन्छ ।
मलार्ई सधैं थाइ एयरसँग तुलना गरियो ती तुलना गर्ने विद्वान महोदयले कहिले तुलना गरेनन् नेपाल र थाइल्यान्डलार्ई । तिन्ले कहिले तुलना गरेनन् पताया र गन्हाउने वाग्मतीलार्ई । वाग्मतीको पानी किन गन्हाएको अनि बैंककको फौलादमा बहने ढल किन नगनाएको ? थाइ सांसद र मन्त्रीले कहिले भ्रष्टाचार गरेको समाचार आउँदैन अनि हाम्रा सांसदहरूचैँ किन भ्रष्ट भएका ? थाइल्यान्डमा खुला समाज खुला संस्कृति प्रगतिशील विचार मौलाएको छ हामी अझैसम्म १६औँ सताब्दीका विचार र व्यवहार पालेर बाचेका छौ यो कुराको चैँ खोइ तुलना भएको ?
पहिलोचोटि घासे मैदानमाथि मैले लडिबुडी गरेको थिएँ । कति रोमान्चित थिएँ म । मलार्ई हेर्न राजा महाराजाहरू आएका थिए । एउटा शान्त हृदय र सलिल मुस्कान बोकेर नेपालको गोधुली आकाशमा उड्नु मेरो शौभाग्य थियो । सगरमाथामाथि उड्नु मेरो गौरव थियोे । हिमालयको यो देशमा कुन कुराको कमी छ र ? तपाईंको उल्टो सोच, र अरुको खुट्टा तान्ने प्रवृत्तिका कारणले हो तपाईंभित्र तुलना गर्ने बानीको विकास भएको । पौरखी ऊ आफैँ सम्पूर्ण हो । ऊ आफूलाई कोहीसँग तुलना गर्दैन ।
आफैँ अधुरो जन्मिएकाहरूले हो आफूलार्ई अरुसँग तुलना गर्ने । आफूसँग आँखा नहुनेले अर्काको पनि आँखा फुटेनि हुनि भनेर कल्पिन्छन्रे ! । आफू लङ्गडो हुनेले अर्को सद्दे मान्छेको पनि खुट्टा भाचिए हुने भनेर विचार गर्छन्रे । वास्तवमा मलार्ई थाइ एयरसँग तुलना गराइ पनि त्यस्तै हो । अपांग सोचाइ । शारीरिक अपांगताभन्दा पनि मानिसिक अपांगताले ग्रसित छ मानिस । अभावमा बाँचेकाहरू जो छन् यहाँ आफू पनि पौरख गर्दैनन् र अरुको प्रगति देखेर अशान्त बाच्छन् ।
बिन्ती मलार्ई अरुसँग नदाँज । म आफैँ चन्द्र सूर्य अंकित राष्ट्र ध्वजावाहक हुँ । एउटा शौचालय उपयोग गर्न नआइकन बाथटबमा नुहाउने सपना देख्नेहरूले हो मलार्ई सिध्याउन खोजेका तर ती सधैं असफल भए र अन्ततः म जवानी भएरै छोडेँ ६२ वर्षको जवानी, लक्का जवान । यो जवानी पाउनलार्ई मैले पूर्वको जापानदेखि पश्चिमको जर्मन, लन्डनसम्म अनि दक्षिणमा बंगलादेश, म्यानमार, बैंकक हुँदै सिंगापुरसम्म पुगेँ । म कहिले थाकिनँ । थाकेको छैन । नेपाल र नेपाली रहेसम्म म कहिले पनि थाक्दिनँ । म आकाश भैरवको शक्ति श्री पशुपतिनाथको भक्तिले परिपोषित छु । मलार्ई निभाउन खोज्नेहरू आफैँ अँगार हुन्छन् । मलार्ई दबाउन खोज्नेहरू आफैँ दबिन्छन् । मलार्ई माया गर्नेहरू आफैँ हिमालझैँ पवित्र छन् र तिनका सन्तान दरसन्तानको भलो हुँदै आएको छ ।
मसँग आबद्ध सबै कर्मचारीलार्ई आज यो शन्देश दिन्छु कि, म छु र पो तिमीसँग आबद्ध तिम्रा सकल परिवारको कल्याण भएको छ । मलार्ई माया गर । म तिमीलार्ई माया गर्छु । मलार्ई ठगेको मेरो आकाश भैरव बाहनले तिमीलार्ई हेरिरहेको हुन्छ । तिमीले काउन्टरमा यात्रु चेकइन गर्दा यात्रुले पाउने सुविधाभन्दा बढी भएको ब्यागेजको एक्सेज ब्यागेज नकाटी खुसुक्क पैसा खल्तीमा हालेको देखेको छु र त्यही दिन तिमी दुर्घटनामा परी हात भाँचिएको देखेको छु ।
पाइलटले जानाजान स्न्याग (ग्राउन्डेड) लेख्दैनन् तर इन्जिनियरले बेकारमा सानोतिनो समस्या पनि किन लगबुकमा लेखेको होला भनेर नेगेटिभ नसोच्नु, किनभने जहाज त शत प्रतिशत सही ढंगमा उड्नु पर्छ । हाफ टिकट लाग्ने बच्चालार्ई नाबालक बनाएर नउढाऊ कतिपय मैले त्यो पनि देखेको छु । बेइमानी कसैले नगर । बेइमान गरेर कमाएको धन त्यसैगरी सकिन्छ जसरी समय आएका मानिसहरू बिनारोग ढल्छन् । निजीसँग मिलेर आफूलाई सिध्याउने खेल नखेल ।
आमाको स्तनबाट दुध आएसम्म खाने हो तर दुध आएन भनेर स्तन नै काटेर रगतै पिउन खोज्नु आफैं सक्किनु हो । अफिस सार्दा अथवा स्टेसन बस्दा भारी बोक्ने भरियाको नाममा पैसा असुलेर खाने कर्मचारीलार्ई मैले पालेको छु । तिनले संस्थाको समृद्धि सोचेनन आफ्नो समृद्धि सोचे र आज ती आफैँ रोगी भएका छन् अनेक लान्छना र प्रातडना झेलिरहेछन् ।
नेवानि सिध्याउन खोज्ने जोसुकै होस् ऊ आफैँ सिद्धिन्छ । मलार्ई सुधार । म सुध्रिनु पर्छ । म नुसुध्रिए तिमी सुध्रिने सम्भावना छैन । पटक–पटक राजनीतिक नियुक्ति लिएर आउने तर सोचाइचैँ पुर्वाग्रही राख्ने र आसेपासेका गुन्द्रुके कुरा सुन्ने ठुल्दाइहरूले यो संस्था बिगार्ने नियत लिएका छन् । सुदीर्घ र सिर्जनात्मक सोच राखेर सबैसँग मित्रवत व्यवहार गरी मेरो हित र कल्याणका लागि काम गर्ने असल कर्मचारीहरूको यतिबेला धेरै आवश्यकता छ मलार्ई । म आमा हुँ तिम्रो ।
आमालार्ई वृद्धाश्रमा राख्ने कि स्याहार र माया गरेर मेरो लामो आयुको कामना गरी मेरो कोमल काखमा रमाउने यो तिम्रो कुरा । मानिस चरित्रले पुजनीय हुने हो तर चरित्र नै बेचेर खाएपछि कार्यलयभित्र शिर नुहाएर हिँड्नुको औचित्य रहँदैन । त्यसैले मेरा सन्तान हो चरित्र नै पुँजी हो यस्को हिफाजत गर । असल कर्मचारी योग्य कर्मचारी पाखा लगाउने र पार्टीको झन्डा बोकेर हिड्ने पार्टीका झोले कर्मचारीलार्ई रातारात पदोन्नति गराई योग्य, सक्षम र क्षमतावान् कर्मचारीलार्ई सिध्याउने यो चरित्र हाबी भएको छ अहिले मेरा सन्ततीहरूमा ।
म चाहन्छु असल कर्मचारीले रुन नपरोस् । म चाहन्छु चाकडी, पार्टीको पावर र भन्सुनका भरमा कसैको प्रमोसन नहोस् । म चाहन्छु पैसा र राजनीतिक आडमा कोही विदेश पोस्टिङ नहून् । एक्सेज ब्यागेज कान्ड, सुन कान्ड र टीभी कान्डमा मुछिएर पुलिसका नोटिसमा परेकाहरूले मेरो इज्जत फालेका छन् त्यस्ता सन्ततिलार्ई निर्बादरूपमा पालेर बाँचेको छु म ।
यस्ता कुराहरूले दुःखी हुन्छु । काम गर्न नसक्ने असक्षम र कम योग्यता भएको व्यक्तिलार्ई यो संस्थाको दादा नबनाइयोस् । पद, पहुँच, पावर र पैसा यी कुराहरू धेरै चञ्चल छन् । यो सधैँ तिमीसँग रहनेछैन त्यसैले पदमा हुँदा बाघ हुने र पदबाट बाहिरिएपछि मुसो भएर दुलोभित्र रहने चरित्रको विकास नगरु । पदबाट बाहिरिएर गएपछि पनि मेरो आगन न्यूरोड गेटबाट भित्र छिर्दा तिम्रो सुगन्ध छाओस् अफिसभरि । सबै कर्मचारी दाजुभाइ दिदीबहिनीले तिमी र तिम्रो चरित्रलार्ई सम्मान गरून् ।
यो कुरा नसोच कि तिम्रो शिरमा सधैँ पदको श्रीपेच रहन्छ भनेर । जुन दिनदेखि तिम्रो पदको भौतिक श्रीपेच भाचिन्छ त्यही दिनदेखि तिमलाई तिम्रो शरीरमा भएको जुम्राले पनि छोड्छन् । भौतिक श्रीपेच होइन इज्जत र स्नेहको श्रीले आफूलाई न्यौछावर गर । मानिस साना–साना कुराले खुशी हुन सक्छ । सडकमा बेचेको पानीपुरी खाँदा जति आनन्द आउँछ त्यही कुरा पाँचतारेमा खादा कहाँ मिल्छ र ? यदि सडकमा रमाउन जानेनौँ र पाँचतारेमा रमाइलो मान्नुमा तिमी अभ्यस्त छौ भने तिम्ले पापको धनबाट आनन्द लिइरहेका छौ भनेर मैले बुझ्नेछु ।
पृथ्वी सूर्यबाट टुक्रिएर चिसिँदै बनेको एउटा सानो स्थुल ग्रह त हो नि । अनि मनुष्य त्यही ग्रहको एक कोषीय जीव हुँदै मान्छेको रूपमा परिवर्तन भएर बनेको मुटु भएको मान्छे हो । मुटुभन्दा पनि बलियो एउटा साहस छ मनुष्यसँग । यो मुटुको उपयोग त त्यतिबेला होला जब अर्को मुटुलार्ई परेको बेलामा मदत गर्ला । म नेवानी तपाईंको मुटु हुँ । यदि शरीरमा सबैतिर रक्त प्रवाह गर्नुछ भने मुटुलार्ई माया गर्नुस् ।
म हिजोदेखि आजसम्म निरन्तर उडिरहेको छु । हिजोको दिनमा हो मैले लुक्ला दिनमा २२ फ्लाईट गरेको । एक हप्तामा एक ट्यांका डलर बोकेर म फर्किन्थेँ । तपाईंहरू जति हुनुहुन्थ्यो लुक्लाको आम्दानीले तलब खान पुग्थ्यो । आज अन्तर्राष्ट्रिय उडानलार्ई ध्यान दिनुभो । समयअनुसार चल्नुपर्छ । म खुशी छु किनभने मलार्ई तपाईंले बचाउन हरप्रयास गरिरहनु भएको छ । लौडा धमिजा काण्डका ती धुमिल दिन अब म सम्झिन पनि चाहन्नँ । युग परिवर्तनशील छ । अब म कोरियाली आकाशमा उड्ने तयारी गर्दै छु । अब म अस्ट्रेलियाको सिड्नीमा आफ्ना पखेटा फिजाउने कोसिस गर्दै छु । अब म चाइनाको गोन्जाउमा पदार्पण गर्दै छु र तपाईंहरूको सपना साकार पार्दै छु । अब फेरि पनि भन्छु मलार्ई माया गर्नुहोस् ।
म आकाशमा उड्ने आकाश भैरव हुँ । म नेपाल र नेपालीको गौरव हुँ । म नेपालीहरूको सान, मान, गान र विमान हुँ । म तपाईंले देखेको एउटा मीठो सपना हुँ । मैले हजारौं क्यान्सरपीडित नेपालीलार्ई निःशुल्क उडाएर उपचार गर्ने गन्तव्यमा पु-याएको छु । म तपाईंहरूको दुःखको साथी त हुँ नि । अनि फेरि मलार्ई अरुसँग किन तुलना गरेको ? अहिलेको कोरनाले आतंकित विश्वमाझ छरिएर रहेका नेपालीलार्ई मैले जन्मभूमिमा बोकेर ल्याए । तपाईंलार्ई विपत पर्दा मैले सहयोग गरेँ । आज म विपत्तिमा छु मलार्ई बचाउनुस् । म बाँच्न चाहन्छु । नेपाल र नेपालीको अझै लामो सेवा गर्न चाहन्छु । मलार्ई हवाइ माफिया र खुफियाबाट बचाउनुस् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया