अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
वासिड.टन डीसी ।
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चस्व रहँदै आएका यी दुवै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए । मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ । अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुवै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् ।
पछिल्लो मत परिणाम अनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गरेका छन् र उनी विजयको नजिक छन् । बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो ।
पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताए । तर उनले आफू विजयी भएको घोषणा गर्न चाहेनन् । उनले भने, ‘म अमेरिकी राष्ट्रपति हुँदै छु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केबल संयुक्तराज्य अमेरिका हुनेछ ।’
राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरेका थिए । जसलाई स्वयं रिपब्लिकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका थिए । विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ । निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएका थिए ।
तीन राज्यमा मतगणना रोक्न उजुरी : यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजुरी गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजुरी गरिएको हो ।
उजुरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मत गणना स्थलमा एपीले गरेको अध्ययनमा दुवै पक्षका प्रतिनिधिहरुको रोहबरमा मत गणना भएको देखिएको छ । एपीका अनुसार मिचिगनमा डेमोक्रेट पार्टीका जो बाइडेनले विजय हासिल गरेका छन् । यद्यपि यहाँ औपचारिक घोषणा हुन बाँकी छ । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मत गणना कार्य जारी रहेको र दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ ।
ट्रम्प अभियानले पेन्सिलभेनियाको मत गणनाको विषयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिने तयारी गरेको छ । ट्रम्पका उप चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्यौल बढाएको छ, र यसको निरुपण अदालतबाट हुने बताए । राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आएका थिए । रासस/एपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
- एनएमबी लघुवित्तको नाफा ७१ लाख ५४ हजार
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया