Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरलाई पनि लाग्यो महासंघको निर्वाचन

विराटनगरलाई पनि लाग्यो महासंघको निर्वाचन


विराटनगर ।
आगामी मंसिर महिनाको ११, १२ र १३ गते संघीय राजधानी काठमाडौँमा हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा प्रदेश १ को राजधानी विराटनगरमा अहिले निर्वाचन जोडघटाउ सुरु भएको छ । निर्वाचन नजिकिँदै गर्दा महासंघका विभिन्न पदका आकांक्षी उमेदवारहरूले निर्वाचनका लागि आ–आफ्ना उम्मेदवारहरूको उम्मेदवारी दर्ता समेत गरिसकेका छन् ।

महासंघको विद्यानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने भए पनि आगामी कार्यकालको अध्यक्ष वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुने भएपछि अहिले वरिष्ठ उपाध्यक्षका लागि महासंघमा ठूलै युद्धको तयारीजस्तो गरी दुई समूहले चुनावी अभियान थालेका छन् । वर्तमान उपाध्यक्ष किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनाबी मैदानमा उत्रेका हुन् । औद्योगिक नगरी विराटनगरमा पनि महासंघको निर्वाचनलाई लिएर जोडघटाउ सुरु भएको छ ।

आगामी कार्यकालमा हुने अध्यक्ष शेखर गोल्छा पनि विराटनगरकै उद्योगी भएको नाताले उनले आफ्नो कार्यकालका लागि विगतको निर्वाचन आफूसँग पराजित भएका किशोर प्रधानलाई यसपटक वरिष्ठ उपाध्यक्षमा सघाउने भएका छन् । किशोर प्रधान पनि विराटनगरकै भएको हुँदा विराटनगरका उच्च घरानाका उद्योगी तथा व्यवसायीको व्यापक दबाबपछि गोल्छाले प्रधानलाई सघाएको बताइएको छ । प्रधानलाई महासंघका पूर्वअध्यक्ष पशुपति मुरारको पनि सहयोग छ । मुरारका समेत विराटनगरकै हुन् । विराटनगरलगायत प्रदेश एकका सबै व्यापारीले यसपटक वरिष्ठ उपाध्यक्षका लागि प्रधान सघाउने स्थानीय उद्योगी तथा व्यवसायीको दाबी छ ।

महासंघसँग जोडिएका देशभरका सबै उद्योगी व्यवसायी पनि भावि नेतृत्व छनोट गर्न सक्रियताका साथ लागिरहेका छन् । प्रधान समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतिले उम्मेदवारी दिएका छन् । किशोर प्रधानको प्यानललाई पूर्वअध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवानी राणा र शेखर गोल्छाले समेत बलियो साथ दिएका छन् ।

यसैगरी ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईले उमेदवारी दिएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको पदाधिकारी समेत भएर काम गरेका प्रधान विराटनगरको औद्योगिक र व्यावसायिक क्षेत्रमा चर्चित खेलाडीका रूपमा परिचित छन् । यद्यपि उनी विवादमुक्त भने छैनन् । प्रधानलाई आलोचकहरूले आफ्नो स्वार्थसिद्धका लागि जस्तोसुकै सहमतिमा समेत हस्तक्षर गर्न पछि नपर्ने भनेर टिप्पणी गर्ने गरेका छन् । आलोचकहरूका अनुसार उनी मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको निर्वाचन ताका विराटनगर आएर कमजोर समूह देखिने बित्तिकै उक्त समूहलाई भित्तैमा पु-याउन समेत पछि पर्दैनन् ।

विराटनगर महानगरपालिकाको पीसीआर मेसिन खरिदका बेला बदनाम एवं विवादास्पद बन्न पुगेका उद्योगी प्रदिप मुरारका निकट रहेका प्रधान उच्च पदमा आसिन रहेर पनि लामो समयदेखि सरकारको राजस्व समेत नबुझाउने उद्योगिको पहिलो श्रेणीमा दर्ता रहेका छन । उनी आफैँ सञ्चालक रहेर (टंकीसिनिवारी) बुढीगंगा गाउँपालिकामा सञ्चालित विराट फर्मा ल्याब प्रालि सञ्चालन गर्न नसकेपछि विराटनगरबाट पलायन बनेका प्रधान काठमाडौँमा बसेर उद्योग वाणिज्य महासंघको राजनीतिमा लागेको उद्योगीहरू बताउँछन् । विराट फर्मा ल्याब प्रालिले बैकको ऋण समेत चुक्ता गर्न नसकेपछि बैकले जमीन बिक्री गरी आफ्नो असुली गरेको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता कायम भएको उक्त उद्योगले लामो समयदेखिको आय विवरण समेत भने बुझाएको छैन । आन्तरिक राजस्व कार्यालय विराटनरबाट ३०००९९९३९ मा मूल्य अभिवृद्धि करमा दर्ता कायम रहेको विराट फर्मा ल्याब प्रालिले जिरो विवरणको विवरण कार्यालयमा बुझाइरहेको छ । साथै विवरण ढिला बुझाएका कारण लाग्ने जरिवानाबापतको रकम नबुझाएका कारण लामो समयदेखिको राजस्व विराट फर्मा ल्याब प्रालिको नाममा बक्यौता समेत रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया