Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको खोपले आशा जगायो विश्व सेयरबजारमा खुसियाली

कोरोनाको खोपले आशा जगायो विश्व सेयरबजारमा खुसियाली


काठमाडौं ।
औषधि निर्माता फाइजरले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत असरदार देखिएको छ । चीनको वुहान सहरबाट सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना भाइरस संक्रमणको झण्डै एक वर्ष पुग्नै लाग्दा आएको फाइजरको खोप परीक्षणको यो नतिजाले महामारीविरुद्ध विजय पाउने आशा पलाएको छ ।

अमेरिकी केबल न्युज नेटवक (सीएनएन)का अनुसार कम्पनीले ४३ हजार स्वयंसेवकमा खोपको परीक्षण गरेको थियो । तीमध्य ९४ जना कोभिड १९ संक्रमित थिए । तिनीहरुमध्ये कतिपयले खोपको दुई डोजसम्म लिएका थिए । सोही परीक्षणको अन्तरिम विश्लेषणमा खोपले भाइरसविरुद्ध ९० प्रतिशत काम गरेको तथ्य भेटिएको हो । १० प्रतिशत वा सोभन्दा कम संक्रमितमा मात्र उक्त खोप दिइएको थियो ।

फाइजरका अनुसार खोप लगाएको सात दिनपछि अर्थात् दोस्रो डोज लगाएपछि मात्र त्यसले काम गरेको र सुरु डोजको २८ दिनपछि मात्र भाइरसको प्रतिरोध गरेको अन्तरिम विश्लेषणले देखाएको छ । कम्पनीले अझै १ सय ६४ जना कोरोना संक्रमितमा खोप लगाउने योजना बनाएको छ ।

खोपको प्रभावकारिता देखिएसँगै कम्पनीले आकस्मिक प्रयोगका लागि अमेरिकी खाद्य तथा औषधि विभागसँग अनुमति माग्ने योजना बनाएको छ । कम्पनीको खोपको सरकारी स्वयंसेवकहरुले पनि अनुगमन गर्नेछन् । फाइजर र जर्मन साझेदार बायोएनटेकले तेस्रो चरणमा खोपको ६ देशका ४३ हजार ५ सय ३८ जनामा परीक्षण गरेका थिए । सो क्रममा खोप लिएका कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको बताइएको छ । जुलाई २७ मा यस्तो परीक्षण सुरु भएको थियो ।

आइतबारसम्म ३८ हजार ९ सय ५५ स्वयंसेवकले खोपको दोस्रो खेप (डोज) लिएका थिए । कम्पनीले ४२ प्रतिशत अन्तर्राष्ट्रिय र ३० प्रतिशत राष्ट्रिय (अमेरिका) रुपमा खोपको परीक्षण गरेको जनाएको छ । सो क्रममा जातीय विविधताका आधारमा खोपको परीक्षण गरिएको थियो ।
फाइजरका सीईओ अल्बर्ट बोर्लाले एक वक्तव्य जारी गर्दै विश्वका मानिसलाई अत्यावश्यक खोप प्रदान गर्ने चरणको नजिक पुगेको बताएका छन् । उनले भनेका छन्, ‘यसले वर्तमान समयमा अत्यन्त आवश्यक खोपले विश्व स्वास्थ्य संकट समाधान गर्नसक्छ ।’

आगामी हप्तामा परीक्षणमा सहभागी हजारौँ सहभागीको तथ्यांक सार्वजनिक गर्ने बताउँदै उनले खोपको असर र सुरक्षाबारे जानकारी दिइने बताए । फाइजरले दोस्रो चरणको खोप परीक्षणको अध्ययन विश्लेषण पनि अन्तिम चरणमा पु¥याएको छ । यसले खोपले मानिसहरुलाई कोभिड १९ बाट जोगाउने प्रत्याभूति गर्छ कि गर्दैन भन्ने टुंगो लगाउनेछ । साथै दीर्घकालीन रुपमा सुरक्षा प्रदान गर्ने र कोरोनाका गम्भीर बिरामीलाई जीवनदान गर्नेबारे पनि दोस्रो चरणको विश्लेषणले निक्र्योल गर्ने कम्पनीले जनाएको छ । अमेरिकी खाद्य तथा औषधि विभागले ५० प्रतिशत सुरक्षा प्रदान गर्ने कोरोना खोपको आशा गरेको जनाएको छ ।

यद्यपि खोपबारे अझै ठूलो चुनौती कायमै छ । तर वैज्ञानिकहरुले भने फाइजरको खोपलाई स्वागत गरेको बीबीसीले जनाएको छ । अक्सफोर्ड युनिभर्सिटीका औषधिसम्बन्धी रेजियस प्रोफेसर सर जोन बेलले भने, ‘यो समाचारले खुसी हुने सम्भवतः पहिलो व्यक्ति म हुनसक्छु, तर मैले यो निर्धक्कसाथ भनिरहेको छु ।’ वैज्ञानिकहरुले खोप आए सामान्य जीवनयापन सहज हुने आशा गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० मार्च ११ मा कोरोना संक्रमणलाई महामारी घोषणा गरेको थियो । कोरोना महामारी चीनपछि युरोपमा व्यापक रुपमा फैलिएको थियो । वल्र्डोमिटरको तथ्यांकअनुसार सोमबार रातिसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ९ लाख ५० हजार २ सय २१ पुगेको छ । त्यस्तै १२ लाख ६४ हजार ९ सय जना भाइरस संक्रमणबाट मृत्युवरण गर्न बाध्य भएका छन् भने ३ करोड ५९ लाख ८ हजार ६७ जना संक्रमणबाट निको भएका छन् । सोमबारसम्म १ करोड ३७ लाख ७७ हजार २ सय ५४ जना संक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये ९९ प्रतिशत सामान्य अवस्थामा छन् भने १ प्रतिशत मात्रै गम्भीर संक्रमित छन् । कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ ।

अमेरिकामा १ करोड बढीमा संक्रमण देखिएको छ भने हालसम्म २ लाख ४३ हजार बढीले ज्यान गुमाएका छन् । त्यसपछि दोस्रोमा भारत र तेस्रोमा ब्राजिल प्रभावित बनेको छ । नेपालको हकमा भने सोमबारसम्म १ लाख ९७ हजार २४ जना संक्रमित पुगेका छन् । यसमध्ये १ हजार १ सय २६ जनाको मृत्यु भएको छ भने १ लाख ५९ हजार ७ सय २४ जना निको भएका छन् । हालसम्म नेपालमा १५ लाख ५१ हजार २ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ ।

विश्व सेयरबजारमा खुसियाली
यसैबीच, कोरोनाविरुद्धको खोप आउने आशामा अमेरिकी सेयरबजार उच्च अंकले उकालो लागेको सीएनएनले जनाएको छ । द डो १६ सय अंकले अर्थात् ५.६ प्रतिशतले बढ्दा एसएण्डपी ५०० इन्डेक्स ३.७ प्रतिशतले बढेको छ । त्यस्तै नास्डाक कम्पोसाइट १.३ प्रतिशतले उकालो लागेको छ ।

सुखद खबरसँगै विश्वकै सेयरबजार उकालो लागेको एजेन्सीहरुले बताएका छन् । लन्डनको एफटीएसई १००, जर्मनीको डीएएक्स, फ्रान्सको सीएसी४० पनि उकालो लागेका छन् । फाइजरले खोपको प्रभाविकारिताबारे दिएको जानकारीसँगै कच्चा तेल बेन्चमार्क ८ प्रतिशतले बढेर ४२.४५ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया