Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँ कम्पनी दर्तामा उत्साह

नयाँ कम्पनी दर्तामा उत्साह


काठमाडौं ।
कोभिडको कारण प्रायः सबैजसो क्षेत्रमा असर परे पनि कम्पनी स्थापना गर्नेको हकमा भने असर नपरेको पाइएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार कोभिडकै बीच पनि उद्यम सञ्चालन गर्ने तथा कम्पनी स्थापना गर्ने भन्दै लगानीकर्ताहरु कम्पनी दर्ताको लागि कार्यालयमा आउने गरेका छन् ।

कार्यालयका रजिष्ट्रार प्रदिपराज अधिकारीका अनुसार हालसम्म लगानीकर्ताहरुले आठ हजार चार सयवटा कम्पनी दर्ता गराएको बताए । ‘चालू आर्थिक वर्षको करिब चार महिनाको समयमा आठ हजार चार सयवटा कम्पनी लगानीकर्ताले दर्ता गराएका छन्’, उनले भने, ‘सो संख्या तुलनात्मक रुपमा गत वर्षभन्दा केही बढी कम्पनी दर्ता भएको हो भने यसरी धेरै कम्पनी दर्ता हुनुमा मुलुकमा व्यावसायिक वातावरण बिग्रेको छैन भन्ने महशुस गराउँछ ।’

गत आव (२०७६/७७) को सोही अवधिमा आठ हजारवटा कम्पनी दर्ता भएका थिए । यस्तो परिस्थितिमा कम्पनी दर्ता तीव्रताका साथ हुनु भनेको उत्साहजनक रुपमा लिनुपर्ने कार्यालयका अधिकारीहरु बताउँछन् । त्यसैगरी लगानीकर्ताहरु भने भोलिका दिनमा परिस्थिति सामान्य बन्छ भन्ने विश्वासका साथ कम्पनी स्थापनाको लागि तयारी गरेको बताउँछन् । उनीहरु सहज/असहज परिस्थिति भए पनि व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता भएकाले सोहीअनुसार बुझी अघि बढेको उनी बताउँछन् । यसैबीच कोभिडको समयमा भने लगानीकर्ताहरुले औषधि उत्पादन, मास्क, सेनिटाइजर, सरसफाइ, खाद्यान्न, खानेपानी तथा अत्यावश्यक सेवासँग सम्बन्धित कम्पनी दर्ताको क्रम बढेको कार्यालयले जनाएको छ ।

कार्यालयले हाल लागू भइरहेको कम्पनी ऐन २०६३ अनुरुप प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड, गैरनाफामूलक र विदेशी कम्पनीहरु दर्ता गर्ने गर्छ । यसैबीच रजिष्ट्रार अधिकारीले कम्पनी दर्ता उत्साहजनक रुपमा भएको हुँदा चालू आवको लक्ष्य पूरा गर्न सहज हुने बताए । ‘चालू आवको लागि करिब २० हजार नयाँ कम्पनी दर्ता गर्ने उद्देश्य राखेको थियौँ’, उनले भने, ‘यही रफ्तारमा गएमा हामीले लक्ष्य प्राप्त गर्न असहज हुनेछैन ।’

उनले कम्पनी दर्तामा वृद्धि भएसँगै राजस्व (शुल्क दस्तुर) संकलन समेत लयमा रहेको बताए । ‘हामी राजस्व संकलन गर्ने कार्यालय नभए पनि कम्पनी दर्तामार्फत उठ्ने शुल्क दस्तुर राम्रो रहेको छ’, रजिष्ट्रार अधिकारीले भने, ‘हालसम्म करिब २४ करोड रुपैयाँ शुल्क दस्तुर संकलन भएको छ भने पछिल्लो अक्टोबरमा भने गत वर्षको तुलनामा दोब्बर शुल्क दस्तुर संकलन भएको छ ।’

यसरी राजस्व संकलनमा वृद्धि हुनुमा भने कार्यालयले प्रयोगमा ल्याएको प्रविधियुक्त प्रणालीले गर्दा हो । कम्पनी दर्ता, नामसारी इत्यादि कामहरु अनलाइनमार्फत गर्न मिल्ने तथा शुल्क तिरे/नतिरेको तथा जरिवाना तिराउन परेमा पनि अनलाइन प्रविधिको प्रयोग गर्न सकिने हुँदा राजस्व संकलनमा वृद्धि भएको कार्यालयका अधिकारीहरुको भनाइ छ ।

गत आवमा भने कर्यालयले ६४ करोड रुपैयाँ शुल्क दस्तुर संकलन गरेको थियो भने यो वर्ष भने सो रकमभन्दा बढी हुने अपेक्षा गरिएको छ । प्राइभेट कम्पनीले पुँजीको आकारमा राजस्वबापत न्यूनतम एक हजार रुपैयाँदेखि ४३ हजार रुपैयाँ तथा दश करोड रुपैयाँभन्दा बढी अधिकृत पुँजी भएका कम्पनीले भने प्रतिलाख ३० रुपैयाँको दरले दस्तुर तिनुपर्ने व्यवस्था छ भने पब्लिक कम्पनीले भने न्यूनतम १५ हजार रुपैयाँदेखि एक लाख ६० हजार रुपैयाँ तथा ५० करोड रुपैयाँभन्दा बढी अधिकृत पुँजी भएमा प्रतिकरोड तीन हजारका दरले दस्तुर बुझाउनुपर्ने हुन्छ ।

भदौको सुरुदेखि कम्पनी कार्यालयले डिजिटल प्रविधिबाट सेवा दिने थालेको थियो जसले गर्दा कार्यालयका कर्मचारीदेखि लिएर सेवाग्राहीलाई समेत सहज भएको थियो । यस्तै हालसम्म भने दुई लाख ३३ हजारभन्दा बढी कम्पनी दर्ता भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया