Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहामारीमा पनि विदेशी श्रमिक ल्याउन पाइने कार्यविधि तयार

महामारीमा पनि विदेशी श्रमिक ल्याउन पाइने कार्यविधि तयार


काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड १९ को महामारीका बीच उत्पादनशील उद्योगका लागि आवश्यक विदेशी श्रमिक ल्याउन दिने भएको छ । कोभिडका महामारिका बीच विदेशी कामदार नेपाल ल्याउनको लागि मन्त्रालयले ‘विदेशी श्रमिक ल्याउनेसम्बन्धी कार्यविधि, २०७७’ स्वीकृत गरेको छ ।

महामारीका कारण स्वदेशी तथा विदेशी लगानीमा स्थापित उत्पादनशील उद्योगमा श्रमिकको अभाव भएकोले उपभोग्य वस्तुहरुको उत्पादन र आपूर्तिलाई सहज बनाउन भारत, चीनलगायत अन्य मुलुकबाट सुरक्षित रुपमा विदेशी श्रमिक ल्याउने प्रक्रियालाई सरल र व्यवस्थित बनाउन आवश्यक भएकोले मन्त्रिपरिषद्को निर्णय बमोजिम मन्त्रालयले उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउनेसम्बन्धी कार्यविधि, २०७७ बनाएको मन्त्रालयले जनाएको छ । कार्यविधिअनुरुप विदेशी श्रमिकलाई अनुमति दिने निकाय भने संघीय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रहेको जिल्लामा सो कार्यालय र सो कार्यालय नरहेको जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिनेछ ।

विदेशी श्रमिक प्रवेशको सीमाविन्दु भएको जिल्लाको स्थानीय प्रशासन र गन्तव्य भएको जिल्लाको स्थानीय प्रशासन तथा नगरपालिका÷गाउँपालिकालाई अनिवार्य रुपमा दिनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । तर जिल्ला तथा स्थानीय प्रशासनले उनीहरुलाई नेपाल प्रवेश गर्ने र गन्तव्यमा पुग्ने व्यवस्थालाई सहजीकरण गर्नुपर्ने हुन्छ । त्यसैगरी विदेशी श्रमिकसँग पीसीआर नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा उल्लेख भएअनुरुप निर्धारित प्रवेश विन्दुबाट श्रमिक नेपाल प्रवेश गर्दा पछिल्लो तीन दिनभित्र जारी भएको पीसीआर नेगेटिभ रिपोर्ट साथमा अनिवार्य हुनुपर्नेछ ।

श्रमिक प्रवेश गर्ने नेपालको निर्धारित प्रवेश विन्दुबाट तोकिएको गन्तव्यसम्म र त्यस्तो गन्तव्यबाट तोकिएको प्रस्थान सीमा विन्दुसम्म उद्योगले आफ्नो निजी सवारी वा छुटै व्यवस्था (रिजर्भ) गरेको सवारी साधनबाट लाने व्यवस्था गर्नुपर्ने छ भने विदेशी श्रमिक गन्तव्यमा पुगेपछि सोको लिखित जानकारी जिल्लाको स्थानीय प्रशासन कार्यालय तथा नगरपालिका वा गाउँपालिकालाई अनिवार्य रुपमा सम्बन्धित उद्योगले दिनुपर्नेछ ।

श्रमिक गन्तव्यमा पुगेपछि अनिवार्य रुपमा प्रोटोकलबमोजिम क्वारेन्टाइन बस्ने र खाने व्यवस्था सम्बन्धित उद्योगले मिलाउनुपर्ने, क्वारेन्टाइन स्थलबाट बाहिर हिँड्डुल गर्न नदिने गन्तव्यमा आई पुगी क्वारेन्टाइनमा बसेका १० दिन व्यतित भएपछि कोभिडको कुनै शंकास्पद देखिएको वा नदेखिएको अनिवार्य रुपमा एकीन गरी शंकास्पद लक्षण देखिएका श्रमिकको अनिवार्य पीसीआर परीक्षण गर्ने । लक्षण देखिएका श्रमिकको हकमा त्यस्तो रिपोर्ट नेगेटिभ आएपछि मात्र निर्दिष्ट काममा लगाउने सकिने व्यवस्था गरिएको छ ।

यस्तै कार्यविधिमा विदेशी श्रमिक ल्याउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य प्राटोकल तथा कोभिड महामारीको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड अर्थात् कोभिडबाट बच्नको लागि सरकारले तयार पारेको स्वास्थ्य प्रोटोकल उद्योगीहरु तथा विदेशी कामदारले अपनाउनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालमा रहँदा उनीहरुले कोभिड संक्रमण जोखिम हुन नदिन सरकारले तोकेको सुरक्षा प्रोटोकल पूर्ण परिपालना सम्बन्धित उद्योगले गर्नु गराउनुपर्नेछ । उत्पादनशील उद्योग अर्थात् वस्तु उत्पादन गर्ने उद्योग सम्झिनुपर्छ तथा मुनाफा आर्जन गर्ने वा मुनाफा नगर्ने गरी उद्योग, व्यवसाय वा सेवा गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम स्थापना, संस्थापना, दर्ता वा गठन भएको वा सञ्चालनमा रहेको उत्पादनशील उद्योग भनी वर्गीकरणमा परेका कुनै कम्पनी, प्राइभेट फर्म, साझेदारी फर्म, सहकारी संस्थालाई समेत जनाउँछ ।

उत्पादनशील उद्योगले आफूलाई आवश्यक पर्ने श्रमिक पूर्ति गर्दा नेपाली नागरिकलाई भने प्राथमिकता दिनुपर्नेछ भने यदि मुलुकभित्र त्यस्ता श्रमिक उपलब्ध नभएको अवस्थामा आवश्यक रीत पु-याई विदेशाट श्रमिक ल्याउन सक्ने विषय कार्यविधिमा उल्लेख गर्नुको साथै विदेशी श्रमिक ल्याउँदा श्रम स्वीकृति अनिवार्य गर्नुको साथै त्यसको सहजीकरण गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरिएको छ ।

त्यसैगरी उत्पादनशील उद्योगमा विदेशी श्रमिक ल्याउन अनुमति दिने प्रक्रियाको अनुगमन मन्त्रालयल मन्त्रालयले गर्नेछ भने स्वास्थ्य सुरक्षा नअपनाएमा भने संक्रामक रोग ऐन, २०२० र अन्य प्रचलित कानुनबमोजिम कारबाहीका लागि अनुगमनकर्ताले अनुमति दिने निकायमा लेखी पठाउनुपर्नेछ भने कार्यविधि कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ परेमा मन्त्रालयले त्यस्तो बाधा अड्काउ फुकाउनसक्ने बताइएको छ । यसैबीच उद्योग, वाणिज्य महासंघले कार्यविधि निर्माण भएसँगै उद्योगीहरुलाई राहत मिलेको जनाएको छ । महासंघले विदेशी कामदारको अभावमा कतिपय उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको बताउँदै आएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया