खुला दिसामुक्त भएको गाउँपालिकामा मुख्यमन्त्रीले नै गरे शौचालयबिनाको घर हस्तान्तरण
विराटनगर ।
मोरङ जिल्लास्थित ग्रामथान गाउँपालिका–७ मा हालै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हतार–हतारमा हस्तान्तरण गरेको नमूना बस्तीमा शौचालय नै निर्माण नभएकाले नमूना बस्ती विवादित बन्न पुगेको छ । प्रदेश १ सरकार र सो क्षेत्रका संघीय सांसद अमनलाल मोदीको दबाबमा पार्टी निर्णय थेग्न नसकेपछि गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले हतार–हतारमा घर हस्तान्तरण गराएका थिए ।
उक्त बस्तीका बासिन्दाहरू अहिले सौच गर्नका आधा किलोमिटर हिँडेर दक्षिण र पश्चिम भएर बग्ने शिशवा टोकी खोलामा जाने गरेका छन् । घर निर्माणसँगै शौचालय समेत निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेमा यत्तिकै हतारमा हस्तान्तरण गरिएको शौचालय नै नभएको नमूना बस्तीमा बस्तै आएकी स्थानीय गीता चौधरीले जानकारी दिइन् । धैरे पहिले नै खुला दिसामुक्त घोषणा भएको ग्रामथान गाउँपालिकामा विपन्नहरूका लागि निर्माण गरिएको एकीकृत नमूना बस्तीमा शौचालयबिना नै विपन्नलाई प्रदेश सरकारले हतारहतार हस्तान्तरण गरेपछि समस्या भएको स्थानीयले बताएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ३४ वटा विपन्न परिवारलाई तीनकोठे घर हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको नमूना बस्तीमा शौचालय, विद्युत् र खानेपानीको प्रबन्ध नै गरिएको छैन । पूर्वाधारबिना नै हतारमा बस्ती हस्तान्तरण गरिदिँदा बस्तीवासीहरूले सास्ती भोग्नुपरेको छ । ग्रामथान–७ मा तराई मधेस समृद्ध कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लगानीमा खदरा खोलाको किनारमा रहेको ऐलानी जग्गामा उक्त बस्ती निर्माण गरिएको हो । मधेस समृद्ध कार्यक्रमको ६७ लाख नौ हजार एक सय ६६ रुपैयाँ, स्थानीय पूर्वाधार विकास कार्यक्रमको एक करोड १९ लाख ८६ हजार ९५ रुपैयाँ र गाउँपालिकाको एक करोड २७ लाख ४५ हजार सात सय ७३ रुपैयाँ गरी कुल तीन करोड चार लाख ४१ हजार ३४ रुपैयाँ लागतमा ३६ वटा घरमध्ये ३४ वटा निर्माण भएर हस्तान्तरण गरिएको छ । दुईवटा घर अझै बन्न बाँकी छ ।
गाउँपालिका अध्यक्ष शिवनारायण माझीले प्रदेश सरकार र नेकपा पार्टीको दबाबमा गाउँपालिकाका अन्य जनप्रतिनिधिहरूसँग समन्वय नै नगरी बस्ती हस्तान्तरण गरेको गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी चौधरीले जानकारी दिइन् । हतारमा पार्टीगतरूपमा कार्यक्रम गरेकाले बसोबास गर्न आएका विपन्न वर्गलाई अहिले सास्ती परेको उनको भनाइ छ । उपाध्यक्ष चौधरीले आफूले समेत हस्तान्तरण गर्नु एक दिनअघि मात्र जानकारी पाएको बताइन् । पूर्वाधारबिनाको बस्ती हस्तान्तरण गर्न हतार नगर्न आफूले दिएको सुझावलाई पालिका अध्यक्षले नमानेर उल्टै आफ्नो बेइज्जती गरेको उनले बताइन् ।
नमूना बस्ती निर्माण भएको वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार माझीले आफूलाई कार्यालय सहयोगीमार्फत जानकारी दिइएको बताए । उनले भने, ‘नमूना बस्ती हस्तान्तरण कार्यक्रम भएकाले आएँ तर त्यहाँ आफ्नो कुनै वास्ता नै भएन ।’ गाउँपालिका अध्यक्षको पार्टी आबद्ध नेताहरूलाई भाषण दिएर निर्माण सम्पन्न भएको घर हस्तान्तरण गरिएकाले उनी पनि असन्तुष्ट छन् । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरको डिलमा बस्दै आएका सुकुम्वासीहरूलाई ती घरहरू बनाएको बताइएको छ । मुख्यमन्त्रीले घर हस्तान्तरण गरे पनि अहिलेसम्म धेरै घरमा ढोका, झ्यालमा ग्रिल, खानेपानी, विद्युत् र सडक निर्माण नभएको स्थानीयले बताएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया