Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२७ बैंकबाट उद्योगहरूले लगे साढे दुई अर्ब निर्यात अनुदान

२७ बैंकबाट उद्योगहरूले लगे साढे दुई अर्ब निर्यात अनुदान


काठमाडौं
सरकारले दिँदै आएको निर्यात अनुदानबापत उद्योगीहरूले हालसम्म २७ वटा बैंक (वाणिज्य बैंक)हरूबाट दुई अर्ब ६० करोड रुपैयाँ लगेका छन् । राष्ट्र बैंकका अनुसार निर्यातमा नगद अनुदानसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि हालसम्म उद्योगीहरूले वाणिज्य बैंकमार्फत (आव ०६८/६९ देखि हालसम्म) दुई अर्ब ६० करोड रुपैयाँबराबर निर्यात अनुदान प्राप्त गरेका हुन् ।

राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेलले आव ०६८/०६९ देखि ०७६ माघ १५ सम्म उद्योगीहरूले वाणिज्य बैंकहरूमार्फत दुई अर्ब ५४ करोडबराबरको निर्यात अनुदान प्राप्त गरेकोमा पछिल्लो १० महिनाको अवधिमा करिब छ करोड थप भएको बताए । उनले सरकारले दिँदै आएको निर्यात अनुदानले उद्योगहरूमा सकारात्मक प्रभाव परेको समेत उल्लेख गरे । ‘निर्यात अनुदानकै सकारात्मक प्रभावस्वरुप उद्योग अर्थात् उद्योगीहरूले निर्यातजन्य सामग्री उत्पादनमा समेत जोड दिने गरेका छन्’, निर्देशक पौडेलले आर्थिक दैनिकसँग भने, ‘यसले गर्दा के भन्न सकिन्छ भने सरकारले निर्यातजन्य उद्योगलाई पूर्णरुपमा प्रोत्साहन गरेको छ ।’

विगत पाँच वर्षमा कुल निर्यातमा अनुदान प्राप्त गर्ने अनुसूची १ र २ का वस्तुहरूको योगदान करिब ५० प्रतिशत रहेको देखिन्छ । नगद अनुदानसम्बन्धी व्यवस्थाले निर्यात्मा तीन प्रतिशत अनुदान प्राप्त गर्ने अनुसूची २ का वस्तुहरूको कुल निर्यातमा करिब ३७ प्रतिशत हिस्सा रहेको देखिन्छ ।

अनुसूची १ र २ का वस्तुहरू अर्थात् कुल निर्यातमा मूल्यमा पाँच प्रतिशत नगद अनुदान प्राप्त गर्नेमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु , प्रशोधित छाला (क्रष्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), तरकारी (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा, पुष्प (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), प्रशोधित मह (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), प्रशोधित अलैँची (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), प्रशोधित अदुवा ( सूठो, स्लाइडिङ, तेल र पाउडरलगायत) (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा) रहेका छन् ।

यस्तै अनुसूची २ का वस्तु अर्थात् कुल निर्यातमा मूल्यमा तीन प्रतिशत नगद अनुदान प्राप्त गर्नेमा स्वदेशमा उत्पादित कपडा, तयारी पोशाक, गलैँचा र उनीका सामान, च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरू, सुन, चाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य)का वस्तुहरू, पोलिष्टार यार्न/फाईवर भिष्कोर्ष यार्न/एक्रेलिक यार्न/कटन यार्न, तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटा समान तथा अन्य भाँडाकुँडा) रहेका छन् ।

सरकारले आर्थिक वर्ष २०६७/०७८ को बजेट वक्तव्यमार्फत निर्यात गर्ने उद्योगलाई निर्यातबाट प्राप्त विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाणको आधारमा नगद अनुदान प्रदान गर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि, २०६८ जारी गरिएको थियो । उक्त कार्यविधिलाई समायानुकूल परिमार्जन गरी निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि (पहिलो संशोधन) २०७५ कार्यान्वयनमा रहेको छ भने सोहीअनुरुप उद्योगीहरूले निर्यात अनुदान प्राप्त गर्दै आएका छन् ।

विगत पाँच वर्षमा पाँच प्रतिशत अनुदान प्राप्त गर्ने अनुसूची १ का वस्तुहरूमध्ये प्रशोधित जडीबुटी, प्रशोधित चिया र प्रशोधित अलैँचीको निर्यातमा अनुदानको सकारात्मक प्रभाव रहेको देखिन्छ । विगत पाँच वर्षमा कुल निर्यातमा नगद अनुदान प्राप्त गर्ने अनुसूची १ का वस्तुहरूको हिस्सा औसतमा करिब १२ प्रतिशत रहेको छ । त्यसैगरी अनुसूची २ अनुसारका वस्तुको मूल्यअभिवृद्धि ३० प्रतिशत वा सोभन्दा बढी भएमा कुल मूल्यअभिवृद्धिको तीन प्रतिशत नगद अनुदान प्रदान गर्ने व्यवस्था रहेको छ ।

सरकारले उक्त कार्यविधिअनुसार मूल्यअभिवृद्धिका आधारमा नगद अनुदान उपलब्ध गराउँदै आएको छ । अनुसूची १ अनुसारका वस्तुको मूल्यअभिवृद्धि ५० प्रतिशत वा सोभन्दा बढी भएमा कुल मूल्यअभिवृद्धिको पाँच प्रतिशत र ५० प्रतिशतभन्दा कम भएमा तीन प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ । अनुदान लिनको लागि भने उद्योगीहरूसँग अनिवार्य रुपमा प्रतीतपत्र (एलसी) आवश्यक पर्छ भने सरकारले निर्यात अनुदान बैंकहरूमार्फत उद्योगीहरूलाई प्रदान गर्ने गरेको छ ।

यसैबीच उद्योग विभागका प्रवक्ता एवं प्रशासन तथा सुविधा शाखाका निर्देशक विनोद कुमार खड्काले मुलुकको औद्योगिक विकासको लागि सरकारले निर्यात अनुदान कार्यक्रमअनुरुप उद्योगले उक्त अनुदान प्राप्त गरेको बताए । ‘सोहीअनुरुप निर्यात अनुदान हरेक वर्ष उद्योगीहरूले प्राप्त गर्ने गरेका छन्’, प्रवक्ता खड्काले भने, ‘सोहीअनुरुप निर्यातको परिणामअनुरुप उद्योगले अनुदान प्राप्त गरेको हो । यस्तै आव ०७४/७५ र ०७३/७४ मा क्रमशः ८१ अर्ब ३३ करोड र ७४ अर्ब १२ करोड रकमबराबरको सामग्री निर्यात गरेकोमा उद्योगीहरूले अनुदानबापत क्रमशः २१ करोड १३ लाख र २९ करोड तीन लाख प्राप्त गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया