Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसहुलियतपूर्ण कर्जाका लागि खजुरा गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

सहुलियतपूर्ण कर्जाका लागि खजुरा गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता


बाँके ।
राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानमा सम्झौतामा हस्ताक्षर भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति र रावा बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । विभिन्न सात शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा अब खजुरा गाउँपालिका क्षेत्रभित्रका करिब एक सय युवाहरूलाई पालिकाको सिफारिसमा प्रदान गरिनेछ । खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा विना धितो सहुलियत कर्जा प्रदान गर्ने नीति अवलम्बन गरेको थियो ।

कृषि तथा पशुपालन, सीपमूलक र उत्पादनलगायतका क्षेत्रमा लगानीका लागि सिफारिस गरिने पालिकाले जनाएको छ । सहुलियत कर्जा महिला उद्यमीका लागि १ दशमलव ६ र अन्य कर्जामा २ दशमलव ६ प्रतिशत रहेको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै पालिका प्रमुख कक्षपतिले स्थानीय सरकार जमानी बसेर प्रवाह गरिने सहुलियत कर्जाको लागि बुधबारदेखि नै कार्यान्वयनमा जाने बताए ।

राष्ट्रिय वाणिज्य बैंक लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले निर्वाहमुखी नभई व्यवसायीकरणमा जानका निम्ति सहुलियतपूर्ण कर्जा दिने गरेको बताए । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले सीपको पहिचान गर्दै उत्पादनमा जोड्न सहुलियतपूर्ण कर्जा रहेको बताइन् । रावा बैंक कृषि ऋण अधिकृत रोशन सुवेदीले सात शीर्षकमा प्रदान गर्ने सहुलियतपूर्ण कर्जाबारे जानकारी दिँदै ब्याज जोगाउनु नै व्यवसायीको लागि ठूलो उपलब्धि हुने बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया