Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरदाताको संख्या ७३ प्रतिशतले घट्यो

करदाताको संख्या ७३ प्रतिशतले घट्यो


काठमाडौं ।
स्थायी लेखा नम्बर लिने करदाताको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७७/०७८ को असोज मसान्तसम्म ७२ दशमलव सात प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयका अनुसार मूल्यअभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाताको संख्या पनि ५१ दशमलव चार प्रतिशत र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्यासमेत ५६ दशमलव तीन प्रतिशतले घटेको छ । यसले देशको समग्र अर्थतन्त्रमा कोरोना भाइरस कोभिड–१९ ले गम्भीर धक्का पु-याएको प्रष्ट भएको छ ।

स्थायी लेखा नम्बर लिने करदातामध्ये ४० दशमलव २ प्रतिशत मात्र व्यावसायिक करदाता रहेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार गत असोज मसान्तसम्म ३५ लाख ३३ हजार ३४ जनाले स्थायी लेखा नम्बर लिएकामा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १४ लाख १९ हजार छ सय ५८ जना मात्र रहेका छन् ।

२०७७ असार मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिनेहरुको संख्या १३ लाख ५८ हजार नौ सय ३४ जना छन् । असोज मसान्तसम्म ६० हजार सात सय २४ जना थप हुँदा ३८ दशमलव पाँच प्रतिशतले घट्नपुगेको छ । अघिल्लो आवको असोज मसान्तसम्म ९८ हजार सात सय ६० जना करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका थिए । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या पनि अघिल्लो आवको तुलनामा ७८ दशमलव तीन प्रतिशतले घट्न पुगेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को असोज मसान्तसम्ममा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या छ लाख १५ हजार आठ सय ५१ जना रहेकामा चालू आवको असोज मसान्तसम्म एक लाख ३३ हजार आठ सय ४० थप हुँदा अघिल्लो आवको तुलनामा उक्त संख्या ७८ दशमलव तीन प्रशितले घट्न पुगेको हो । कोभिडको कारण भीडभाड गर्न नदिने सरकारको नीतिको कारण स्थायी लेखा नम्बर लिनेको संख्या घटेको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख सात हजार दुई सय ९२ जना अर्थात् कुल करदातामध्ये ५९ दशमलव छ प्रतिशत रहेको छ । करकट्टी गर्ने निकायले लिएको स्थायी नम्बर छ हजार ८४ जना अर्थात् शून्य दशमलव २ प्रतिशत मात्र रहेको छ । अर्थ मन्त्रालयका अनुसार मूल्यअभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाताको संख्या दुई लाख ६६ हजार चार सय ८५ जना रहेको छ । अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या एक लाख ९१ जना मात्र रहेका छन् । कोभिडको कारण करदाताको संख्या वृद्धि गर्न र करको दायरा विस्तारमा समस्या परेको अर्थ मन्त्रालयले जनाएको छ ।

कर तिर्नेहरुको संख्या घट्न गए पनि बीमा गर्नेहरुको संख्यामा भने वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको असोज मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ९४ प्रतिशतले वृद्धि भई ३९ अर्ब ८६ करोड प्रिमियम संकलन भएको जनाइएको छ । कोभिडको कारण जीवन बीमा गराउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । जीवन बीमाको हिस्सा ८१ प्रतिशत र निर्जिबन बीमा गराएको संख्या १९ प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ ।

पछिल्लो समयमा बीमा गर्नेहरुको संख्यामा वृद्धि भएको छ । बीमा गर्नेहरुको संख्या कुल जनसंख्याको २२ दशमलव दुई प्रतिशत र वैदेशिक रोजगार बीमालेखासमेत समावेश गर्दा बीमाको दायरामा आउने जनसंख्याको कुल प्रतिशत २५ पुगेको छ । पुँजीबजार पनि क्रमशः वृद्धि भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । असोज मसान्तको तुलनामा कात्तिकमा पुँजी बजारमा उल्लेख्य सुधार आएको छ । मूल्यवृद्धिमा भने अघिल्लो आवको तुलनामा कमी आएको अर्थ मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया