नरेन्द्रसिंह कार्की
दार्चुला ।
दार्चुलाको ब्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै ब्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा पाँच÷छ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँ समेत परेको छ । हिउँ पर्न थालेपछि चिसो निकै बढेको ब्यास– १ छाङ्रुका योगेश बोहराले जानकारी दिए । उनले भने, ‘पाँच÷छ इन्च हिउँ गाउँमा जमेको छ । हिमपातका कारण चिसो बढेको छ । हिमपातका कारण यहाँको दृश्य मनोरम भएको छ ।’
चिसो बढेसँगै तिङ्करकवासी बुधबार खलङ्गा झर्दै छन् ।
गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन् । छाङ्रुको कुञ्चा भने यही मङ्सिर १९ गते मात्रै झर्ने तयारी भएको स्थानीयवासी बोहराले बताए । जिल्लाका ब्यासी, सौका समुदाय सदरमुकाम खलङ्गा झर्ने तयारी गर्दै छन् । उनीहरू नेपाली भूमि होइन कि भारतीय बाटो भएर सदरमुकाम झर्ने तयारी गरेका हुन् । गत चैतदेखि नेपाल भारत सीमा नाका बन्द छ । ब्यासीहरू आफ्नै भूमि भएर खलङ्गा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलङ्गा झर्ने तयारी भएको ब्यास गाउँपालिका–१ का वडासचिव विनोद बुढाथोकीले जानकारी दिए । गत जेठमा पनि ब्यासीहरू भारतीय भूमि प्रयोग गरेर छाङ्रु तिङ्कर उक्लिएका थिए ।
सरकारले ब्यासीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न बाटो बनाउन नसकेपछि उनीहरूले पुनः विदेशी भूमिको प्रयोग गर्नुपरेको हो । सरकारले ब्यासको छाङ्रु तिङ्करका नागरिकलाई आफ्नो भूमिमार्फत आवतजावत गराउन घाँटीबगरको पाँच सय ५० मिटर घोडेटो बाटो निर्माण ग¥योे । सोे स्थानमा बाटो बने पनि त्योभन्दा अप्ठ्यारो ठाउँ रहेको तम्बाकु भीरमा बाटो बन्न सकेको छैन । स्थानीयवासीले अहिले पनि भारतीय बाटो प्रयोग गर्नुपरेको सचिव बुढाथोकीले बताए । छाङ्रु र तिङ्कर गाउँमा बसोबास गर्ने ब्यासी, सौका समुदाय मंसिरको पहिलो साताबाट खलङ्गा झर्ने तयारीमा छन् । सीमा रक्षक भएर बस्दै आएका दुवै गाउँका स्थानीय हिमपात र चिसो बढेसँगै बेँसी (सदरमुकाम खलङ्गा) झर्ने तयारीमा छन् ।
गत जेठ महिनामा ब्यास उक्लिएका सौका समुदायका ६० परिवार पशु चौपायासहित बुधबार औल अर्थात् खलङ्गा झर्दैै छन् । उनीहरू मंसिर ८ गते मात्रै खलङ्गा पुग्नेछन् । यस्तै एक सय पाँच परिवार मङ्सिर १९ गते ब्यासबाट हिँड्ने तयारी गरेको जनाइएको छ । ब्यासीहरू अहिले खेतीपाती लगाएर खलङ्गा झर्न थालेका हुन् ।
नेपालतिरको कल्जुदेखि तम्बाकु भीरसम्म बाटो अप्ठ्यारो छ । यो ठाउँमा पशु चौपायासहित कुञ्चा आउन सक्ने अवस्था नभएपछि भारतीय पक्षसँग समन्वय गरेर भारतीय बाटोको प्रयोग गर्दै खलङ्गा आउन लागेको उनीहरूको भनाइ छ । ब्यासीहरू छाङ्रुको गागाबाट सीता पुल पार गरेर खलङ्गा आउनेछन् । भारतीय बाटो हुँदै खलङ्गासम्म पुग्दा पनि यात्रा भने त्यति सजिलो हुँदैन । आफ्नो भूमि भएर बाटो नै बनाउन नसकेपछि स्थानीयवासीले फेरि पनि भारतलाई नै आग्रह गर्नुपरेको ब्यासीवासी बताउँछन् । उनीहरू छाङ्रुबाट पहिलो दिन गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाचौं दिन एलागाड हुँदै छैटौं दिनमा सदरमुकाम खलङ्गा पुग्नेछन् ।
ब्यासीको बसाइसराइलाई स्थानीय भाषामा कुञ्चा भनिन्छ । विगतमा नेपालतिर घोरेटो बाटो राम्रो थियो । कैलाश मानसरोवर तीर्थयात्रा जाने तथा तिब्बतको व्यापार गर्ने बाटो यही थियो । त्यो बाटो झण्डै २०५९÷६० सालसम्म चल्यो । त्यसयता बनेका सरकारले लगानी लगाए तर बाटो बनाएनन् । बाटो निर्माण मर्मतको नाममा वर्षेनी बजेट खर्च भयो तर आउँदाजाँदा भारतकै भूमि प्रयोग गर्नुपर्छ । पछिल्लो समय पनि संघीय, प्रदेश सरकार, महाकाली नदी नियन्त्रण आयोजना र ब्यास गाउँपालिकालगायतका कार्यालयबाट बाटोमा खर्च भइरहेको छ । समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको सो गाउँमा हिमपात हुने भएका कारण जाडो छल्न आउनुपर्ने स्थानीयवासीको बाध्यता छ ।
यहाँका स्थानीयवासी कुञ्चा सर्दा सम्पूर्ण परिवारको साथै पशु, खाने रासन, कपडा र भाँडाकुडासहित आउने गर्छन् । खेतीपाती लगाएर आएका ब्यासी पुनः वैशाख, जेठमा खेतीपाती भित्र्याउन उक्लन्छन् । स्थानीय वर्षको एक पटक उवा, नप्पल, तिते फाँपर, पल्ती र आलुजस्ता बाली लगाउने गर्छन् । यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेसा कृषि र व्यापार हो । ब्यासको छाङ्रु र तिङ्करमा मात्रै झण्डै हजार बढी मानिसको बसोबास छ । परापूर्वकालदेखि नै ब्यासीहरूको दोहोरो बसाइ हुँदै आएको छ । उनीहरूको घर, जग्गा जमीन सदरमुकाम खलङ्गामा समेत छ । उनीहरूले ब्यासको छाङ्रु, तिङ्करजस्तै खलङ्गामा तिङ्कर छाङ्रुको बसाइँ छुट्टाछुट्टै बसालेका छन् ।
फोन अवरुद्ध : दुई दिनदेखि परेको हिमपातका कारण ब्यासको छाङ्रुमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवा अवरुद्ध भएको छ । हिमपातले स्काइको टावर रहेको क्षेत्र ढाकेपछि फोन सेवा अवरुद्ध भएको हो । ‘दुई दिनदेखि फोन लाग्न सकेको छैन्’, स्थानीय योगेश बोहराले भने, ‘भायानेटमार्फत खलङ्गामा सञ्चार भइरहेको छ । टावर रहेको ठाउँमा हिउँले पूरै ढाकेको छ ।’ सोलारपाता नै ढाकिएपछि स्काइ फोन लाग्न सकेको छैन । यो क्षेत्रमा नमस्तेको टावर जडान भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
- स्वार्थैस्वार्थको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो
- अपराधलाई संरक्षण गर्ने गलत अभ्यास
- आज फेरि बढ्यो सुनको मूल्य
- प्रहरीद्वारा भन्सार छली भित्र्याइएका सामान बरामद
- चापाकोटमा भएको बम विस्फोटमा गोविन्द पुरी पक्राउ
- गृहमन्त्री रमेश लेखकबाट ई–चलान (डिजिटल चिट) को शुभारम्भ
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया