Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल उद्योग वाणिज्य संघ निर्वाचन

नेपाल उद्योग वाणिज्य संघ निर्वाचन


काठमाडौं ।
निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफईईएन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा किशोर प्रधानको समूहलाई समर्थन गर्ने भएको छ । निर्यात व्यवसायीहरुको नीतिगत आवाज उठाउने संस्थाको रुपमा गठित सो संस्थाले महासंघ वरिष्ठ उपाध्यक्ष किशोर प्रधान र प्रधान समूहका वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई समर्थन गर्ने जनाएको हो ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद राम बहादुर गुरुङले आगामी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र सशक्त टिम चाहिने भन्दै अन्जन र उनको टिमलाई अत्यधिक बहुमतले जिताउन र भोट दिन सबैसँग अनुरोध गरेका छन् । अध्यक्ष गुरुङले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई सशक्तरुपमा अगाडि बढाउनुपर्ने बताएका थिए । त्यसैगरी संस्थाका उपाध्यक्ष शंकर पाण्डेले फिनलाई सहयोगी संस्थाको रुपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए । उनले नयाँ नेतृत्व ‘प्रोएक्टिभ’ हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै संस्थाका अर्का उपाध्यक्ष चण्डी अर्यालले रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र धान्न नसक्ने भन्दै देशभित्रै निर्यातजन्य उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने बताए । महासंघको निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दीर्घकालीन नीतिका लागि आफूले काम गर्ने बताएका थिए । उनले आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने, ‘व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान, म अनि ज्योतिजीको समूहले सशक्त भूमिका निभाउनेछ ।’

आगामी दिनमा देशभित्र रोजगार सिर्जना गर्न र उद्योगमैत्री वातावरण बनाउनका लागि नै सशक्त वस्तुगततर्फको नेतृत्व हुनुपर्ने र त्यो आफूले गर्नसक्ने भन्दै आफूलाई विजयी गर्न श्रेष्ठले अनुरोध समेत गरेका थिए । कार्यक्रममा वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले केही स्वार्थी व्यवसायीहरुका कारण अन्य व्यवसायीहरुले दुःख पाउँदै आएको भन्दै आफ्नो उम्मेदवारीले त्यस्तो स्वार्थलाई निर्मूल गर्ने बताए । आगामी दिनमा गुणस्तरसहितको व्यावसायिक गतिविधि र कामहरु गर्नुपर्ने भन्दै उनले उद्योगी व्यवसायीको हकहितका लागि असल काम गर्दा सरकार बाधक भए पनि अगाडि बढ्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो अहिलेको तीन वर्षको वरिष्ठ उपाध्यक्षको कार्यकालमा महासंघको नेतृत्वलाई केही पूर्वअध्यक्षले चेतावनी दिने गरेकाले काम गर्न समस्या पार्दै आएको अनुभव व्यक्त गरे । उनले आफूले गएको तीन वर्षमा भोगेको नमिठो अनुभवलाई आगामी दिनमा चिर्न र सुधार्नका लागि पनि आफ्नो टिम चाहिने भएकाले प्रधान समूहको टिमकालाई जिताउन अनुरोध गरे । वरिष्ठ उपाध्यक्ष गोल्छाले कोभिड १९ का कारण देशभरका उद्योग व्यवसाय धराशायी भएको भन्दै त्यसलाई उठाउनुपर्ने चुनौती आफ्नो नेतृत्वमा रहेको बताए ।

‘कोभिड १९ ले ल्याएको समस्या दीर्घकालीन हुने बताइएको छ र त्यो मेरा लागि अवसर र चुनौती दुवैको रुपमा आएको छ, अवसरको रुपमा बदल्नका लागि सशक्त टिम चाहिन्छ र त्यो किशोर प्रधान समूहको टिमले गर्न सक्दछ’, वरिष्ठ उपाध्यक्ष गोल्छाले भने । नेपालको अर्थतन्त्र उच्च लागतसहितको भएको भन्दै त्यसलाई नघटाएसम्म निर्यात प्रतिस्पर्धी हुन नसक्ने भन्दै गोल्छाले नेपालको ब्राण्डिङ गरेर उत्पादन बिक्री गर्ने वातावरण बनाउन आफ्नो टीम दत्तचित्त भएर लाग्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया