Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइने

एक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइने


तनहुँ ।
एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाइएको छ । एक सय ४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य थालिएको हो । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित उक्त आयोजनाबाट जिल्लाको साबिक १७ वटा गाउँ विकास समिति प्रभावित भएका छन् । प्रभावित भएका क्षेत्रमा बिजुली विस्तारका कार्य भइरहेको आयोजना व्यवस्था निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना (तनहुँ विद्युतीकरण आयोजना)का साइट इन्चार्ज लक्ष्मण रेग्मीले बताए ।

उक्त आयोजनाबाट प्रभावित झण्डै सात हजार घरधूरीका बासिन्दा अन्धकारमा जीवन बिताउन बाध्य छन् । उनले भने, ‘विद्युत् विस्तारकार्यका लागि डेढ वर्षे आयोजना सुरु भए पनि बाढीपहिरो र कोरोनाका कारण सोचेअनुरुप प्रगति गर्न नसकिएको हो ।’ पुनः छ महिना म्याद थप गरी आयोजनाको कार्य सुरु गरिएको छ । उनले भने, ‘सेती नदीको दक्षिण र काली नदीको उत्तर क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ ।’ जिल्लाको घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिकाको पूरै, शुक्लागण्डकी, व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनीका बाँकी रहेका क्षेत्रमा विद्युत् विस्तार गर्ने काम भइरहेको उनले जानकारी दिए । बन्दीपुर गाउँपालिका–६ स्थित सराङघाट र घिरिङ गाउँपालिका–४ को सामुङमा गरी कुल तीन करोड रुपैयाँको लागतमा सबस्टेसन निर्माण भइरहेको छ ।

घिरिङ गाउँपालिकाको अन्य क्षेत्रमा बिजुली पुगे पनि गड्यौलीटारमा भने अझै पु-याउन बाँकी छ । उनले भने, ‘त्यस क्षेत्रमा तत्काल विद्युत् सञ्चालन गर्ने गरी काम भइरहेको छ ।’ सबस्टेसन जडानका लागि आवश्यक पर्ने उपकरण करिब ८० प्रतिशत आइसकेको र तारहरू आउन बाँकी रहेको बताइएको छ । विद्युत् प्राधिकरण तनहुँको कार्यक्षेत्रभित्र रहेका करिब ९५ प्रतिशत क्षेत्रमा विद्युत् पहुँच पुगिसकेको प्राधिकरणका सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले जानकारी दिए ।

तनहुँका सबै पालिकामा विद्युत् पुगेको भए पनि भित्री क्षेत्रमा छरिएर रहेको बस्तीमा विद्युत् पु-याउन नसकिएको हो । उनले भने, ‘त्यस्ता क्षेत्रमा विद्युत् विस्तार गरी अन्धकारमुक्त बनाउनका लागि प्राथमिकतामा राखेर काम थालिएको छ ।’ विद्युत् प्राधिकरण तनहुँबाट मात्रै करिब ३६ हजार घरधुरीमा विद्युत् लाइन विस्तारकार्य भइसकेको प्राधिकरणले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिकास्थित थर्पु बजारदेखि स्याङ्जा र कास्कीसँग जोडिएको पालिकामा कास्की लेखनाथ विद्युत् प्राधिकरण केन्द्रको कार्यक्षेत्र रहेकाले त्यस क्षेत्रको तथ्यांकका बारेमा भने आफूलाई जानकारी नभएको उनले बताए ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित भएका घरपरिवारलाई पहिलो स्थानमा राखेर विकास निर्माणकार्य भइरहेको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली विस्तारका लागि विद्युत्पोल गाड्ने, लाइन विस्तार र सबस्टेसन निर्माणलगायतका काम दु्रतगतिमा अघि बढाइएको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए । वि.सं. २०६८ को जनगणनाअनुसार तनहुँको जनसंख्या तीन लाख २३ हजार दुई सय ८८ रहेको छ । तनहुँमा ७८ हजार ३ सय ९ घरधूरी रहेका छन् भने दुई हजार ३ सय ६२ बस्तीमा छरिएर रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया