Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिनियाँ प्रतिवेदनको निष्कर्ष : नवलपरासीको खानीमा ९९ प्रतिशत फलाम भेटियो

चिनियाँ प्रतिवेदनको निष्कर्ष : नवलपरासीको खानीमा ९९ प्रतिशत फलाम भेटियो


काठमाडौं ।
चीनले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाँडामा भेटिएको फलाम खानीको नमूना परीक्षण प्रतिवेदन नेपाललाई बुझाएको छ ।कात्तिकमा नेपाल पठाइएको उक्त रिपोर्ट (प्रतिवेदन)मा ९९ प्रतिशत फलाम रहेकोे खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ । धौवादी डाँडामा भेटिएको धौवादी फलाम खानीमा फलामको मात्रा कति छ भनेर परीक्षणको लागि कच्चा पदार्थ चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जियोलोजी एण्ड एक्स्प्लोरेसन छेन्दुमा पठाइएको थियो ।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक जयराज घिमिरेले धौवादी फलाम खानीबाट परीक्षणको लागि लगिएको कच्चा पदार्थमा ९९ प्रतिशत फलाम भेटिनु सकारात्मक विषय भएको बताए । ‘सो रिपोर्टअनुरुप परीक्षण उत्पादन नगरी उत्खनन गर्न सकिन्छ अर्थात् अब औद्योगिक क्षमतामा उत्पादन सुरु गर्न सकिन्छ’, प्रवक्ता एवं उपमहानिर्देशक घिमिरेले आर्थिक दैनिकसँग भने, ‘यसले प्राविधिक रुपमा तयार भयौँ भन्ने हो ।’

यसले गर्दा के प्रमाणित हुन्छ भने धौवादी फलाम खानी अर्थात् सो क्षेत्रमा फलामको मात्रा आवश्यताअनुरुप रहेको उनले बताए । उनले अघि भने, ‘अबको हाम्रो कार्य भनेको आयोजना अघि बढाउनको लागि सहजता अध्ययन तथा विस्तुत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउनतर्फ लाग्नेछौँ ।’ यस्तै उनले खानीबाट उत्खनन गरिएको कच्चा पदार्थबाट फलाम छुट्याउन र त्यसपछि फलाम तयार गर्नको लागि दुईवटा प्रशोधन अर्थात् खानीबाट झिकेको कच्चा पदार्थबाट फलाम तयार गर्नको लागि दुईवटा प्रक्रिया आवश्यक रहेको बताए ।

यस्तै नेपालका भूगर्भविद्हरूले गरेको अध्ययनमा समेत यहाँको कच्चा पदार्थमा ५० प्रतिशतभन्दा बढी फलाम निकाल्ने तत्व भेटेका थिए । उनीहरूले गरेको अध्ययनअनुरुप विभिन्न क्षेत्रको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको छ भने फलाम खानीका लागि ६० प्रतिशत हेमटाईडेवर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यमखालको मानिएको छ । उनीहरूले सरकारलाई बुझाएको प्रतिवेदनमा धौवादी क्षेत्रमा भेटिएको फलाम खानीमा च्यानल ग्याप कम रहेकोले फलामको मात्रा प्रचुर मात्रामा रहेको निष्कर्ष प्रस्तुत गरेका छन् ।

यसैबीच चीनबाट रिपोर्ट प्राप्त हुनासाथ सरकारले फलाम उत्पादन सुरु गर्ने बताउँदै आएको छ भने यसका लागि उसले कानुनी रुपमा काम अघि बढाउन समिति समेत गठन गरिसकेको छ ।सरकारले गत वर्षको बजेटमा नै सो स्थानबाट फलाम निकाल्नको लागि धौवादी फलाम कम्पनी लिमिटेड बजेटमा गठन गरेको थियो ।
सरकारले कम्पनीको सञ्चालक समितिको अध्यक्षमा उद्योग वाणिज्य मन्त्रालयका सहसचिव सोमकान्त पौडेललाई तोकेको थियो भने समितिमा अन्य चार जना सदस्य रहेका छन् ।

उद्योग मन्त्रालयका सहससचिवको साथै समितिमा विभागका महानिर्देशक सोमप्रसाद सापाकोटा, उद्योग र अर्थ मन्त्रालयका सहसचिव र सडक विभागका सहसचिव रहेको पाँच सदस्य समिति गठन भएको हो ।यस आर्थिक वर्ष (०७७÷०७८) देखि व्यावसायिक उत्पादन गर्ने बताउँदै सरकारले आफ्नो नीति तथा कार्यक्रममा उक्त कार्यक्रम राखेको थियो । यसरी चीनबाट सकारात्मक रिपोर्ट आउनु तथा सरकारले पनि व्यावसायिक उत्पादन थाल्ने बताउँदा सो स्थानमा रहेका चार सय घरपरिवारका करिब २८ सय बासिन्दा विस्थापित हुनसक्ने हुम्सीकोट गाउँपालिकाले जनाएको छ ।

स्थानीयका अनुसार हुम्सीकोट र बौदीकाली गाउँपालिकाको १० किलोमिटरमा फैलिएको सो फलाम खानीका कारण हुम्सीकोट गाउँपालिकाका वडा नं. ४, ५, ६ का चार सयभन्दा बढी र बौदीकाली गाउँपालिका विशेष गरी वडा नं. ५ का करिब दुई सय घर परिवार विस्थापित हुने बताइएको छ । विभागले खानी उत्खनन तथा सञ्चालनको लागि दुई अर्ब रुपैयाँ माग गर्दै आए पनि सरकारले भने पहिलो चरणअन्तर्गत अर्थात् गत वर्ष २५ करोड रुपैयाँ प्रदान गरेको थियो भने धौवादी फलाम खानीको कार्यालय भने काठमाडौंको, लैनचौर खानी तथा भूगर्भ विभाग परिसरभित्र छ । विभागले २०६८ सालबाट धौवादी खानीको अध्ययन सुरु गरेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया