Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखोप निर्माणको सफलतामा उत्साह तत्काल उपलब्ध हुनेमा निराशा

खोप निर्माणको सफलतामा उत्साह तत्काल उपलब्ध हुनेमा निराशा


केदार सुवेदी
कोरोना प्रकट भएको वर्ष दिन पुग्न लागेकै समयमा संसारभरका मान्छेमा नै उत्साह र आशा पलाउने किसिमका समाचार धमाधम आउथालेका छन् । यो दशैँ र तिहारको बीचमा अमेरिकाका दुईवटा कम्पनीले माजनवजातिकै हितका लागि हुनेखालका भ्याक्सिनको परीक्षणको अन्तिम चरण पार गरेको जानकारी गराए । यी दुईवटा भ्याक्सिनले कोभिडविरूद्ध ९५ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएका अवस्था वास्तवमा नै यति बेलासम्म अजेय मानिएको कोरानामाथिको विजययात्रा सुरु भएको रुपमा लिनुपर्ने हुन्छ ।

अमेरिकाको यी दुईवटै कम्पनीका भ्याक्सिन यतिबेला वितरणका लागि अनुमतिको प्रतीक्षामा छन् । यो समाचारले नेपाली जनता पनि उत्साहित हुनु स्वाभाविक नै हो । कोरोनाको रोकथाममा सरकारको व्यवस्थापन जसरी ठाउँठाउँमा चुक्यो र बढी क्षति गराएको आरोपमा प-यो, सरकारको त्यस्तो व्यवस्थापनले त्यस्तो भ्याक्सिन यथा समयमै ल्याउला र उपलब्ध गराउला भन्ने विश्वास आमनागरिकले गरिरहेको अवस्था छैन ।

कोभिड–१९ विरूद्धका भ्याक्सिनहरू अन्तिम चरणमा पुगेका कुरा एउटा हो तर त्यो हामीसम्म कसरी आइपुग्छ भन्ने अत्तोपत्तो अझै पाइसकिएको छैन । नेपालमै पनि कोरानाने देखियो माघमा त्यसको जाँचपडताल गर्ने उपकरणहरू आए वैशाखमा । सरकारको कार्य तत्परताको यस्तो विगतको उदाहरणले नै हो भ्याक्सिन सर्वसुलभतामाथि आमतहबाट व्यापक प्रश्न उठिरहेको अवस्था ।

अमेरिकारको फाइजर कम्पनीले तयार गरेको खोप ९० प्रतिशत व्यक्तिमाथि सफल भएको दाबी गरिएको थियो  । तर त्यसको प्राविधिक जटिलताले पनि हामीकहाँ त्यसको उपलब्धता आशाजनक थिएन । माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने प्रकृतिको थियो यो खोप । त्यसकारण खोपको मात्रा उपलब्ध भए पनि सरकारले तत्कालै त्यस्तो व्यवस्था गर्ला भनी कसैले पत्याएका थिएनन् । निराश हुने कारण यो पनि बन्यो ।

यही बीचमा अमेरिकाकै बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३ को प्रभावकारिता साढे ९४ं प्रतिशत देखियो । यो बढी सुरक्षित भएरमात्र होइन यो खोपका प्राविधिक पक्ष पनि सहज देखिए । जस्तो मोडर्ना २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित राख्न सकिने भन्ने अवस्थाले यसप्रति आश बढाएको हो पहुँचका हिसाबले पनि । मोडर्नाको विज्ञप्तिमै भनिएको छ, ‘यो खोपलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म सुरक्षित राख्न सकिन्छ । यो भनेको आयातदेखिका सबै पक्षमा सहज हुनु हो ।’

विज्ञहरूका अनुसार पनि यस्तो तापक्रम भनेको अहिले जे छ त्यही हो त्यसका लागि नयाँ केही गर्नै पर्दैन । केवल यसको मात्र बढीभन्दा बढी प्राप्त गर्नेमा पहल गरे पुग्छ । यो खोप अमेरिकामा आउँदो हप्तादेखि वितरण सुरु हुने बताइएको छ । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट आपत्कालीन प्रयोगका लागि अनुमति पाएपछि यो वितरणमा आउनेछ । यसको अर्थ हो एक प्रकारले खोप सुरु भइसक्यो भने पनि हुन्छ । खोप उत्पादन र सुरक्षा आफ्ना ठाउँमा छन्, त्यसलाई उपलब्ध गराउने सरकारको पहल महत्वको विषय हो । त्यसले नै आफ्ना नागरिकसँग सरकारको सुसम्बन्ध जोडाउँछ । विगतकै जस्तो यस्ता सम्वेदनशील विषयमा पनि कसैलाई लाभ पु¥याउने नियतले काम गर्न थालियो भने यो विषय डरलाग्दै हुनेछ ।

यति बेलाको महत्वपूर्ण विषय हो संसारभर जहाँ उत्पादान भएका हुन्, ती खोप बजारमा आउनासाथ आम नेपालीले पाउनसक्ने वातावरण बनाएको भन्ने सन्देश सरकारले दिनसकेको छैन । सरकारी अधिकारीका अनुसार विश्वव्यापी कोभिड–१९ भ्याक्सिन पहुँच (कोभाक्स) को निरन्तर सम्पर्कमा रहेको अवस्थाचाहिँ छ  । कोभाक्स गरिब र धनी सबै मुलुकलाई प्रभावकारी खोप सुनिश्चित गर्ने व्यवस्था गर्ने अन्तर्राष्ट्रिय निकाय हो ।

तर यतिले मात्रै नपुग्न सक्तछ । कोरोनाका सुरु बेलामा एउटा देशका लागि पठाइएको वस्तु अर्कै देशमा पुगेका उदाहरण छन् । खोप भनेको प्रत्यक्ष जीवनमरणसँग जोडिएको विषय भएको हुँदा त्यसबेलाका परीक्षण प्रविधिभन्दा खोपको डोजमा झनै बढी हारालुछ हुने अवस्था हुन्छ सुरुका दिनमा ।

विज्ञहरूका अनुसार कोभिड–१९ विरुद्घको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिनु एकदमै सकारात्मक हो, सामान्य इन्फ्लुएन्जा विरुद्घको खोपको प्रभावकारिता ४० देखि ६० प्रतिशतसम्म हुन्छ , दादुराका दुई खोप ९७ प्रतिशतसम्म प्रभावकारी छन्, कोभिड–१९ को ९५ प्रतिशत प्रभावकारी देखिएको अवस्था एक प्रकारले जीवन रक्षाका लागि ठूलो कडी हो भन्ने यो आफैँ एउटा जानकारी भइरहेको अवस्था छ ।

यसको अर्थ हो खोप बनिसक्यो । खालि अब यसको प्राप्तिमा सरकारको पहल कस्तो हुन्छ भन्ने हो । विभिन्न जानकारीअनुासर हाल विश्वभरि कोभिड–१९ विरुद्घ २ सय १२ खोप उत्पादनमा काम भइरहेको छ । यसमध्ये ४८ खोपको क्लिनिकल परीक्षण भइरहेको छ । तीमध्ये ११ खोपको अन्तिम परीक्षण भइरहेको छ । यसको अर्थ हो यी परीक्षणहरू सफल भए भने खोपका मात्राहरू बढ्छन् नै । यतिबेला छिमेकी देश भारत र चीनका परीक्षण पनि अन्तिम चरणमा पुगेका छन् । बताइएअनुसार चीनले तयार पारेका कोरोनाविरुद्धका चार खोप अन्तिम परीक्षणमा छन् ।

रुसको स्पुतनिक तेस्रोचरण पार गरिसकेको खोप हो । यसले पनि ९२ प्रतिशत सफल भएको बताएको छ । यो खोप त दुई महिनाअघि नै नेपालका लागि २ करोड ५० लाख डोज उपलब्ध गराउने भनी चर्चामा आएका थियो । विज्ञहरूले गरको अनुमानअनुसार करिब ४ करोड हाराहारीमा डोज उपलब्ध भयो भने सबैले पाउनेछन् । अहिलेसम्म सफल भएका यी खोपहरू हप्ता/दुई हप्ता बिराएर दुई डोज दिनुपर्ने खालका छन् ।

यी सबैले बताउँछन् अबको युग भ्याक्सिनको हो । त्यो प्राप्त गर्न र सहज वितरण गर्न सरकारले कस्तो मापदण्ड बनाएको छ भन्नेमा पनि धेरै कुरा निर्भर हुन्छ । विगतमा के देखियो भने अन्तिममा आएर सरकारले हात उठाउने कामा भयो । जस्तो कोरोनाको संक्रमण जुनबेला व्यापक भयो र त्यो झनै बढ्दै गइरहेको बेला साधनस्रोतले भ्याएन भनेर परीक्षण र उपचारबाटै हात झिकेका उदाहरण केही दिनअघिका मात्र हुन् । स्वाभाविक छ खोपको उपलब्धता जो कोहीको पनि चाहना हुन्छ । यो एकैपटक दुर्गम सुगम सबैतिर पुग्नुपर्छ । त्यसका बारे सरकारका योजना कस्ता छन् भन्ने कतै प्रकट भएको छैन । यसले पनि खोप निर्माण भएको उत्साहसँगै तत्काल उपलब्ध हुने नहुने शंकाले निराशा बढिरहेको अवस्था छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया