Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई ताकेता

कोरोनाको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई ताकेता


काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि सूचीकृत अस्पताहरूलाई निःशुल्क उपचार गराउन पुनः निर्देशन दिएको छ । यसअघि नै सरकारले निःशुल्क उपचार गराउन भने पनि केही अस्पतालहरूले नमानेपछि मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख डा. समीरकुमार अधिकारीले बुधबार जारी गरेको विज्ञप्तिमा गरी निःशुल्क उपचार गरेर शोधभर्नाका लागि नियमानुसार निवेदन दिन आग्रह गर्दै निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने जनाइएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारले कोरोनाको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको हो । अस्पतालहरूले बिरामीसँग पैसा असुल नगरे पनि निःशुल्क उपचार गराएपछि सरकारसँग शोधभर्ना लिन पाउने व्यवस्था गरिएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छ हजार ७ सय ३१ नमूना परीक्षण गर्दा ९ सय ८ पुरुष र ५ सय ३४ महिलामा गरी कुल एक हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त संख्यामध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार ३८ जना नयाँ संक्रमित फेला परेका छन् ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख १२ हजार ९ सय १७ पुगेको छ । २४ घण्टामा तीन हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक लाख ८२ हजार ७ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जुन कुल संक्रमितको ८५.८ प्रतिशत हो । २८ हजार ८ सय ७८ सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा छन् भने ३ सय २६ जनाको आईसीयू र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५ सय बढी सक्रिय संक्रमित छन् भने मनाङमा सक्रिय संक्रमित छैनन् । बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार २ सय ५९ पुगेको छ ।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो । हाल अनलाइनलगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय खोल्ने आधार तयार गरेको हो । कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य सुरु गरिसकेको छ । यही मंसिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्तांकका लागि प्रत्यक्ष परीक्षा हुँदै छ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय (होम सेन्टर)का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ । परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशंका पैदा भएकाले प्रत्यक्ष परीक्षा हुनलागेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया