Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२५ जिल्ला अध्यक्षहरूको भोट प्रधान समूहलाई !

२५ जिल्ला अध्यक्षहरूको भोट प्रधान समूहलाई !


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरूले वरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समूहलाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार नेपालगञ्ज उद्योग वाणिज्य महासंघले लुम्बिनी र कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरूको उपस्थितिमा भएको भेलामा जिल्ला अध्यक्षहरूले महासंघको सुदृढीकरण र शुद्धीकरणका लागि प्रधान समूहले अगाडि सारेका मुद्दामा आफूहरूको प्रतिबद्धता जाहेर गर्दै प्रधान समूहको पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा निर्वतमान अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष कुशकुमार जोशीले महासंघलाई सबल नेतृत्व प्रदान गर्न वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको विकल्प नरहेको बताए । मंसिर १३ गतेबाट स्वतः अध्यक्ष बन्ने शेखर गोल्छाले आफ्नो कार्यकाल सफल बनाउन किशोर प्रधान समूह रोजेकाले अत्यधिक मत दिएर संस्थापन पक्षलाई विजयी गराउन निवर्तमान अध्यक्ष मुरारकाले आग्रह समेत गरे । लुम्बिनी र कर्णालीका जिल्ला अध्यक्षहरूको भेलालाई अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छाले भिडियो सन्देशमार्फत किशोर प्रधान र उनको समूहलाई विजयी गराउन अपिल समेत गरेका थिए ।

भेलाको आयोजना गरेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल बाहिर मन्सुरीले भेलामा दुईवटा प्रदेशका २५ जिल्ला अध्यक्षहरूले सामूहिक रुपमा गोल्छा नेतृत्वको किशोर प्रधानको टिमलाई मत दिएर निर्वाचित गराउने निर्णय गरेको जानकारी दिए । भेला समापनपछि निकै प्रफुल्ल मुद्रामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधानले कर्णाली र लुम्बिनी प्रदेशबाट आफ्नो समूहलाई ८० प्रतिशत मत प्राप्त हुने दाबी गरेका छन् । प्रधानले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गलत प्रचार र दाबीको पछाडि नलाग्न आग्रह गरे । उनले यसपालिको निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको बताए ।

भेलामा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर राउत, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा, हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल लामा, डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालीमान बुढा, जाजरकोटा उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्री, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णाकुमार रेग्मीलगायतका २५ जिल्ला अध्यक्षहरू भेलामा सहभागी थिए । भेलालाई पूर्वअध्यक्षका अलावा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधान, जिल्लानगरका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र जिल्ला नगरबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीलगायतले सम्बोधन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया