Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीलाई छेकेन कोभिडले

वैदेशिक रोजगारीलाई छेकेन कोभिडले


काठमाडौं  ।
कोभिड १९ महामारीको समयमा पनि नेपाली युवाहरू वैदेशिक रोजगारीमा गएको पाइएको छ । उनीहरू काम गर्नकै लागि ५० भन्दा बढी मुलुक अर्थात् एसिया, युरोप, अमेरिकादेखि अफ्रिकन (माल्दिभ्स, जापान, जर्मनी, पोर्चुगल, अमेरिका, नाइजेरिया, स्विडेन इत्यादि) मुलुकमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार चार महिना (साउनदेखि कात्तिक)को अवधि अर्थात् चालू आर्थिक वर्ष (०७७/७८) अवधिमा तीन हजार चार सय ६३ जना युवाहरू कामको लागि विदेश गएका छन् भने ती युवाहरू मेनपावर, आफ्नै पहलमा श्रम स्वीकृति लिएर कामका लागि ५० भन्दा बढी मुलुक गएका हुन् ।

चार महिनाको अवधिमा पछिल्लो महिना अर्थात् कात्तिक महिनामा विदेश जाने युवाहरूको संख्या बढी रहेको छ । वैदेशिक रोजगारीका लागि खाडीलगायत विभिन्न मुलुक पुग्ने युवाहरूमध्ये कात्तिक महिनामा मात्र मेनपावरमार्फत सात सय ७० जना पुरुष र ९२ जना महिला गरी कुल आठ सय ६२ जना, व्यक्तिगत श्रम स्वीकृति लिनेमा तीन सय ५९ जना पुरुष र ५५ जना महिला गरी कुल चार सय १४ र व्यक्तिगत पुनः श्रम स्वीकृति लिनेमा दुई सय ८८ जना पुरुष र १९ जना महिला गरी कुल तीन सय सात जना रहेका छन् ।

यस्तै असोजमा मेनपावरमार्फत पाँच सय ५५ जना पुरुष र ७१ जना महिला गरी कुल छ सय २६ जना, व्यक्तिगत श्रम स्वीकृति लिनेमा चार सय १४ जना र एक सय दुई जना कुल पाँच सय १६ जना, व्यक्तिगत पुनः श्रम स्वीकृति तीन सय ८१ जना पुरुष र १९ जना महिला गरी कुल चार सय जना युवाहरू वैदेशिक रोजगारमा गएका छन् ।

यस्तै वैदेशिक रोजगारीका लागि खाडीलगायत विभिन्न मुलुकमा जाने युवाहरूमध्ये भदौमा मेनपावरमार्फत ४४ जना पुरुष र पाँच जना महिला गरी ४९ जना, व्यक्तिगत श्रम स्वीकृति लिनेमा ६२ जना पुरुष र पाँच जना महिला गरी कुल ६७ जना, व्यक्तिगत पुनः श्रम स्वीकृति लिनेमा ७३ जना पुरुष र नौ जना महिला गरी कुल ८२ जना रहेका छन् भने साउनमा व्यक्तिगत पुनः श्रम स्वीकृति लिनेमा एक सय २० जना पुरुष र २० जना महिला गरी एक सय ४० जना रहेका छन् । यस्तै विभागका अनुसार विदेश जानेमा मुलुकको राजधानी काठमाडौंका युवाहरूदेखि लिएर दुर्गम जिल्ला कालिकोट, डोटी, दार्चुला, जाँजरकोट, कैलाली, डडेल्धुरालगायत ७० भन्दा बढी जिल्लाका युवाहरू रहेका छन् ।

कोभिड महामारी हालसम्म रोकिएको छैन भने सरकारले महामारी नियन्त्रणको लागि हाल कुनै ठोस कदम चालेको पाइँदैन । मुलुकमा सुरुको समयमा कोभिड देखापर्दा भने बन्दबन्दी गरेको तथा श्रम स्वीकृति समेत बन्द गरेको सरकारले पछिल्लो समय भने बन्दाबन्दी र श्रम स्वीकृति खुल्ला गरेसँगै युवाहरू मुलुकभित्रै कामका लागि एक ठाउँबाट अर्को ठाउँमा पुग्नुको साथै कामका लागि विदेश गएको पाइन्छ । फागुन ३० गतेदेखि बन्द गरेको श्रम स्वीकृति सरकारले असार १८ गते बिहीबारदेखि खुल्ला गरेको थियो भने श्रम स्वीकृति खुल्ला गरेसँगै युवाहरू विदेश गएका हुन् । नेपाली युवाहरू कामका लागि श्रम सम्झौता गरेका मुलुकदेखि लिएर श्रमसम्झौता नभएका मुलुकहरूसम्म पुगेको पाइन्छ ।

नेपालले मलेसिया, खाडीका अधिकांश मुलुक, दक्षिण कोरियालगायतका मुलुकसँग श्रम सम्झौता गरेको छ भने अमेरिका, बेलायत, जर्मनी, पोर्चुगल, सोमालिया, सुडानलगायतका युरोपियन, अमेरिकन तथा अफ्रिकन मुलुकसँग भने श्रम सम्झौता गरेको छैन भने श्रम सम्झौताविना पनि युवाहरू ती मुलुकमा जानको लागि श्रम स्वीकृति लिने गरेको पाइन्छ । यसरी श्रम सम्झौता नभएका मुलुकमा भने व्यक्ति स्वयं आफ्नो प्रयासमार्फत जाने गरेको विभागका अधिकारीहरूको भनाइ छ । यस्तै विदेश जाँदा भने युवाहरूलाई कोरोना रिपोर्ट नेगेटिभ अनिवार्य गरिएको छ अर्थात् नेगेटिभ रिपोर्टविना हवाइ यात्रा गर्न प्रतिबन्ध रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया