भीमदत्तलाई महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने अनुमति
धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । नगरपालिकाले महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटीई)बाट महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि अनुमति पाएको हो ।
सीटीईभीटीईको गत २६ कात्तिकमा बसेको परिषद्को बैठकले भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारी स्वरुपमा कार्यक्रम सञ्चालन गर्न बहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको हो । भीमदत्त नगरपालिकाले महाकाली अस्पतालसँगको साझेदारीमा बहुप्रादेशिक शिक्षालय सञ्चालनका लागि सीटीईभीटीईसँग अनुमतिका लागि आवेदन दिएको थियो । देशका सात सय ५३ पालिमामध्ये भीमदत्त नगरपालिकाले बहुप्रादेशिक शिक्षालय सञ्चालनका लागि अनुमति पाएको पहिलो पालिका भएको दाबी गरेको छ ।
स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको सीटीईभीटीईले भीमदत्त नगरपालिकालाई चालू शैक्षिक सत्र २०७७/०७८ बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको हो । सीटीईभीटीईले प्रमाणपत्र तहका सात विषयका कार्यक्रम सञ्चालन गर्न, भौतिक सामग्री तथा मेसिन औजार र प्रशिक्षकको व्यवस्थापन पूर्वाधार निर्देशिका, पाठ्यक्रमबमोजिम गुणस्तरीय प्रशिक्षकका लागि व्यवस्था गर्न अनुमति दिएको भीमदत्त नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले अनुमति पाएसँगै कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टका अनुसार प्रमाणपत्र तहका नर्सिङ, सामान्य चिकित्सा, मेडिक ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन हुने छन् ।
सातै विषयमा ४० का दरले दुई सय ८० विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । शनिबार एक कार्यक्रमका बीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षालयका कक्षा सञ्चालनका लागि अनुमतिपत्र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षा विस्तार हुने विश्वास दिलाए । ‘चिकित्सा शिक्षा आयोगबाट अन्तिमपत्र पाउन मात्रै बाँकी हो’, उनले भने, ‘त्यो पनि छिट्टै हुन्छ ।’ मन्त्रालयले भीमदत्त नगरपालिका जस्तै देशभरका सबै पालिकामा प्राविधिक शिक्षा पठनपाठनका लागि खाका तयार पारेको बताए ।
‘डिप्लोमास्तरको प्राविधिक शिक्षा पालिकाले समेत सञ्चालन गरे, शिक्षा व्यावसायिक र सीपमूलक हुन्छ’, उनले भने, ‘यसबाट आवश्यक जनशक्ति र रोजगारी सृजना हुन्छ ।’ महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सीटीईभीटीईबाट बहुप्राविधिक शिक्षालयले अनुमति पाएसँगै यस क्षेत्रको शैक्षिक विकास हुने बताए । ‘यसबाट एक क्षेत्र मात्र नभई बहुक्षेत्र लाभान्वित हुन्छन्’, उनले भने, ‘दक्ष स्वास्थ्य जनशक्तिबाट सेवा विस्तार हुन्छ ।’ कार्यक्रम अत्यन्तै नयाँ र नमूना भएको बताउँदै अध्यक्ष जोशीले यसलाई अघि बढाउनका लागि सबै पक्षको हातेमालो आवश्यक रहेको औँल्याए ।
कञ्चनपुरमा बहुप्राविधिक शिक्षालय स्थापनासँगै यस क्षेत्रका स्थानीय एव विद्यार्थी समेत हर्षित भएका छन् । अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरीले यसअघि निजी कलेजमा बढी शुल्क लिएर अध्ययनरत विद्यार्थीलाई सहुलियत हुने बताए । ‘सरकारले प्राविधिक शिक्षालाई समेत सरकारीकरण गर्दै छ, त्यो, राम्रो काम पनि हो’, उनले भने, ‘यसबाट विद्यार्थी बढी लाभान्वित हुन्छन् ।’
विद्यार्थीले बाह्य गएर बढी शुल्क तिरेर पढ्नुपर्ने बाध्यता हट्दै जनशक्ति समेत उत्पादन हुने बताए । अभिभावक संघ कञ्चनपुरका सचिव कर्ण बहादुर चन्दले बहुप्राविधिक शिक्षालय स्थापनासँगै विद्यार्थी र अभिभावक समेत लाभान्वित हुने बताए । ‘सस्तो, सुलभ, गाउँघरमै, बसेर विद्यार्थीले सीपमूलक शिक्षा आर्जन गर्न पाउँछन्’, चन्दले भने, ‘यसबाट अभिभावकलाई समेत आर्थिक भार हुँदैन ।’ शिक्षालय कञ्चनपुरमा स्थापना भएसँगै अभिभावक हर्षित भएको उनले बताए । जनप्रतिनिधिले समेत यस क्षेत्रमा सरकारी तहबाट बहुप्राविधिक शिक्षालय स्थापनासँगै प्रदेशकै विकास हुने बताएका छन् ।
भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले चुनावी प्रतिबद्धता र जनताको चाहना, समसापेक्ष शिक्षाको मागअनुरुप सीटीईभीटीईबाट सम्बन्धन प्राप्त शिक्षालय ल्याएको बताए । ‘हिजो हामीले जनतासँग जुन जीवनोपयोगी, सीपमूलक शिक्षा बनाउने प्रतिबद्धता जाहेर गरेका थियौँ, त्यहीअनुरुप एक कदमअघि बढेका हौँ’, मेयर विष्टले भने, ‘अब यसलाई अघि बढाउँछौँ ।’ आम नागरिक एवं सरोकारवालाको सहकार्य, साथ समर्थनमा नयाँ अभ्यास एवं कार्यको थालनी भएकाले मेयर विष्टले बताए । ‘अब सम्बन्धन पाइसकेका छौँ’, मेयर विष्टले भने, ‘बाँकी भौतिक पूर्वाधार जनशक्तिको काममा अघि बढ्छौँ ।’
संविधानसभा सदस्य टिकेन्द्र प्रसाद भट्टले बहुप्राविधिक शिक्षालयसँगै यस क्षेत्रको विकास हुने अपेक्षा राखे । उनले स्थानीय तह भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा सञ्चालन हुने शिक्षालयले दिगोपन हुनुपर्ने सुझाव दिए । सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले प्रदेशका तर्फबाट बहुप्राविधिक शिक्षालयको वृद्धि विकास एवं अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् । ‘यहाँबाट नयाँ कामको सुरुवात भएको छ’, उनले भने, ‘आगामी प्रदेशको बजेटमा समेटछौँ ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया