Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाँच ठूला भारतीय कम्पनीले मार्केट क्यापमा गुमाए १० खर्ब

पाँच ठूला भारतीय कम्पनीले मार्केट क्यापमा गुमाए १० खर्ब


नयाँ दिल्ली ।
भारतीय १० ठूला कम्पनीमध्ये पाँचवटाले बजार पुँजीकरण (मार्केट क्याप)मा १० खर्ब ७१ अर्ब ६० करोड भारु गुमाएका छन् । गत हप्ताको बजार मूल्यांकनअनुसार पाँच कम्पनीले उक्त कुल नोक्सानी व्यहोरेको टाइम्स अफ इन्डियाले जनाएको छ । यसमा सबैभन्दा धेरै गुमाउनेमा रिलायन्स इन्डस्ट्रिज रहेको छ । त्यस्तै टाटा कन्सल्टेन्सी सर्भिसेज लिमिटेड, हल, इन्फोसिज लिमिटेड र आईसीआईसीआई बैंकले पनि बजार पुँजीकरणमा नोक्सानी व्यहोरेका छन् । तर एचडीएफसी बैंक, एचडीएफसी लिमिटेड, बजाज फाइनान्स लिमिटेड र भार्ती एयरटेलले भने केही लाभ प्राप्त गरेका छन् ।

आरआईएलको मूल्यांकन ६ खर्ब ९३ अर्ब ७८ करोडबाट घटेर १ सय २८ खर्ब ४२ अर्ब भारुमा झरेको छ । त्यस्तै टीसीएसको पनि ४१ अर्ब ६५ करोड घटेर ९९ खर्ब ७९ अर्ब ८४ करोडमा झरेको छ भने हिन्दुस्तान युनिलिभर (हल)को १ खर्ब ६२ अर्ब ११ करोड घटेर ४९ खर्ब ८० अर्ब ११ करोड भारु बजार पुँजीकरणमा खुम्चिएको छ । यसबाहेक इन्फोसिजको १ खर्ब २९ अर्ब ४८ करोड घटेर ४६ खर्ब ९८ अर्ब ३४ करोड भारुमा झर्दा आईसीआईसीआईको ४४ अर्ब ५५ करोड घटेर ३३ खर्ब १३ अर्ब १५ करोड भारुमा झरेको छ ।

तर एचडीएफसीको मूल्यांकन भने ३९ अर्ब ३८ करोड बढेर ४१ खर्ब ९६ अर्ब ९९ करोड भारु पुगेको छ । त्यस्तै कोताक महिन्द्रा बैंकको पनि २ खर्ब ३४ अर्ब ४५ करोड बढेर ३७ खर्ब ३९ अर्ब ४७ करोड भारु पुगेको छ । त्यस्तै बजाज फाइनान्सको मूल्यांकन पनि २ खर्ब ७ अर्ब ४७ करोडले बढेर २८ खर्ब ४२ अर्ब ८५ करोड भारु पुग्दा भार्ती एयरटेल लिमिटेडको ११ अर्ब ४५ करोडले बढेर बजार मूल्यांकन २६ खर्ब ३७ अर्ब ७६ करोड भारु पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया