Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना परीक्षणको १० लाख क्षमता खेर

कोरोना परीक्षणको १० लाख क्षमता खेर


केदार सुवेदी
छिमेकी देश भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले नेपालको कोरोनाको अवस्थबारे मंसिर ७ लाई अध्ययनको आधार बनायो । त्यसदिन देशैभर आठ हजार ३२ जनाको पीसीआर परीक्षण भएकोमा १६ सय ६९ संक्रमित भेटिए । यो भनेको संक्रमणदर २०.७ प्रतिशत हो । आठ हजार ३२ जनाको परीक्षण हुँदा १६ सय ६९ संक्रमित भेटिए भने  नेपालको आफ्नो विद्यमान क्षमताअनुसार परीक्षण गरिएको अवस्थामा एक दिनमा पाँच हजार सात जनाका दरले कोराना संक्रमित भेटिए । तर यसमा १६ सय ६९ मात्र देखिएको अवस्थाले गएको दुई/तीन महिनादेखि प्रत्येक दिन तीन हजार तीन सय ३८ जनाका दरले संक्रमित लुकिरहेका छन् अर्थात् सरकारले नै लुकाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै देशबासीका नाममा सम्बोधन गर्दाको समयमा भनेअनुसार नेपालमा गत भदौ अन्तिमदेखि परीक्षण क्षमता दिनको २३ हजार पाँच सय छ । संविधान दिवस अर्थात् गत असोज ३ मा प्रधानमन्त्रीले गरेको सम्बोधन हो यो । अरु विवरणले त यो दिनसम्म देशमा करिब ४० हजारको क्षमता छ । माथिको यो हिसाब प्रधानमन्त्री ओलीले क्षमता देखाएको दिनदेखि मात्रै हिसाब हुँदा र नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनले अध्ययनको आधार बनाएको मंसिर ८ सम्मका जम्मा ६८ दिनमा मात्रै दुई लाख २६ हजार नौ सय ८४ जना संक्रमितहरु समाजमा प्रकट हुन पाएनन् ।

यसको कारण हो परीक्षणको सीमितता । संसारकै मान्यता हो कोरोनाबाट आफना नागरिकलाई बढीभन्दा बढी संख्यामा जोगाउने सबैभन्दा अचूक र अनिवार्य अवलम्बन गर्नैपर्ने बढीभन्दा बढी परीक्षण । तर सरकारले यो शर्तलाई मानेन । प्रधानमन्त्रीले साढे २३ हजार जनाको क्षमताको जानकारी दिएको दिन (असोज ३)देखि यो मंसिर ८ को परीक्षण दरलाई आधार मान्ने हो भने प्रत्येक दिन सरकारले सरदर १५ हजारका दरले परीक्षणको क्षमता खेर फालिरहेको छ जो दुई महिना आठ दिनमा खेर गएको यो क्षमताको कुल अंक १० लाख २० हजार हुन आउँछ । यो क्षमता पूराका पूरा प्रयोग भएको भए यी दुई महिनामै कोरानाको भाइरस सर्नेक्रमको ढोका बन्द हुने थियो होला । संक्रमण मान्छेबाट नै सर्ने र संक्रमित भएको जानकारी भएपछि आफैँ सतर्कता बढ्ने हुन्छ  । कुनै एक व्यक्तिले जानाजान आफूनिकटको वा अर्को व्यक्तिलाई संक्रमित बनाउँदैन र संक्रमित हुनबाट जोगिएको जो कोहीले झन् सतर्क हुने मौका पाउँछ ।

कोरोनाको व्यवस्थापनमा सबैभन्दा बढी अव्यवस्थाले पु-याएको अकल्पनीय क्षति भएको र नागरिकले त्यस्तो क्षति व्यहोर्नुपरेको ठाउँ पनि यही हो । त्यसकारण सरकारको यो कामलाई अक्षम्य भनिएको हो । छिमेकी देश भारतमा यतिबेला संक्रमण दर घट्दो अवस्थामा छ । धेरै घनाबस्ती भएको केन्द्रीय राजधानी दिल्लीमा पनि संक्रमण घटिरहेको छ । कारण हो बढीभन्दा बढी परीक्षण । दिल्लीमा मात्रै प्रत्येक दिन ७०–८० हजारको दरले परीक्षण भइरहेका समाचार आइरहेका छन् । नेपालमा भने क्षमताको पनि तीन भागको एकभाग मात्रै प्रयोग भइरहेको छ परीक्षणमा भने अनुमान गरौँ यो देशमा यस्तो व्यवस्थापनबाट कोरोना रोकथाम होला ?

दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको पूर्वी तथा दक्षिण एसिया क्षेत्रीय कार्यालयका अनुसार नेपालमा कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिरहिएको छ । अहिलेसमम नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको अवस्थाले त्यही बुझाउँछ । यो भनेको धेरै संक्रमितलाई परीक्षणमा छुटाइरहेको भन्ने हो । डब्लुएचओका इम्युनाइजेसन तथा खोप विकास हेर्ने प्राविधिक अधिकृत डा. सुधीर खनालका अनुसार पनि संक्रमितलाई परीक्षणमा छुटाइरहनु भनेको धेरै गम्भीर कुरा हो । विभिन्न रिपोर्टमा आएअनुसार छुटेका मात्र होइन, त्यसका लागि कुल परीक्षण संख्या, कति छिटो परीक्षण गरिएको छ भन्ने कुरा समग्र परीक्षण रणनीति, कन्ट्याक्ट ट्रेसिङ र समग्र स्वास्थ्य सेवा क्षेत्रको क्षमताजस्ता विषय मत्वपूर्ण हुन्छन् ।

यो अर्थमा नेपालले डब्लुएचओको महामारी निगरानीको मानकलाई समेत मानेको छैन । डब्लुएचओको महामारी निगरानीको मानकअनुसार प्रतिसाता एक हजार जनसंख्यामा एक संक्रमितको परीक्षण हुनुपर्ने हुन्छ । यी अधिकारीका अनुसार सार्वजनिक जीवन, स्वास्थ्य तथा सामाजिक व्यवस्थामा गरिएको निगरानी (लकडाउन) खुकुलो पार्दा कम्तीमा पछिल्ला दुई साता कुल परीक्षण गरिएको जनसंख्याको पाँच प्रतिशतमा मात्र पोजिटिभ भेटिएको हुनुपर्ने हो । यी सबै भइसकेपछि नेपालमा संक्रमितको संख्या २० प्रतिशत कायम भइरहेको छ । यो भनेको मानकअनुसार हुनुपर्नेभन्दा पूरै तीन भाग बढी हो । लकडाउन, निषेधाज्ञा आदि सबै कुरा सकिएपछि र सरकारले केवल राजस्व उठाउन मात्रै बढी ध्यान दिएको अवस्थामा यता परीक्षणको क्षमता प्रयोग हुन छाड्यो र उता गरिएको परीक्षणको संख्यामा यति ठूलो पाँच जनामा एक जना संक्रमित देखिन वा भेटिन थाले ।

मसिर ८ को त्यो दिनसम्म कोरोना भाइरसका कारण नेपालमा १३ सय २१ जनाको मृत्यु भइसकेको अवस्था छ । १९ हजार नौ सय ६३ जना सक्रिय संक्रमित छन् । सरकारी विवरणअनुसार पनि पछिल्ला दिनमा मृत्युदर बढ्दो क्रममा छ । ती अधिकारी भन्छन्, ‘जहाँ पोजिटिभिटी दर ५ प्रतिशतभन्दा बढी छ, त्यस्ता स्थानमा माइक्रो प्लानिङ गरेर महामारी नियन्त्रण गर्नु आवश्यक छ ।’

पोजिटिभिटी दर अर्थात् परीक्षण भएको सख्यामा संक्रमित देखिने दर पाँच प्रतिशतभन्दा बढी छ, त्यस्ता स्थानमा माइक्रो प्लानिङ गरेर महामारी नियन्त्रण गर्नु आवश्यक रहेका बेला नेपालमा त २१ प्रतिशतको हाराहीमा हुँदा प्रत्येक पछिल्ला दिन सरकारी नीति नै यो अर्थमा प्रत्युत्पादक भइरहेका छन् । त्यसका उदाहरण हुन् परीक्षणमा चर्को झमेला । लक्षण नदेखिएकालाई परीक्षण नै नगर्ने भन्ने कहिले शुल्कको झमेला र आजको भोलि नै सरकारका नीतिहरु परिवर्तन भइरहने जस्ता कारण रोकथाममा उत्पन्न हुने गतिरोध हुनुपर्छ । सरकार उल्टो गतिमा देखिन्छ । यता परीक्षणको सख्या घटाउँछ र त्यसबाट जो कम संख्या देखिन्छ, त्यसलाई नै आफ्नो प्रयासले संक्रमण दर घटेको भन्ने सन्देश दिन खोज्छ ।

यतिबेला मुलुकभरिका निजी र सरकारी गरी ६३ वटा प्रयोगशालामा कोरोना परीक्षण हुन्छ । गएको ३२ जेठदेखि निजी प्रयोगशालालाई पनि कोरोना परीक्षणको अनुमति दिइयो । त्यसपछि निजीस्तरबाट २२ र सरकारी स्तरबाट ४१ प्रयोगशाला सञ्चालनमा आए जो यतिबेलासम्म कायमै छन् । एउटा प्रयोगशालाले दैनिक न्यूनतममा पाँच सयको संख्याको कोरोना परीक्षण गर्ने क्षमता राख्छन् । नेपालमा एउटा निजी प्रयोगशालाले दैनिक १६ सय परिमाणसम्मको स्वाब परीक्षण गरेको तथ्यांक छ । तर सरकारको कहिले कस्तो कहिले कस्तो नीतिका कारण यस्ता क्षमता प्रयोग हुनै पाएका छैनन्


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया