Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअधिकांश पूर्वअध्यक्षहरू प्रधानको पक्षमा, अर्को पटक ढकाललाई सघाउने

अधिकांश पूर्वअध्यक्षहरू प्रधानको पक्षमा, अर्को पटक ढकाललाई सघाउने


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष सर्वसम्मत गर्ने प्रयास असफल भएपछि महासंघका अधिकांश पूर्वअध्यक्षहरूले किशोर प्रधानलाई मतदान गर्न आग्रह गरेका छन् । महासंघकी वर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छालगायत महासंघका पूर्वअध्यक्षहरूले सहमतिका लागि गरेको प्रयास असफल भएपछि उनीहरूले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमा जानुपर्नेमा जोड दिए । विवादित छवि भएका पूर्वअध्यक्ष चण्डी ढकालको भरोसामा चुनाव लडेका चन्द्र ढकालले अधिकांश पूर्वअध्यक्ष र वर्तमान कार्यसमितिको समेत साथ पाउन सकेनन् ।

वर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष कुशकुमार जोशी, विनोद बहादुर श्रेष्ठ, प्रदिपकुमार श्रेष्ठ, महेशलाल प्रधान, पद्म ज्योति मात्र होइन अन्तिमसम्म सहमतिको प्रयास गरेका रविभक्त श्रेष्ठ, सुरज वैद्य, आनन्दराज मुल्मीले समेत भावी अध्यक्ष शेखर गोल्छाको समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका किशोर प्रधानको पक्षमा मत जाहेर गरेका छन् ।

‘किशोर प्रधान र चन्द्र ढकाल दुवै जना महासंघका लागि चाहिने व्यक्ति हुनुुहुन्छ’, महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले भने, ‘कोभिड महामारीका बेला सहमतिबाट सर्वसम्मत नेतृत्व चयन गरेको भए निकै राम्रो सन्देश जाने थियो तर त्यो सम्भावना सकिएपछि लोकतान्त्रिक विधिबाट चुनावमा जादा यसपालि किशोर प्रधानलाई निर्वाचित गराउन आग्रह गर्दछु । अर्कोपटक हामी चन्द्र ढकालजीलाई पनि वरिष्ठ उपाध्यक्षमा मत जाहेर गर्न आग्रह गर्छौँ ।’ त्यस्तै मत छ अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीको पनि । यो लडाइँ खासमा महासंघलाई कमाइ खाने पेशा बनाउनेका विरुद्धमा भएको उनले बताए ।

‘अघिल्लो पटक शेखरजीसँग चुनाव हारेपछि महासंघबाट विदा हुनुभएका किशोरजीलाई तपाईंविना महासंघ चलायमान भएन प्रमोद श्रेष्ठको उपाध्यक्ष पदमा आइदिनुस् अर्को पटक वरिष्ठ उपाध्यक्ष तपाईं नै हो भनेर पद बाँड्ने मानिस अहिले आएर आफ्नो स्वार्थअनुकूल महासंघलाई राजनीतीकरण गर्न मिल्छ ?’, जोशीले प्रश्न गरे ।

वर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छाले किशोर प्रधान र चन्द्र ढकाल दुवै जना निकै क्षमतावान् र महासंघको गरिमा उच्च राख्ने व्यक्ति हुँदाहुँदै पनि महासंघको सुदृढीकरण र शुद्धीकरणका लागि यसपालि किशोर दाइ अर्को पटक चन्द्र ढकाल भन्नुपर्ने अवस्था आएको बताए । महासंघको उज्ज्वल भविष्यका लागि यो आवश्यक भएको उनीहरूको भनाइ छ । पूर्वअध्यक्षहरू महेशलाल प्रधान, प्रदिपकुमार श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठलगायतले समेत निर्वाचन नै हुने अवस्थामा महासंघ बलियो बनाउन शेखर गोल्छाले काम गर्नका लागि छानेको टिम नै महासंघको टिम हुने बताए ।

वरिष्ठ उपाध्यक्ष किशोर प्रधान भए पनि चन्द्र ढकाललाई चेम्बर आन्दोलनमै रहने गरी वातावरण निर्माणका लागि पहल गर्ने पूर्वअध्यक्षहरूको भनाइ छ । किशोर प्रधानलाई प्रदेश नं. १, २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लानगरका जिल्ला अध्यक्षको समर्थन छ भने कर्णालीमा दुवैको राम्रो रहेको बताइन्छ । गण्डकी प्रदेशमा भने चन्द्र ढकालको पक्षमा माहोल देखिन्छ । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई जिताउनका लागि महासंघका वर्तमान अध्यक्ष, भावी अध्यक्ष, निवर्तमान र पूर्वअध्यक्षहरूले भिडियो सन्देशमार्फत आग्रह गरिरहेका छन् ।

श्रेष्ठको टिमले छनोट ग-यो प्राथमिकता रहने विषयहरू : नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठसहितको टिमले निर्वाचनपछि आफ्नो प्राथमिकता रहने विषयहरू छनोट गरेको छ । शेखर गोल्छा समूहअन्तर्गत वस्तुगततर्फको उपाध्यक्ष श्रेष्ठसहितको टिमले निर्वाचनको प्रक्रिया सुरु हुनुअघि नै विभिन्न वस्तुगत संघका समस्या र चुनौतीहरू छनोट गरी त्यसलाई लिपिबद्ध गर्ने प्रयासस्वरुप त्यसलाई दस्तावेजको रुपमा संकलन गर्न पुस्तक नै तयार गरेको जनाएको छ ।

उक्त पुस्तकमा समेटिएका विषय सबै वस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पूरा गर्नुपर्ने विषय छनोट गरिएका छन् । कोभिड १९ को कारण सृजित स्वास्थ्य संक्रमण समस्यालाई मध्यनजर गर्दै विभिन्न वस्तुगत संघहरूलाई ४ भागमा विभाजन गरी समस्या पहिचान गर्ने प्रयास गरेको उनीहरूको भनाइ छ । उनीहरूले सबै वस्तुगत संघहरूलाई कृषि, उत्पादन, सेवा र व्यापार वर्गमा राखेर त्यहाँ देखिएका समस्या समाधान गर्न कसरी काम गर्ने भन्ने विषयमा छलफल समेत गरेका छन् । आफ्नो समूह निर्माण गर्दा पनि ती सबै क्षेत्रलाई प्रतिनिधित्व हुने गरी समावेशी निर्माण गरेको उनीहरूको भनाइ छ ।

आफ्नो समूहमा अनुभवी र नयाँ जोससहितका उम्मेदवारहरूलाई समेट्ने प्रयास गरेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताए । ‘सबल, सक्षम र सफल’ निजी क्षेत्र भन्ने मूलमन्त्र अंगीकार गर्दै भोलिका दिनमा नेपालमा व्यावसायिक वातावरण निर्माणमा सबैको हातेमालो आवश्यक रहेकाले निर्वाचनका बेला गरिएको प्रतिबद्धतालाई पूरा गर्न घच्घच्याउने दस्तावेजको रुपमा यो पुस्तक प्रकाशन गरेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया