Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयोजना कार्यान्वयनलाई दु्रतगतिमा बढाउँदै मायादेवी

योजना कार्यान्वयनलाई दु्रतगतिमा बढाउँदै मायादेवी


पोसकान्त पोखरेल
बुटवल ।
मायादेवी गाउँपालिका रूपन्देहीले योजना कार्यान्वयनलाई दु्रतगतिमा अगाडि बढाएको छ । गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीका अनुसार गत आर्थिक वर्षमा कोभिड–१९ का कारण सम्पन्न हुन नसकेका केही योजनाहरू सम्पन्न गरेको र केही योजनाहरू अन्तिम चरणमा रहेको बताए ।

उनले चालू आर्थिक वर्ष २०७८/७८ का लागि छुट्याइएका योजनाहरूमध्ये केही योजनाहरू सुरु भएको र केही प्रक्रियामा रहेको जानकारी गराउँदै विगतका आर्थिक वर्षहरूमा प्राविधिक क्षेत्रका कर्मचारीहरूको अभावले योजना कार्यान्वयनमा धेरै दुःख पाए पनि चालू आर्थिक वर्षमा त्यो समस्या समाधान गरिसकेको बताए । समय अन्तरालले चार महिना कटिसके पनि फागुन/चैत महिनाभित्रै योजनाहरू सम्पन्न गर्ने रणनीतिअनुसार कार्यसम्पादन गरेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले गत वर्षबाट सारिएका एकवर्षीय तथा केही बहुवर्षीय योजनाहरूले अन्तिम रूप लिएको अध्यक्षको कुरामा थप गर्दै चालू आर्थिक वर्षका लागि छुट्याइएका ठूला योजनाहरू टेण्डर प्रक्रियामा रहेको र वडागतरूपमा सञ्चालनमा आउने केही सानातिना योजनाहरू कार्यान्वयनको चरणमा रहेको बताए । गाउँपालिकाका सबै वडाहरूमा उपभोक्ता समिति गठन गर्ने काम ९० प्रतिशतभन्दा बढी भैसकेको छ ।

कृषि विकासका केही कार्यक्रमहरू पनि सम्पन्न भएका छन् । उनका अनुसार गहुँको बीउ, घाँसको बीउ र भिटामिन मिनरल वितरणजस्ता कृषक प्रोत्साहन र उत्पादन वृद्धिका लागि आवश्यक कामहरू पनि आवश्यकताअनुसार हरसम्भव भैरहेका छन् । राज्यको नीति र आर्थिक समृद्धिको पक्ष उत्पादनमा प्राथमिकता दिनुपर्ने भएकोले सोहीअनुसारका योजनाहरूलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीको भनाइ छ ।

गाउँपालिका जनताको जीवनस्तर उकास्ने आधार र सम्भावनाको प्रमुख स्रोतहरूमध्ये कृषि र पर्यटन क्षेत्रमा बढी भएकोले तीनै क्षेत्रको विकासले समृद्ध गाउँपालिका निर्माण गर्न सकिने आधारहरूको ठम्याइ गर्दै पन्थीले व्यावसायिक र आधुनिक कृषि प्रणालीमा जोड दिएको बताए । उनले कृषि क्षेत्रको विकासका लागि पकेट क्षेत्रहरू निर्माण गरेर उत्पादन र उत्पादकत्व बढाउने कुरामा बढी केन्द्रित भएको उदाहरणीय कुराहरूको उदाहरण जोडे ।

पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनात्मक विकास उपयुक्त अवसर भएको बताउँदै उनले पर्यटकीय विकासका लागि आवश्यक योजनाहरूका साथ अगाडि बढेको बताए । चालू आर्थिक वर्षका लागि कुल ६१ करोड ६३ लाख १६ हजार नौ सय रूपैयाँ बजेट विनियोजन भएको जानकारी गराउँदै लेखा अधिकृत ओमेशकुमार गैरेले चालूतर्फ छ करोड १९ लाख रूपैयाँभन्दा बढी र पुँजीगततर्फ चार करोड २६ लाख रूपैयाँभन्दा बढी खर्च भैसकेको बताए ।

उनले गत आर्थिक वर्षको पुँजीगत तर्फका योजनाहरूमध्ये तीन करोड २५ लाख ८२ हजार रूपैयाँ वित्तीय प्रगति भएको बताए । योजनाहरू कार्यान्वयनको अवस्था औल्याउँदै लेखा अधिकृत गैरेले वर्तमान अवस्थाको कार्यशैलीले समय अगावै ठुला बुहु–बर्षिय ठूला योजनाहरूबाहेक सम्पूर्ण योजनाहरू सम्पन्न हुने आधारहरू सृजना भैसकेको बताए । विकास निर्माणको क्षेत्रमा गाउँपालिकाले एक स्टेप फड्को मारिसकेको बताउँदै गैरेले सुशासन, आर्थिक पारदर्शिता, उद्यमशीलताको विकास, आम्दानीका स्रोतहरूको पहिचाहन गर्नेलगायतका कामहरूलाई प्राथमिकता दिँदै पेपरलेस गाउँपालिका निर्माण गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गरेको बताए ।

राजस्व संकलन, मालपोत कर, नक्सा, सिफारिस, दर्ता चलानी, स्टोल, लेखा प्रणाली लगायत सम्पूर्ण कामहरू अनलाइन सिस्टमबाट हुने गरेको बताउँदै गैरेले स्वास्थ्यतर्फ ईएलयमयस प्रणालीको लन्च गरेको बताए । सरोकारवाला सबैको सहकार्य, समन्वय र सहयोगले योजना कार्यान्वयनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै गैरेले आन्तरिक राजस्व वृद्धि गर्ने स्रोतको रूपमा चिनिएको नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कनका कामहरू पनि धमाधम भैरहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया