Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोहोरी तथा रात्रिकालीन व्यवसाय खुलाउन माग

दोहोरी तथा रात्रिकालीन व्यवसाय खुलाउन माग


काठमाडौं ।
दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले दोहोरी तथा रात्रिकालीन व्यवसाय खुलाउन सरकारसँग माग गरेका छन् । यसअघि पटक–पटक आफूहरूको व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै समितिले संघर्षका कार्यक्रम समेत अघि सारेको छ । कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय पनि परेको समितिको गुनासो छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले दोहारी तथा रात्रिकालीन व्यवसायबाहेक अन्य व्यवसाय खुलाइएको तर यो क्षेत्र खुलाउनको लागि सरकारले कुनै चासो नदेखाएको आरोप लगाएको छ ।

समितिले भनेको छ,‘कोभिड–१९ ले नेपाललगायत विश्वको अर्थतन्त्र धराशायी बनाएको र पछिल्लो समय नेपाल सरकारले रात्रिकालीनलगायत अन्य केही व्यवसायहरूबाहेक सम्पूर्ण व्यवसायहरू स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गरिसकेको अवस्थामा देशका कला, संस्कृतिको संरक्षण र आयस्रोतको एक मेरुदण्डको रूपमा रहेको रात्रिकालीन व्यवसायलाई पूर्णरूपमा बन्द गरिएको छ । र, हामीले पटक–पटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएकाले, काठमाडौं उपत्यकामा मात्रै झण्डै पाँच सयको हाराहारीमा रहेको व्यवस्था र २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको यस व्यवसायलाई सरकारले कुनै पनि चासो नदिनु दुःखद् कुरा हो ।’ समितिले आफ्ना मागहरूप्रति सरकार उदासिन बनेको पनि गुनासो पोखेको छ । समितिले आवश्यक जनस्वास्थ्यका मापदण्ड अपनाएर नै व्यवसाय खोल्ने जानकारी गराएको हो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी व्यवसायी संघका अध्यक्ष रिम क्षेत्रीले पनि दोहारी तथा रात्रिकालीन व्यवसाय तत्काल खुलाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सरकारले समितिले अघि सारेका माग जसरी पनि सम्बोधन गर्नुपर्छ । माग सम्बोधन नभएकै कारण आज हामी आन्दोलनमा उत्रिएका छौँ । यो आन्दोलनले भोलिको दिनमा चर्को रूप लिनसक्छ । सरकारले बेलैमा सोचोस् ।’ त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष चन्द्र शर्माले पनि समितिका मागमा आफूहरूको एक्येबद्धता जनाए । उनले भने, ‘यो संस्था र हाम्रो संस्थाबीच नङ र मासुको जस्तै सम्बन्ध छ । समितिले अघि बढाएका माग र मुद्दामा हाम्रो एक्येबद्धता छ ।’

त्यस्तै, नेपाल संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कार्कीले दोहारी तथा रात्रिकालीन व्यवसाय कलाकारसँग सम्बन्धित व्यवसाय भएकोले सरकारले समितिले अघि सारेका माग र गरेको आग्रहलाई आत्मसात् गर्दै तत्काल व्यवसाय खुलाउनुपर्नेमा जोड दिए । उनले भने, ‘भोलि आवश्यक परे हामी समितिले गर्ने संघर्षका सबै कार्यक्रममा सहभागिता जनाउँछौँ र म यही मञ्चबाट एक्येबद्धता जनाउन चाहन्छु ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले समितिको मागप्रति सरकार गम्भीर बन्नुपर्ने जोड दिए । उनले समितिले अघि सारेका माग र मुद्दालाई आफ्नो साथ र सहयोग रहने विश्वास दिलाए । उनले भने, ‘म आबद्ध सबै मिडियामार्फत यहाँहरूको मागको म उठान गर्नेछु । दोहोरी व्यवसायीहरूलाई साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया