Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसन्थाल जातिको विकास गर्न एकीकृत बस्ती

सन्थाल जातिको विकास गर्न एकीकृत बस्ती


झापा ।
सरकारले सन्थाल जातिको विकास गर्न एकीकृत बस्ती निर्माण गर्ने भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित नदी किनारामा बस्दै आएका सन्थाल जातिको लागि सो क्षेत्रमा व्यवस्थित एकीकृत बस्ती विकास गरिने भएको हो । प्रस्ताबित एकीकृत बस्तीको अवलोकन पछि सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एकीकृत बस्ती विकासका लागि कार्ययोजना तयार गर्न सम्वन्धित निकायलाई निर्देशन समेत दिएका छन् । बस्तीमा बसेका करिब ७० घर परिवारको दयनीय अवस्था देखेपछि उनले आफूसँगै अवलोकनमा आएका सचिव डा. रमेशप्रसाद सिंहसहितको टोलीलाई कार्ययोजना तयार गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थाल जातिको उत्थान र विकास गर्न एकीकृत बस्ती निर्माण गरी उनीरुहको जीविकोपार्जनको विकल्प तयार गर्नुपर्ने विषयमा चासो देखाएपछि मन्त्री श्रेष्ठ, सचिव डा सिंह, सहरी विकास तथा भवन विभागका उच्च अधिकारीसहितको टोली झापाको उर्लाबारीस्थित सन्थाल बस्ती पुगेका थिए ।

नदी उकास क्षेत्रमा नर्कट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका बस्तीको अवलोकन गर्दै मन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूको समस्याको समाधान हुन्छ, राष्ट्रपति र प्रधानमन्त्रीज्यूले समेत यो विषय र बस्तीमा तपाईंको अवस्थाबारे चासो देखाउनुभएको छ, यस्तो अवस्था बुझेर दुःखित हुनुभएको छ । उहाँहरूले मन्त्रालयलाई एकीकृत बस्ती विकास गरी व्यवस्थित बसोबास गराउन आग्रह गर्नुभएको छ । सोही आग्रहअनुसार मसहितको टोली तपाईंको बस्तीमा आएका हौँ ।’ मन्त्रीसहितको टोली सन्थाल बस्तीमा पुग्नासाथ भावविह्वल भएका सन्थाल जातिले मन्त्री श्रेष्ठलाई आफ्नो समस्या सुनाएका थिए । मन्त्री श्रेष्ठले सरकारले सन्थाल जातिलाई व्यवस्थित घर बनाएर राख्ने बताए ।

लोपोन्मुख र सिमान्तकृत सूचीमा रहेका सन्थाल जातिको उत्थानमा कुनै कमी हुन नदिने मन्त्री श्रेष्ठको भनाइ थियो । एकीकृत बस्ती विकासका गर्न कार्यदल बनाउन निर्देशन दिँदै उनले कार्यदलले प्रतिवेदनको आधारमा काम अघि बढाउने बताए । केहीवर्ष अघि आएको बाढीले बस्ती बगाएपछि बस्ती बगाएकै नदीको तटबन्धमा पुनः बस्ती बनाएर बसेका सन्थाल जातिले आफूहरूलाई सोही क्षेत्रमा व्यवस्थित बस्ती बनाइदिन आग्रह गरेका छन् ।

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले तत्काल कार्यदल बनाएर काम गर्ने बताए । ‘कार्ययोजना बनाउन समिति बनाउनेछौँ, समितिले दिएको प्रतिवेदनको आधारमा काम अघि बढाउनेछौं’, उनले भने । उनले सरकारले उच्च प्राथमिकतामा राखेको प्रस्तावित एकीकृत बस्तीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर व्यवस्थित गर्ने बताए । केही दिनपछि प्राविधिक टोलीले यहा आएर अध्ययन गरेपछि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने उनको भनाइ थियो ।

मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठले सिमान्तकृत र लोपोन्मुख जातिको बस्दै आएका क्षेत्रको एकीकृत बस्ती विकास गर्न योजना तयार गर्ने बताए । झापा, मोरङ र सुनसरीमा यो जाति बसोबास गरेका छन् । ‘तीमध्ये झापामा बस्दै आएका उनीहरूको बस्ती विकास गर्न प्राथमिकतामा राख्नेछौ’, उनले भने । हाल झापामा बस्दै आएका सन्थालले नदी छेउमा तटबन्ध बनाएर टहरा तयार गरेका छन् । उनीहरूले माछा मारेर र सामान्य मजदुरी काम गरेर गुजारा गरिरहेका छन् । विसं २०६२ सालको राष्ट्रिय जनगणनाअनुसार देशभर करिब ५४ हजार जनसंख्या रहेको सन्थाल जातिमध्ये झापामा बसोबास गर्दै आएका उनीहरूको अवस्था दयनीय रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया