Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल७५ जिल्लानगर अध्यक्षले किशोर प्रधानलाई समर्थन गर्ने

७५ जिल्लानगर अध्यक्षले किशोर प्रधानलाई समर्थन गर्ने


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको ५औँ राष्ट्रिय साधारणसभा आज बिहीबारबाट सुरु हुँदै छ । महासंघ साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने हुँदा निजी क्षेत्रमा चुनावी सरगर्मी समेत बढेको छ । कोरोना भाइरसको महामारीका बीच नेतृत्व चयनसहितको साधारणसभा भएकाले यसपटक सहमतिको आधारमा नेतृत्व चयन गर्न महासंघको अध्यक्ष भवानी राणा, पूर्वअध्यक्षलगायतले पहल गरे पनि सहमति हुन सकेन ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने भएपछि वरिष्ठ उपाध्यक्ष पदमा समेत सहमति गर्ने प्रयास गरिएको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिएका छन् । सहमतिका लागि गरेको अन्तिम प्रयास विफल भएपछि लोकतान्त्रिक विधि निर्वाचनमार्फत नेतृत्व टुंग्याउन दुवै पक्ष सहमत भएका छन् ।

वर्तमान अध्यक्ष भवानी राणा, मंसिर १३ गतेबाट स्वतः अध्यक्ष बन्ने शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, कुशकुमार जोशी, रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, प्रदिपकुमार श्रेष्ठलगायतका अधिकांश पूर्वअध्यक्षहरूले किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउन अपिल गरिरहेका छन् । ५० प्रतिशत मतभार रहेको जिल्लानगरका अधिकांश अध्यक्षहरू पनि साधारणसभामा भाग लिन काठमाडौं आइसकेका छन् । जिल्ला नगरका अध्यक्षले हाल्ने १ सय ७ भोट नै निर्णायक भएकाले दुवै समूहको जिल्लानगरको भोट तान्न कसरत गरिरहेका छन् ।

जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने विराटनगरका व्यवसायी किशोर प्रधान र एसोसिएट्सबाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच कसले वरिष्ठ उपाध्यक्षमा बाजी मार्ला भन्ने सर्वाधिक चर्चा हुँदै गर्दा सातवटै प्रदेशका ७५ बढी जिल्ला नगरका अध्यक्षहरूले खुलेरै शेखर गोल्छाको आगामी कार्यकाल सफल बनाउन वरिष्ठ उपाध्यक्षमा अगाडि सारिएका किशोर प्रधानको समूहलाई समर्थन गर्ने बताएका छन् ।

चन्द्र ढकाल समूहले गण्डकी प्रदेशमा शतप्रतिशत आफ्नो पक्षमा भोट हुने बताइरहेका जिल्ला नगरका अध्यक्षले समेत किशोर प्रधानलाई भोट हाल्ने बताएका छन् । पछिल्लो हप्ता मात्र गण्डकीमा चन्द्र ढकाल समूहले बहुमत गुमाएको छ । स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम कुमार श्रेष्ठले गण्डकी प्रदेशमा मिडियामा आएजस्तो किशोर प्रधानको समूह कमजोर नभएको बताए । तनहुँ, गोर्खा, पर्वत, कास्कीको लेखनाथ उद्योग वाणिज्य संघ र स्याङ्जाका अध्यक्ष खुलेरै प्रधानको पक्षमा मत जाहेर गरेका छन् भने अन्य केहीले गोप्य मत शेखर गोल्छाकै समूहलाई जाने बताए ।

प्रदेश नम्बर १ को मोरङ जिल्ला अध्यक्ष विभ प्रसाद घिमिरेले उद्योग वाणिज्य महासंघको इतिहासदेखि अहिलेम्म निरन्तर लागिरहेका प्रधान अबको नेतृत्वमा आउनुपर्ने आफ्नो धारणा रहेको बताए । उनले महासंघलाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेलेका प्रधानले सानादेखि ठूला व्यवसायीका कुराहरू सरकारसमक्ष प्रष्ट राख्नसक्ने भन्दै व्यवसायीको हितका लागि काम गर्ने प्रधान समूहलाई आफ्नो प्रदेशका बहुमत जिल्ला अध्यक्षहरूले मतदान गर्ने बताए । प्रदेश नं. २ को जनकपुरमा पुगेर प्रधान समूहले गरेको चुनावी सभावमा प्रदेश २ का बहुमत जिल्ला नगरका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी बहुमत जिल्लाका अध्यक्षहरूले प्रधान समूह अनुभव र अभ्यासले खारिएका कारण पनि अबको एक कार्यकाल प्रधान समूहलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश नं. २ को लाहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्यले व्यवसायीहरूको पीरमर्का बुझेर अधिकारका लागि लड्न सक्ने भएकै कारण प्रधानलाई आफूहरूले समर्थन गरेको बताए । उनले महासंघको शुद्धीकरण र सुदृढीकरण अहिलेको आवश्यकता रहेको र यस मुद्दालाई शेखर गोल्छा समूहले प्रमुखताका साथ उठाइरहेका कारण आफू र आफ्नो प्रदेशका बहुमत सदस्यहरूले प्रधान समूहलाई मतदान गर्ने जानकारी दिए ।

यसैगरी दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले जिल्ला नगर मात्र नभई साना व्यवसायीहरूको हितमा काम गर्नसक्ने भएका कारण आफूहरूले प्रधान समूहलाई साथ दिएको बताए । महासंघमा अहिलेसम्म पनि असल नेतृत्व आउन नसकेको भन्दै उनले प्रधानजस्तो असल व्यक्तिले महासंघको नेतृत्व गर्दा महासंघ आफ्नै छवि राम्रो बन्ने भन्दै प्रदेशका बहुमत जिल्ला नगरका अध्यक्षहरूको साथ प्रधानलाई रहेकाले आफूहरूले पनि प्रधानलाई समर्थन गरेको बताए ।

स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम कुमार श्रेष्ठले महासंघको वरिष्ठ उपाध्यक्षमा दुवै उम्मेदवार उक्तिकै बलियो रहे पनि अनुभव, अभ्यास र महासंघमा योगदानका आधारमा किशोर कुमार प्रधानलाई नेतृत्व दिनुपर्नेमा जोड दिए । उनले महासंघमा आबद्ध सदस्यहरूको हित र सरकारसँग आफ्नो कुरा प्रष्ट राख्नसक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरूको हितमा काम गर्न सजिलो हुने तर्क गरे ।

कपिलवस्तु उद्योग संघका अध्यक्ष उमानाथ पौडेलले अबको नेतृत्व निर्विकल्प किशोर कुमार प्रधान रहेको बताए । उनले आफ्नो कुरा स्पष्ट राख्ने, व्यवसायीको पीरमर्का बुझ्ने र जति बेला पनि व्यवसायीहरूको हक र हितका लागि खटिरहने शेखर गोल्छा समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधान निर्वाचित हने निश्चितजस्तै भइसकेको बताए । साना व्यवसायीहरूको हितका लागि काम गर्ने मान्छे महासंघको नेतृत्वमा आए आर्थिक समृद्धि हासिल गर्न सहज हुने र कोरोनाबाट थलिएको अर्थतन्त्र माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी सुदूरपश्चिम प्रदेशका १० जिल्लाबाट पनि प्रधान समूहलाई बहुमत मत प्राप्त हुने निश्चित भएको समूहको दाबी छ । बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुरमेलीले अबको नेतृत्व अभ्यास र अनुभवका आधारमा प्रधानलाई दिनुपर्ने बताए । उनले महासंघ व्यवसायीहरूको साझा संस्था हो भन्दै कोरोनाबाट प्रभावित आर्थिक क्षेत्रको उत्थानका लागि पनि प्रधानले अगाडि सारेका योजना र एजेण्डा प्रभावकारी रहेको तर्क गरे । प्रधानले सानादेखि ठूला व्यवसायीहरूको मर्म बुझेर महासंघलाई नेतृत्व प्रदान गर्न सक्ने भन्दै समर्थन गरेको जिल्ला नगरका अध्यक्षहरूले बताएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया