Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन महासंघको माग

दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन महासंघको माग


काठमाडौं ।
प्युठान जोड्ने घोडाखोलाको पुल निर्माण आयोजनाको किनारामा पार्किङ गरी राखिएका एक्स्काभेटरहरूमा अज्ञात समूहले आगजानी गरेको छ । मंगलबार राति करिब सवा १० बजे पार्किङ गरी राखिएका एक्स्काभेटरहरूमा आगजनी गरिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरूलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । जलजला/आँसु/जय माँ निर्माण सेवाका सञ्चालक तथा महासंघका कार्यसमिति सदस्य बालाजु श्रेष्ठको एक्स्काभेटरहरूमा अज्ञात समूहबाट आगजनी गरिएकोमा चारवटा जलेर नष्ट भएको र बाँकी एउटमा आशिंक क्षति पुगेको महासंघको भनाइ छ ।

रा.१क ३६७ नम्बरको एक्स्काभेटरमा आगजनी गरिँदा करोडौँको क्षति भएको महासंघले जनाएको छ । ती एक्स्काभेटरहरू कल्याणकोट—कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु कान्छाराम कन्स्ट्रक्सन जेभीले गरिरहेको थियो । निर्माण व्यवसायी र उनीहरूका उपकरणहरूको सुरक्षालाई लिएर महासंघले पटक–पटक प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरूसहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत अज्ञात समूहहरूको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासंघको भनाइ छ ।

यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माणकार्य ठप्प पारी महासंघ सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीहरूलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरूका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले पुनः एक पटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया