Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपरिसंघद्वारा ठूला करदातालाई सम्मान

परिसंघद्वारा ठूला करदातालाई सम्मान


काठमाडौं ।
नेपाल उद्योग परिसंघले आन्तरिक राजस्व विभागले सम्मानित गरेका करदाताहरूमध्ये परिसंघमा आबद्ध करदाताहरूलाई सम्मान गरेको छ । सम्मानित करदाताहरूमध्ये सात करदाता परिसंघमा गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरूको रुपमा आबद्ध रहेका छन् । सम्मानित करदाताहरूमा धेरै उद्यमी तथा संस्थाहरू नेपाल उद्योग परिसंघमा आबद्ध रहेकाले परिसंघले पनि गौरव महशुस गर्दै सम्मानपत्र प्रदान गरेको जनाएको छ ।

परिसंघमा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएका परिसंघ गभर्निङ काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाह र बैंक वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंक लिमिटेडका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरीलाई सम्मान गरे ।

यसैगरी परिसंघले पर्यटन व्यवसायबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएका तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्यअभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालिका निर्देशक तथा परिसंघका राष्ट्रिय परिषद् सदस्य आदित्य संघाई र विप्रेषणको कारोबार गरी सम्मानित भएको आईएमई लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई सम्मानपत्र प्रदान गरेको छ ।

यसैगरी सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सूर्य नेपाल प्रालि र निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको डाबर नेपाल प्रालिलाई पनि सम्मानपत्र प्रदान गरिएको परिसंघले जनाएको छ । कार्यक्रममा परिसंघ अध्यक्ष सतिशकुमार मोरले देशको अर्थतन्त्रमा परिसंघमा आबद्ध सदस्यहरूले उल्लेख्य योगदान गरेर सम्मानित हुनु परिसंघ र समग्र निजी क्षेत्रका लागि गौरवपूर्ण क्षणको रुपमा रहेको बताए ।

निजी क्षेत्रले बुझाएको कर तथा राजस्वको सदुपयोग भई देश विकासतर्फ लम्केको हेर्न पाउनुपर्नेमा निजी क्षेत्रको अपेक्षा रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेर उत्कृष्ट करदाता बन्न सफल परिसंघको गभर्निङ काउन्सिल सदस्य विजय शाहले संस्थागत सुशासनलाई अपनाएर उत्कृष्ट करदाता बन्न सफल भएकोमा गर्व महशुस भएको बताए । जति बढी कर तिर्छौँ त्यति सन्तोषको विषय रहेको सम्मानित करदाताहरूको भनाइ थियो ।

कार्यक्रमको समापन गर्दै परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले यो सम्मानले व्यावसायिक समुदायलाई उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान कार्यलाई प्रदेश तहमा समेत निरन्तरता दिने बताए । सम्मान कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य बालकृष्ण श्रेष्ठ, उपाध्यक्षहरू अनुज अग्रवाल र वीरेन्द्रराज पाण्डे राष्ट्रिय परिषद् सदस्य राजबहादुर शाहलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो । यसअघि नवौँ राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सरकारले गत आइतबार सम्मान गरेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया